|

इंग्लिस प्रिमियर लीग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले छैटौं जीत निकाल्दा अर्को बलियो प्रतिद्वन्द्वी टोटनह्याम भने बराबरीमा रोकिएको छ।

अवे मैदानमा भएको खेलमा पेप ग्वार्डिओलालाई केहि राहत भएको छ। साविक च्याम्पियन सिटी लिभरपुल भन्दा अझै ६ अंकले पछि छ। सिटीको जीतमा गाब्रिएल जिसस र डेविड सिल्भाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। जिससले ३९ र सिल्भाले ४१ औँ मिनेटमा गोल गरेका थिए। जितपछि दोस्रो स्थानको सिटीको ९ खेलबाट १९ अंक भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको २४ अंक रहेको छ।  

टोटनह्यामले भने अन्तिम समयमा वार्टफोर्डसँगको हार टार्दे खेल १–१ को बराबरी गर्यो। छैटौं मिनेटमानै वार्टफोर्डले डोकुरेको गोलबाट अग्रता बनाए पनि ८६ औं मिनेटमा टोटनह्यामले डेल अलीको गोलमार्फत खेल बराबरी गर्दे अंक खोसेको थियो।

शनिबार राति नै भएको खेलमा बर्नलीलाई २–१ ले पराजित गरेको लेस्टर सिटी तेस्रो स्थानमा पुगेको छ। घरेलु मैदानमा भएको खेलमा लेस्टका लागि ४५ औँ मिनेटमा जेमी भर्डी र ७४ औँ मिनेटमा युरी तिलेमान्सले गोल गरे। बर्नलीका लागि २६ औँ मिनेटमा क्रिस वुडले गोल गरेका थिए । जितपछि लेस्टरको ९ खेलबाट १७ अंक भएको छ ।

यसैगरी शनिबार राति नै भएको खेलमा एलोन्सोको गोलबाट न्युक्यासललाई १–० ले पराजित गरेको चेल्सीको पनि ९ खेलबाट १७ अंक नै भएको छ। ७३ औँ मिनेटमा एलोन्सोले गोल गर्दै टिमलाई जित दिलाएका हुन्। चेल्सी चौथो स्थानमा पुगेको छ।  शनिबार राति भएका अरु खेलमा एभर्टनले वेष्टह्यामलाई २–० तथा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गरेको छ। त्यस्तै वुल्भ्स र साउथह्याम्प्टनले समान १–१ को बराबरी खेल्दा बोर्नमाउथ र नर्विचले गोलरहित बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.