|

म्याग्दी : जनप्रतिनिधिहरुको बारेमा विभिन्न किसिमका टीका टिप्पणीहरु भइरहेका छन्। कुनै जनप्रतिनिधिले सरकारी स्रोत साधनको चरम दुरुपयोग गरेका र कसैले आफूले पाउने सुविधा पनि आफ्नो ठाउँको विकासका लागि खर्च गर्ने गरेका समाचारहरु आइरहन्छन्।

जनप्रतिनिधिको स्वभाव,प्रवृत्ति र आनिबानीले पनि गाउँको विकासमा सकारात्मक र नकारात्मक दुवै भूमिका खेल्दो रहेछ भन्ने कुरा नेपाली जनताले  साढे दुई वर्षको अवधिमा राम्रैसँग अनुभूति गर्न पाएका सरोकारवाला जनताले बताउने गर्दछन्।

हिमाली जिल्ला म्याग्दीमा पनि जनप्रतिनिधिका विभिन्न रुपहरु देखिएका छन्। योग्यता, क्षमता, संस्कार, भविष्यप्रति जनप्रतिनिधिको दृष्टिकोण र उसको आचरणले पनि गाउँको विकास, जनताप्रतिको उत्तरदायित्व र प्रतिनिधित्व गरेको राजनीतिक पार्टीप्रति जनताले मूल्यांकन गर्ने अवसर प्राप्त गरेका छन्।

एक नगरपालिकासहित म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटा वडामा दुई सय बढी जनप्रतिनिधिहरू रहेका छन्। ती जनप्रतिनिधिहरुका विभिन्न रुपहरु सम्बन्धित स्थानीय तहका जनताले देख्दै र तीनको व्यवहारबाट कतै सुविधा त कतै सास्ती भोग्दै,व्यहोर्दै आउनुपरेको भुक्तभोगी जनताले बताउँदै आएका छन्।

कुनै स्थानीय तहका वडाहरुमा त वडाअध्यक्षको नभई सदस्यको राज चल्दै आएको, विकास निर्माणका नाममा जथाभावी डोजर प्रयोग गरिएको, आफूले कमिसन पाउने लोभमा आवश्यक नै नभएको ठाउँमा मोटरबाटो खनिएको र सरकारी बजेटको हिसाबकिताब नै सार्वजनिक नगरी बचेको पैसा उपभोक्ता वा निर्माण समितिको खातामा नभै आफूले नै राख्ने गरेको समेत पाइएको छ।

तर, यही जिल्लाका कतिपय जनप्रतिनिधिहरु रातदिन नभनी, आफ्नो व्यक्तिगत कामलाई समेत थाँती राखेर जनताको सेवा र गाउँको विकासका लागि खट्ने गरेका छन्। आफूले पाउने सरकारी सुविधासमेत गाउँको विकासका लागि दिने उदारमना जनप्रतिनिधिहरु पनि म्याग्दीमा छन्।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत केही जनप्रतिनिधिहरुले आफूले पाउने सरकारी सुविधासमेत नलिई रातदिन जनताको काममा खटेका छन् र उदाहरणीय जनप्रतिनिधि बनेका छन्।

यसै मेसोमा बेनी नगरपालिका वडा नं ३ भकिम्लीका अध्यक्ष पदम पुन पनि आफ्नो स्वभाव र कामले जनताको मन जित्न सफल भएका छन्।

कमजोर आर्थिक अवस्थाका वावजुद पनि पुनमा कुनै किसिमको लोभ र सरकारी बजेटको दुरुपयोग गर्ने प्रवृत्ति नदेखिएको स्थानीय रत्न जिसीले बताए। अत्यन्त सादगी जीवनशैली, नम्र स्वभाव र जनताका काममा रातदिन नभनी खट्ने अध्यक्ष पुनको कामप्रति स्थानीयवासी मात्रै होइन भकिम्लीबाट विभिन्न कामका लागि विदेश गएका भकिम्लेलीहरु पनि प्रभावित भएका छन्।

अमेरिकाबाट हालै गाउँमा आएका पृथप्रसाद पुनले पनि वडाअध्यक्ष पुनको मुक्त कण्ठले प्रशंसा गरे। पुनले भने ‘राम्रो काम गरेका छन्,नराम्रो केही सुन्नु परेको छैन,उनकै प्रयासमा भकिम्ली जस्तो दुर्गम गाउँमा तीन करोड भन्दा बढिको रकममा विद्यालय बनेको छ, सवै वस्तीमा मोटरबाटो पुगेको छ, सवैले पत्याएका छन्, राम्रो छ।

अध्यक्ष पुनको पहल र नेतृत्वमा नै भकिम्लीमा तीन करोड ४३ लाखमा जयन्ति माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण भएको छ। त्यसैगरी अत्यन्त दुर्गमा रहेको तर अपार पर्यटकीय सम्भावनाले युक्त बेलढुङ्गासम्म मोटरबाटो पुर्याइको छ। अपार धार्मिक महत्व रहेको र प्राचिन कालदेखि कृषि महर्षि, विद्धान र विदुषीहरुको तपस्थली मानिएको स्वर्गाश्रमलाई व्यवस्थित बनाइएको स्थानीय गनमति थापाले बताइन्।

अध्यक्ष पुनको व्यवहार र कार्यशैली जिल्लाका पत्रकारहरुलाई पनि राम्रो लागेको छ। ‘धेरै नबोल्ने र बोलेको कुरा पूरा गर्ने उनको सादगी जीवन शैली मलाई मन पर्छ,म्याग्दीका सक्रिय पत्रकार हरिकृष्ण गौतमले भने ‘उनी केबल जनताको सेवाका लागि नै जनप्रतिनिधि भएका हुन्,कुनै सम्मान र लाभ लिनका लागि होइन,आजसम्मको उनको व्यवहारले त्यस्तै देखाएको छ।

अध्यक्ष पुन विहान ५ बजेदेखि राती १० बजेसम्म नै जनताको सेवाका लागि खट्ने स्थानीयले बताएका छन्। अप्ठ्यारो परेका व्यक्तिको घरदैलोमा नै पुगेर सेवा दिने उनको कार्यप्रति स्थानीय वृद्धवृद्धा, असहाय र गरीब जनता निकै प्रभावित भएको छन्। भकिम्लीका युवा धनबहादुर घर्ती मगर भन्छन् ‘जनप्रतिनिधि त वडा नं ३ ले राम्रो पाएको हो, उहाँप्रति हाम्रो कुनै गुनासो छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.