सरकारी वकिलमा बयान लिइँदै, करिब चार घण्टा लाग्‍ने

|

काठमाडौं  : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि ‘मिडिया ट्रायल’ भएको गुनासो गरेका छन्। 

गत असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका छन्।

उक्तरक्त चापसहितका समस्याबाट पीडित भएर अस्पतालमा रहेका महराले बलात्कार प्रकरणबारे बयान दिन अस्वीकार गरेको भन्दै एकसाता यता निरन्तर समाचार आएका थिए। 

आफुले बयान दिन अस्वीकार गरेको भन्ने कुरा सरासर झुटो रहेको उल्लेख गर्दै उनले अनुसन्धानमा सघाउने बताएका छन्। ‘उहाँ (महरा) ले आफूलाई सोध्दै नसोधी बयान अस्वीकार गरेको भन्दै समाचार लेखिएकोमा असन्तुष्टि जनाउनुभएको छ’, महराका वकिल मुरारी सापकोटाले भने, ‘आफुसँग सम्बन्धित कुरामा एकपक्षीय समाचार लेखेर ‘मिडिया ट्रायल गरिएको गुनासो उहाँले गर्नुभएको छ।’

दोस्रो पटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेश गर्नुअघि अहिले बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा महराको बयान चलिरहेको छ। एक घण्टा अघिबाट जारी बयान करिब ४ घण्टासम्म जान सक्ने उनका वकिलहरुले बताएका छन्। 

संसद सचिवालयकी एक महिला कर्मचारीले आफुमाथि कोठामै आएर महराले कुटपिट गर्दै बलात्कार गरेको जाहेर गत असोज १८ गते महानगरीय प्रहरी वृत्त तीनकुनेमा दिएकी थिइन्। उनको जाहेरीका आधारमा वृत्तका डिएसपी दुर्गा रेग्मीसहितको टोलीले त्यसको भोलिपल्ट महरालाई बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरेको थियो। 

महरालाई १० दिनसम्म हिरासतमा राखेर असोज २८ गते जिल्ला अदालतमा तीन दिन म्याद शुक्रबारसम्म थपिएको थियो। शुक्रबारै सरकारी वकिलले अदालतमा लान नभ्याएपछि थप एक दिन हिरासतमा राखेर आज जिल्ला अदालतमा पेश गरिँदैछ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.