भ्रमण वर्ष सफल पार्न १७ बूँदे प्रतिवद्धता

|

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाऊ’ अभियान सञ्चालन गर्ने भएको छ।

एनआरएनएले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन उक्त अभियान संचालन गर्ने भएको हो । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष-२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच भएको १७ बूँदे सम्झौतामा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्ने उल्लेख छ। 

२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकिइहरेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो । 

सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठी लगायतका कार्यक्रम सो भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई विदा मनाउन नेपाल जाऊँ अभियान सञ्चालन गर्ने सम्झौतामा भनिएको छ । 

कार्यक्रममा बोल्दै ‘नेपाल भ्रमण वर्ष-२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले सो भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गरे।

विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उनले गैर आवासीय नेपालीहरुलाई पटकपटक आग्रह गरे।

राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर सञ्चालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन पनि एनआरएनएको ध्यानाकर्षण गराए।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले  प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता पनि जनाए।

एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवर्द्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ ।

सम्झौतापत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.