|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाको जीवनी 'गणेश थापाको आत्मकथा' बजारमा आउने भएको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थापाले किताबको आवरण सार्वजनिक गरे।

आफूविरुद्ध आमजनतामा रहेको गलत धारणा चिर्नका लागि पुस्तक लेख्नुपरेको उनले बताए। पटकपटक आफूविरुद्ध लागेको आरोप खण्डन गरे पनि असफल भएकोले पाठक र आम जनतालाई खुलस्त पार्न किताब लेखेको उनले बताए। 'आत्मकथा आफ्नो सफाइका लागि नभई सत्यतथ्य उजागर तथा आफ्नो जीवनवृत्त आमजनमानसमा पुर्‍याउने उद्देश्यका लागि तयार पारिएको हो' उनले भने।

उनले आत्मकथामा आफू कार्यकालमा रहँदा नेपाली फुटबलले गरेको प्रगति, आफूमाथि भएका हस्तक्षेप, र आफूलाई देखाइएका विभिन्‍न प्रलोभनलाई पनि समावेश गरेको बताए। आफूले नेपाली फुटबलको स्तरउन्नतिमा कुनै भ्रष्टाचार नगरेको भए पनि मिडियाले बढाइचढाइ गरेर आफ्नो चरित्रहत्या गरेको दुखेसो पोखे। 'संसद्को सार्वजनिक लेखा समितिले भ्रष्टाचार नभएको निर्णय गरे पनि ममाथि ५८ करोड भ्रष्टाचारको आरोप लगायो', उनले भने।

पुस्तकमा राष्ट्रिय टोलीको कप्तानी गर्दै नेपाललाई दिलाएका सफलताका रोचक प्रसंग समावेश गरेको पनि उनले बताए। 'नेपाली फुटबलमा मैले गरेको राम्रा कामको कहिल्यै प्रचार भएन्।समयले एक दिन मेरो पक्षमा फैसला गर्नेछ। त्यो बेला मेरो मृत्यु भइसकेको पनि हुन सक्छ', उनले भने, 'अहिले मेरो चरित्रहत्या गर्नेले कृपया म मरेपछि मेरो स्तुतिगान नगाइदिनू होला। आत्मा भड्किनेछ।'

पुस्तक बुकहिलले प्रकाशन गर्न लागेको हो। पुस्तक फागुनमा आउने तयारी रहेको बुकहिलले जानकारी दियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.