भागवण्डा गरेर मिलाइयो गुटगत विवाद

|

काठमाडौं : हरेक तीन वर्षमा गर्नुपर्ने नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन पार्टीमा देखिएको गुटगत विवादका कारण चार वर्ष पुरा हुन लाग्दा समेत टुंगो लाग्न सकेको छैन। २०६९ फागुन ११-१५ सम्म बुटवलमा आठौं महाधिवेशनबाट महेश बस्नेतको अध्यक्षमा निर्वाचित भएयता तीन जना अध्यक्ष फेरिएपनि महाधिवेशन भने हुन सकेको छैद्द।

युवा संघको विधानअनुसार प्रत्येक ३/३ वर्षमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। तर अवधी पुगेर पनि झण्डै १० महिना बढी भइसक्दा पनि महाधिवेशन कहिले गर्ने भन्ने टुंगो छैन। युवा संघका कार्यकर्ताहरुले महाधिवेशन गर्न नेतृत्वलाई दबाव दिँदै आएपनि त्यसको कुनै सुनुवाई भएको छैन। 

महेश बस्नेतदेखि राजीव पहारीसम्म के-के भयो ?

युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत २०७१ भदौमा उद्योग मन्त्री भएपछि कार्यबाहक अध्यऊ बनेकी उपाध्यक्ष निरु पाललाई स्थायी कमिटीको बैठकले त्यसै वर्षको माघ २१ गते अध्यक्ष चयन गर्‍यो। एमाले संस्थापन पक्षकी पाललाई माधव नेपाल पक्षकाले अध्यक्ष मान्न तयार भएनन्। 

विधान विपरित पाललाई अध्यक्ष बनाइएको भन्दै विरोध जनाएपछि संघमा विवाद घट्नुको साटो बढ्दै गयो। उनीहरुले निर्णय सच्याउन माग गर्दै पार्टीका शीर्ष नेताहरुलाई ध्यानाकर्षण समेत गराए। उनीहरुले निर्णय नसच्याए समानान्तर कमिटी बनाउने धम्की समेत दिए। युवा संघमा बिवाद यति बढ्यो की संघका छुट्टाछुट्टै ब्यानरमा फरक फरक कार्यक्रम हुन थाले।

राजीव आएपछि पनि उस्तै

युवा संघभित्रको बिवाद बढ्दै गएपछि त्यसको समाधान गर्न २०७२ असोज १८ गते युवा संघका तत्कालिन इञ्चार्ज शेरधन राईले बैठक बोलाए। बैठकले निरु पाललाई बिदाई गर्दै महासचिव राजीव पहारीको संयोजकत्वमा नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्‍यो।

संघको संयोजक भएपछि राजीव पहारीले पहिलो भाषणमा भनेका थिए, 'अबको ६ महिनाभित्र युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछु।' दुई गुटबीचको बिवाद मिलाउन एमालेले मध्यमार्गीका रुपमा राजीव पहारीलाई ल्याएको थियो। तर विवाद मिलाउन आएका पहारीले १५ महिना बितिसक्दा समेत महाधिवेशनसम्बन्धी कुनै गतिविधि गर्न नसकेको भन्दै उनको विरोध सुरु भएको युवा संघका एक नेताले बताए। बैठक नबसेका कारण संघका कार्यकर्ताहरुले केन्द्रीय कमिटिको बैठक समेत बसाल्न नसक्ने अध्यक्षले के महाधिवेशन गराउथे भन्दै खिल्ली समेत उडाउने गरेका छन्।

पहारी आएपछि संघको केन्द्रीय कमिटीको पूर्ण बैठक समेत बस्न नसकेको र महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन नसकेको संघका उपाध्यक्ष दिलु पन्त बताउँछिन्। संघमा नेपाल पक्षको नेतृत्व गर्दै आएको पन्त भन्छिन् 'आयोजक कमिटी बनेको पनि एक वर्ष पूरा भइसकेको छ। तर अहिलेसम्म महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन सकेको छैन। महाधिवेशनका लागि थुप्रै तयारीहरु गर्नुपर्नेछ।'

आउँदो माघमा तय गरिएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन सम्बन्धी केही विषयहरु तय गर्ने उनले बताइन्। संघका महासचिव किरण पौडेल संघभित्र रहेको विवाद मिलाइसकेका कारण आगामी वैशाखभित्र महाधिवेशन भइसक्ने बताउँछन्। 'हामी माघ  १६-१८ गते केन्द्रीय कमिटिको बैठक बस्दैछौ। बैठकबाट महाधिवेशन कहिले र कसरी गर्ने भनेर टुङ्गो लगाउछौं' पौडेलले भने।

बिवाद मिलाउन विभाग भागबण्डा

संघको सोमबार बसेको स्थायी कमिटी बैठकले भने केही सकारात्मक सन्देश दिएको युवा संघका नेता कार्यकर्ताहरु बताउँछन्। संघभित्र केपी ओली र माधव नेपाल समुहबीच रहेको बिवाद मिलाउन बैठकले विभाग समेत भागबण्डा गरिएको छ भने माघ १६-१८ गते केन्द्रीय कमिटिको बैठक बोलाएको छ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी बिवाद मिलाएको जानकारी दियो। जसअन्तर्गत संगठनको युवाशक्ति, समावेशी तथा सांस्कृति, प्रचार तथा प्रकाशन, विभाग नेपाल पक्ष र आर्थिक, राजधानी, कार्यालय विभाग ओली पक्षलाई दिएर भागबण्डा मिलाइएको छ। भागबण्डा मिलेपछि विवाद साम्य भएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले बताए।

यस्तै जिल्लामा रहेको विवाद समेत मिलाइएको छ। जसअन्तर्गत सुनसरी र काठमाडौं जिल्लामा रहेको दुई कमिटीलाई एक बनाइएको छ। काठमाडौंमा नेपाल पक्षका नितेश पौडेललाई केन्द्रीय सदस्य बनाएर ओली पक्षका पेम्बा घलेलाई अध्यक्षको जिम्मेवारी दिएर मिलाइएको छ। सुनसरीमा नेपाल पक्षका गौरी परियारलाई अध्यक्ष र ओली पक्षका प्रह्‍लाद बस्नेतलाई सचिवको जिम्मेवारी दिएर बिवाद मिलाइएको छ। विवाद सुल्झिएकाले अबको केन्द्रीय कमिटी बैठकले महाधिवेशन तय गर्ने प्रवक्ता कटवालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.