कञ्चनपुर : झण्डै दुई दशकदेखि बन्द मझगाँउ विमानस्थलमा सजिलैसँग एयरबस सञ्चालन गर्न सकिने प्राविधिक टोलीको अध्ययनले देखाएको छ। ५० सिटको जहाज अवतरण गर्न कुनै पनि प्राविधिक समस्या नभएको एयरपोर्टको स्थलगत प्राविधिक अध्ययन टोलीका इन्जिनियर गुरुदत्त अधिकारीले बताए।
इन्जिनियर अधिकारीका अनुसार उत्तर-दक्षिण रन-वे भएको मझगाँउ एयरपोर्टको दुवै दिशामा ५० सिटसम्म भएको जहाजलाई आवश्यक पर्ने हवाई मार्ग प्रयाप्त भएकोले कम्तीमा पनि ५० सिटे जहाज अवतरण गर्न कुनै पनि प्राविधिक समस्या छैन।
एक सय मिटर जति रनवे थप गर्ने हो भने ७२ सिटे जहाजसमेत अवतरण गर्न सकिने इन्जिनियर अधिकारीले बताए। ‘५० सिटे जहाजको लागि प्रयाप्त रनवे छ। ५० सिटे जहाज अवतरण गर्न कुनै पनि प्राविधिक कठिनाइ छैन', इन्जिनियर अधिकारीले भने ‘थोरै मात्र मेहेनत गरेर रनवे सय मिटर जति बढाउने हो भने ७२ सिटे जहाज अवतरणसमेत गर्न सकिन्छ।’
एयरपोर्टको पूर्व-पश्चिममा पनि तीन किलोमिटर हवाई मार्ग रहेकोले भारतीय सिमानाले कुनै पनि असर नगर्ने भएकाले ठूलै जहाज अवतरणको लागि पनि प्रयाप्त सम्भावना भएको इन्जिनियर अधिकारीले बताए।
इन्जिनियर अधिकारीको नेतृत्वमा रियल पात इन्जिनियरिङ कन्स्लटेन्सीको प्राविधिक टोलीले चार दिन लगाएर मझगाँउ एयरपोर्टको स्थलगत प्राविधिक अध्ययन गरेको थियो।
संस्कृति पर्टयन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफ्नो प्रतिबद्धताअनुसार गत बुधबार मझगाउँस्थित बन्द विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोली पठाएका थिए।
मन्त्री भट्टराईले केही महिनाअघि मझगाउँ विमानस्थल पुनः सञ्चाल समितिको टोलीसँग राजधानीमा असोजभित्र प्राविधिक टिम पठाउने प्रतिबद्धता गरेका थिए।
मन्त्री भट्टराईको प्रतिबद्धतापछि पूर्ववन अधिकृत रमेश चन्द नेतृत्वको समिति काठमाडौंबाट फर्किएको थियो। सशस्त्र द्वन्द्वकालका कारण दुई दशकदेखि बन्द विमास्थल सञ्चालनका लागि पहिलो पटक स्थानीयस्तरमा सरोकारवालासित कार्यक्रम गरी काठमाडौं केन्द्रित दबाबका कार्यक्रम सुरु गरेको थियो।
एक हजार ६ सय ६५ मिटरको रनवेसहित विमानस्थलसित ६५ बिगाहा जमिन छ। प्राविधिकहरूका अनुसार ठूला जहाज सञ्चालन हुने गरी विमानस्थल सञ्चालका लागि एक सय १७० देखि एक सय १७५ बिगाहासम्म जमिन चाहिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।