एक चीननीतिमा नेपाल प्रतिवद्ध : रक्षामन्त्री

|

काठमाडौं : चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ। यसबारेमा दुई देशका अधिकारबीच बेइजिङमा सम्झौता भएको छ। 

सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आइतवार हस्ताक्षर भएको हो। राष्ट्रपति सी चीनफिङले असोज २५ र २६  नेपाल भ्रमणका क्रममा गरेको प्रतिवद्धता अनुसारको उक्त सहयोग चीनले उपलब्ध गराउने भएको हो। चीनले यो सहयोग तीन वर्षभित्र दिइसक्नेछ।

हस्ताक्षरपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो। उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताए।

उनले नेपाल-चीन असल र मैत्रीपूर्ण सम्बन्धलाई राष्ट्रपति सीको भ्रमणबाट थप उचाइमा पुर्‍याउन योगदान गरेको बताए। उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारप्रति धन्यवाद दिए।

पोखरेलले नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुक विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको बताए। 

चीनका रक्षामन्त्रीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहानमा आयोजित सातौं मिलिटरी वल्ड गेम र बेइजिङमा आयोजना हुन गइरहेको नवौं सियाङ्गसन फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद दिए।

उनले नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट खुसी व्यक्त गरे। चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्र सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले नेपाली सेनाको क्षमता विकासका लागि चीन सकारात्मक रहेको बताए।

चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ। भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुललगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.