|

विश्वभरी छरिएर रहेका मुलुकहरुको इतिहास हेर्दा ती देशहरुलाई उपनिवेशबाट स्वतन्त्र बनाउने या स–साना राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरी विशाल राज्य बनाउने महापुरुषहरुलाई त्यस देशका राष्ट्र निर्माताको रुपमा लिएको पाइन्छ।

त्यस्ता महापुरुषको सम्झनामा र सम्मानमा विभिन्न स्मारकहरु, संघ संस्था र शहरहरुको नामाकरण गर्नुको साथै चलनचल्तीमा आएका रुपैयाँ पैसामा तस्बिर अंकित गर्ने गरिन्छ। उनको भौतिक शरीर नभए पनि उनले पुर्‍याएको योगदानलाई सधै जीवित राख्नकै लागि त्यस्तो गरेको हुनसक्छ। उदाहरणको लागि हाम्रा छिमेकी मुलुकहरुको इतिहास हेर्न सकिन्छ।

भारतलाई अंग्रेज शासनको उपनिवेशबाट स्वतन्त्र बनाउने महापुरुष महात्मा गान्धीलाई भारतका राष्ट्रपिता भनिन्छ र उनको तस्बिर भारतीय रुपैयाँमा अंकित छ र त्यहाँका विभिन्न संघ संस्थाहरुको नामाकरण उनको नामबाट भएको छ भने भारतका विभिन्न शहरहरुमा उनको शालिक देखिन्छ। त्यतिमात्र नभई अंग्रेज उपनिवेशबाट स्वतन्त्र बनाउन महत्वपूर्ण भूमिका खेल्न महापुरुषहरु जस्तै सुवाष चन्द्र बोस, लालबहादुर शास्त्री, राजेन्द्र प्रसाद, जवाहरलाल नेहरु, इन्दिरा गान्धी लगायतका व्यक्तिहरुको सम्मानको लागि भारत सरकारले उनीहरुको नामबाट बिभिन्न संघ संस्थाहरुको नामाकरण गर्नुको साथै शहरहरुमा उनीहरुको सम्झनाको लागि प्रतिमूर्ति स्वरुप प्रतिमाहरु निर्माण गरेको छ।

त्यस्तै अर्को छिमेकी मुलुक पाकिस्तानलाई स्वतन्त्र बनाउन नेतृत्व गर्ने महापुरुष अलिजिन्ना पाकिस्तानका राष्ट्रपिता मानिन्छन्। उनी लगायत उपनिवेशबाट छुटकारा दिलाउनमा महत्वपूर्ण भूमिका खेल्ने महापुरुषहरुलाई पाकिस्तान सरकारले र त्यहाँका जनताले सम्मान दिएकै छन्। गणतन्त्र चीनमा सन् यात्सेन, माओलाई सम्मानको दृष्टिले हेरिन्छ। अमेरिकाका जर्ज वासिङटनलाई पनि।

त्यसैगरी बिभिन्न देशहरुले आ–आफ्नो देशको निर्मातालाई सम्मान दिएको उदाहरणहरु प्रशस्त छन्। तर हाम्रो देशको राष्ट्र निर्माता को? अहिले हाम्रो सामु प्रश्न उब्जिएको छ। यदि पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्मँता हुन् भने किन उनलाई राष्ट्र निर्माताको सम्मान नदिने? यदि उनले त्यस समयमा नेपालाई एकीकरण गर्ने अभियान नथालेको भए छुट्टाछुट्टै अस्तित्वमा रहेका बाइसे चौबीसे राज्य, काठमाण्डौमा मल्ल राज्य, पूर्वमा सेन किराँत राज्य, पूर्वी तराईमा मिथिला राज्य लगायत विभिन्न स–साना राज्यहरुमा विभाजित थिए र अहिलेसम्म ती राज्यहरुको अस्तित्व हुने कमै सम्भावना छ।

फलस्वरुप यो विशाल नेपालको कल्पना गर्न सम्भव थिएन। किनकी, छिमेकी मुलुक भारत, चीन, श्रीलंका, माल्दिभ्स, बर्मा लगायत एशिया र युरोपका धेरै मुलुकहरुलाई अंग्रेजले उपनिवेश बनाइसकेको थियो र उसले हाम्रो मुलुकमाथि आँखा गाडिसकेको थियो जसले गर्दा हाम्रो विशाल नेपाल अंग्रेजको उपनिवेशको पञ्जामा पर्न सक्थ्यो। त्यसको प्रतिकारको लागि एउटा सशक्त र बलियो राष्ट्रको खाँचो थियो। त्यस बेला पृथ्वीनारायण शाहले आफ्नो ज्यान जोखिममा राखेर स्वयं युद्धमा गई राज्य विस्तार अभियान अगाडि बढाई विशाल नेपाल निर्माणको एकीकरण अभियान थालनी शुरु गरे। उनको अभियानलाई निस्तेज गर्नको लागि कान्तिपुरका मल्ल राजाहरुले अंग्रेजहरुको सहयोग मागेको इतिहास साक्षी छ।

त्यही पनि उनको दूरदृष्टि नीति र साहसको अगाडि कसैको केही लागेन। फलस्वरुप स–साना राज्यहरुलाई गाभेर विशाल नेपाल एकीकरण अभियान सफल भयो। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाह भएकोले उनलाई राष्ट्रनिर्माता मान्ने कि नमान्ने यो प्रश्न टड्कारो रुपले उब्जिनु पर्दछ। देशको निर्माण गर्ने व्यक्तिलाई राष्ट्र निर्माता मान्नुमा कुनै तर्क र बहसको जरुरी पर्दैन।

राष्ट्र निर्माताको परिभाषा व्यापक छ। मुलुक निर्माण गर्ने, मुलुकलाई बाह्य हस्तक्षेपबाट बचाउने, मुलुकको समुन्नत विकास गर्ने, मुलुकलाई बाह्य आन्तरिक उपनिवेशबाट मुक्त दिलाउनेमा नेतृत्व गर्ने नेतालाई नै राष्ट्र निर्माताको परिभाषा भित्र पर्दछ। त्यस्तो व्यक्ति कुनै सर्वसाधारण वा वंशानुगत रुपले नेतृत्वमा आएको हुनसक्छ। किनकी वंशनुगत रुपले पनि धेरै व्यक्ति नेतृत्वमा आएका हुन्छन्। तर सबै राष्ट्र निर्माता हुदैनन्। जसले राष्ट्रको लागि योगदाना दिन सक्छ त्यस्ता व्यक्ति मात्र राष्ट्र निर्माता हुनसक्छ।

नेपालको सन्दर्भमा वंशानुगत रुपले नेतृत्वमा आएका पृथ्वीनारायण शाहले राष्ट्रलाई बाह्य हस्तक्षेपबाट जोगाउनुको साथै विशाल नेपालको निर्माण गर्न सफल भए। विश्लेषकहरुले पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरेका हुन्।

त्यसैले उनलाई राष्ट्र निर्माता भन्न सकिदैन केवल उनले आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नको लागि आफ्नो राज्य बलियो र ठूलो बनाउने अभियानमा नेपालको एकीकरण अभियानमा लागेका हुन् त्यसैले उनी विस्तारवादी हुन् भन्ने तर्क पेश गर्दछन्।

केही हदसम्म यस्तो तर्क पेश गर्ने व्यक्तिले पाठकलाई झुक्याउन सफल भएको देखिन्छ। तर जुनसुकै मनसाय लिएर भए पनि राष्ट्र बलियो र विशाल बनाउँदै बाह्य हस्तक्षेपबाट जोगाउनु त राम्रै पक्ष हो। त्यही पक्षलाई नै सार्वजनिक रुपले मुक्त कण्ठले प्रशंसा गर्न सक्नुपर्दछ। विश्लेषक र लेखकहरुले लेख्न सक्नुपर्दछ। राम्रो काम त जसले गरे पनि हुन्छ यदि त्यस समयमा मुलुक एकीकरण नभई दिएको भए नेपाल राष्ट्र त कान्तिपुर मात्र थियो, अरु त अरु नामले नै चिनिएका थिए। सबैको पहिचान बेग्ला बेग्लै थियो।

आज पूर्व मेचीदेखि  पश्चिम महाकाली उत्तर हिमालदेखि दक्षिण तराईसम्म बसोबास गर्ने जनताहरु नेपाली हुने थिएन। आज विश्वका सामु गौतम वुद्ध नेपालमा जन्मिएका थिए, राजा जनक, सीता, भृकुटी, बाल्मिकी ऋषि नेपालमा जन्मिएका थिए भनेर चिनाउँदछौ  तर उनीहरु जन्मिने बेला नेपालमा जन्मेका थिएनन्। तिनीहरु जन्मेको स्थानपछि नेपालभित्र गाभियो जसले गर्दा आज हामी विश्वका सामु गौतम वद्ध, राजा जनक, सीता, वाल्मिकी नेपालमा जन्मिएका थिए भनेर गौरवका साथ भन्ने गर्दछौ। गौतम वुद्ध जन्मेको देश कपिलवस्तु हो । राजा जनक र सीता मिथिलामा जन्मेका थिए ।

त्यतिमात्र नभई विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको हो र हामी सर्वोच्च शिखर भएको मुलुक नागरिक हौ भनेर गर्व गर्छौ। यस्तो गर्व गर्ने अवसर दिने व्यक्तिलाई राष्ट्र निर्माता किन नमान्ने। यदि राष्ट्र निर्माता कोही छ र त्यो बाहिर आउने सकिरहेको छैन भने इतिहास लेख्नेलाई माफी किन दिने। त्यसैले मुलुकको राष्ट्र निर्माताको नाम र पहिचान राज्यले बाहिर ल्याउन सक्नुपर्दछ। बाहिर आएकोलाई पनि नमान्ने र बाहिर ल्याउन पनि नसक्ने संस्कारलाई असभ्य संस्कार मान्न सकिन्छ ।

नेपाललाई बाह्य हस्तक्षेपबाट बचाउँदै विशाल नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाह नै भएकोले उनलाई राष्ट्र निर्मँता मान्न सकिन्छ। यसमा दुईमत छैन। यदि भएमा सार्वजनिक रुपले पेश गर्न सक्नुपर्छ र बहस चलाउनु पर्दछ। नत्र भने पृथ्वीनारायण शाहलाई नै राष्ट्रपिताको सम्मान दिनु पर्दछ। तर बिडम्बना नै मान्नु पर्दछ यहाँ सम्मान दिनुको साटो उनको शालिक तोडिन्छ।

आज उनको नाम उच्चारण गर्न लाज मान्ने संस्कारको विकास भएको छ। नेपाल नै एउटा यस्तो देश भएको छ जहा“ राष्ट्र निर्माताको तस्बिर नोटमा अंकित छैन। जेसुकै व्यवस्था भएपनि राष्ट्र निर्माता फेरिदैन। राष्ट्र निर्माता फेर्नसक्ने व्यक्ति जन्मनु पर्दछ। त्यति कै राष्ट्र निर्माता मनोवृत्तिले फेरिने दर्जा होइन। त्यसैले राष्ट्र निर्माताको सम्मान स्वरुप उनको तस्बिर नेपाली मुद्रामा अंकित हुनुपर्दछ। हामीले कसलाई कस्तो सम्मान दिने भनेर बुझ्न सकेनौ भने हामीभन्दा असभ्य अरु कोही हुन सक्दैन।

यदि राष्ट्र निर्माता पृथ्वीनारायण शाह होइन भने राज्यले प्रमाणित गरेर देखाउनु पर्दछ र उसलाई सम्मानको दृष्टि राज्यले लिनुपर्दछ। यदि देखाउन पनि नसक्ने, भएको इतिहासलाई पनि मान्न तयार नहुने हो भने कहाँसम्मको जंगलीपन हो? त्यसैले सम्मान पाउने व्यक्तिलाई सम्मान दिन सकिनौ भने हामीभन्दा असभ्य मानिस को होला? त्यसैले भन्ने गरिन्छ ‘सम्मान लिनेले सम्मान दिन पनि जान्नुपर्दछ।’ नत्र भने सभ्यताको पहिचान नै रहदैन। जहाँसम्म शालिक प्रतिमा उखेल्ने, फाल्ने कुरा छ यदि कुनै दलको सिद्धान्त कही कतै कसैको प्रतिमा शालिक नै नराख्ने छ भने त्यो एउटा सिद्धान्त हुनसक्छ तर एउटाको मासेर अर्काको राख्नु इतिहास मेटाउने, सम्पदाको बिनाश गराउने कुरा हो। जुन सभ्य संसारमा कही पनि छैन। यस्तो हुनु पनि हुदैन।

व्यवस्था फेरिन सक्छ तर मुलुक फेरिदैन, व्यवस्था फेरिनुका साथ इतिहास बदल्न पनि सकिदैन। इतिहास इतिहास नै हो।

इतिहास राम्रो नराम्रो सबै हुन्छ। त्यसैले कसैको शालिक फालेर अर्को शालिक प्रतिस्थापन गर्नु राम्रो पक्ष् होइन। शालिकबाट हानी नोक्सानी केही हुदैन। शालिक प्रतिमा जीवित भौतिक शरीर होइन केवल प्रतिमूर्ति हो। त्यसबाट मुलुक र जनताको लागि थप क्षति हुदैन। बरु शालिकहरु भएका व्यक्तिले गरेका राम्रा नराम्रा कामका बारेमा भावी सन्ततिलाई इतिहास बुझ्ने मौका दिन्छ। तर हाम्रो देशमा व्यवस्था फेरिनासाथ शालिकहरु तोडिए जसले गर्दा हाम्रा सन्ततिहरुलाई इतिहास जान्न बञ्चित गरियो।

हाम्रो छिमेकी मुलुक भारत स्वतन्त्र हुनुभन्दा पहिलाका शासकहरुका शालिकहरु देखिन्छन् त्यति मात्र नभई अुग्रेजले शासन गर्नुभन्दा पहिलाका राजा रजौटा र महापुरुषका शालिकहरु प्रशस्तै मात्रामा देखिन्छन्। तर हाम्रो मुलुकमा व्यवस्था फेरिन साथ पहिलाका शासकहरुका शालिकहरुलाई विस्थापित गरियो। त्यसैले यस्तै क्रियाकलाप भएको मुलुक यदि कहीँ कतै छ भने त्यहाँ पनि अहिले पश्चाताप होला? त्यसैले भोलि हामीलाई यस्तो क्रियाकलापले पश्चाताप नहोला भन्न सकिदैन।

त्यसैले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्रप्रति विश्वास राख्ने सम्पूर्ण नेपालीहरु आफ्नो देशको मौलिकता भौगोलिक, धर्म, संस्कृतिको रक्षाको लागि सर्तक हुनुपर्दछ। आफ्नो संस्कार र संस्कृतिलाई लत्याएर कोही ठूलो हुन सक्दैन। आपसमा झगडा गरेर अलोकतान्त्रिक परिपाटीबाट काम गर्दा देशको एकतामा ह्रास आउन सक्छ। अनि देशको प्रगति अवरुद्ध हुनसक्छ जसले गर्दा विपन्नता, अशिक्षा बढाउँछ।

विपन्नताले विद्रोह थपिन्छ विद्रोहले थप गरिबी र अस्थिरता पैदा गर्दछ। फलस्वरुप मुलुकमा गृहयुद्ध निम्त्याउँछ। जसको कारण देशको अस्तित्व समाप्त हुन के बेर ? सबै मिलेमा मुलुक बन्दछ र झगडा गरेमा मुलुक बिग्रन्छ भन्ने मुल भावनालाई आत्मसात गरी राष्ट्र र राष्ट्रियता लोकतान्त्रप्रति बफादार भई सम्पूर्ण राजानीतिक दल, पत्रकार, बुद्धिजीवी, लेखक, पढैवा वर्गले समुन्नत राष्ट्रको लागि बहस गर्दै मुलुकको पहिचान विश्व सामु कायम गर्न निश्चित राजनीतिक घेराभन्दा माथि उठेर छलफल गरौं किनकी समुन्नत राष्ट्र सबैको हो र सबैको उद्देश्य र सिद्धान्त पनि समुन्नत राष्ट्र बनाउने नै हो।

त्यसैले साझा उद्देश्य समुन्नत राष्ट्र बनाउने र लोकतन्त्रलाई संस्थागत गर्ने भएकोले राष्ट्र निर्माणमा अग्रसर होऔं र अहिलेसम्म समुन्नत राष्ट्र बनाउनेमा नेतृत्व गर्ने महापुरुष र जीवन आहुती गर्ने शहिदहरुलाई सम्मान गर्न सिकौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.