|

दाङ : कुनै समय करेसा र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाइन थालिएको छ। विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा फूल खेती हुन थालेको हो। 

घोराही र तुलसीपुरमा व्यावसायिक रुपमा फूल खेती गर्न थालिएको छ। तिहारका आगमनसँगै फूलका मालाको माग अत्याधिक बढ्ने भएकाले उत्पादन समेत वृद्धि भएको छ।  तुलसीपुरका युवा व्यवसायी विनिल के.सी, सन्दिपन  रिजाल, सचिन पौडेललगायतका सात जना युवाहरुले तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा व्यावसायिक फूल खेतीको सुरु गरेका छन्। 

दाङका बजारमा विशेष गरी तिहारको बेला प्लाष्टिकका फूल तथा मालाले वर्चश्व कायम गरिरहेका बेला त्यसलाई विस्थापित गर्न आफुहरुले  व्यावसायिक रुपमा फूल खेती गरेको दुर्गाबहादुर बस्नेतले बताउँछन्।  प्लाष्टिकका फूलमा लाखौँ रुपैयाँ बाहिर गइरहेको समयमा आफुहरुले उत्पादन गरेको फूलहरुले बाहिरबाट भित्रिने कृत्रिम फूलमा आयत कमी हुने उनको भनाइ छ।

पहिलो पटक १५ हजार सयपत्रीका विरुवा रोपेकामा केही मरे पनि करिब १२ हजार बोटहरु रहेका छन्। पाँच लाखको लागतमा एक बिघा क्षेत्रफलमा फूल खेती गर्दै आएको  अर्का व्यवसायी विनिल केसीले जानकारी दिए। यहाँ उत्पादन भएका फूलहरु दाङमा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गर्ने लक्ष्य लिएको उनको भनाइ छ। यहाँ उत्पादित फूल प्रतिकिलो २०० र प्रतिमाला १०० रुपैयाँमा बिक्री हुने केसीले बताए। 

त्यसैगरी दाङको घोराहीमा करिब दुई वर्षदेखि पूर्वमाओवादी  सेनाका बिग्रेड सहकमाण्डर क्षितिज मगरले घोराही–१३ डुमरगाँउमा व्यावसायिक फूल खेती गर्दै आएका छन्। तर, पर्याप्त सिंचाइ नहुँदा र जग्गा नपाउँदा समस्या भएको उनको गुनासो छ। उनले फूल खेतीका लागि कुनै निकायबाट सहयोग नपाएको बताए। यहाँ उत्पादन भएको फूल दाङका साथै काठमाडौं, पोखरालगायत शहरमा पठाउने गरेको उनले जानकारी दिए।

त्यसैगरी व्यवसायी इन्द्रा बुढामगरले ग्राहकको इच्छाअनुसार नै फूल बेच्ने गरेको बताइन्। उनले एउटा माला १०० रुपैयाँमा बिक्री हुने बताइन्। गत वर्ष उनले एक सिजनमा करिब छ लाख रुपैयाँको फूल बिक्री गरेकी थिइन्। ‘अन्य पेशाभन्दा मेहनत धेरै गर्नु नपर्ने भएकाले यो पेशा अँगालेका हौँ,’ उनले भनिन्, ‘तर रोग लाग्ने गर्दा धेरै फूलहरु मर्ने गरेको छ।’ 

घोराही–१४ झिगौराका लोकेन्द्र रोका मगरले पनि व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेका छन्। उनले सुरुका केही वर्ष तिहारका लागि मात्र फूल खेती गर्दै आएका थिए। सुरुमा फूलको माग कति हुन्छ भनेर बजार मागलाई बुझेका लोकेन्द्रले अहिले व्यावसायिक रुपमा नै खेती गर्दै आएका छन्। उनले जलजला पुष्प खेती फर्म दर्ता गरेर सयपत्रीको व्यावसायिक खेती गरेका छन्। 

लोकेन्द्रले १२ कट्ठा जग्गा भाडामा लिएर खेती गरेको छन्। उनी आगामी वर्ष करिब एक बिघामा फूल खेती गर्ने योजना सुनाउँछन्। रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकाले जिल्लामा दशैं तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यमा फूलको माग देखेपछि फूल खेती गर्ने थालेको बताउँछन्। ‘दाङमा व्यावसायिक रुपमा फूल खेती कतै थिएन,’ उनले सुनाए, ‘काठमाडौंमा व्यावसायिक फूल खेती गरेको देखेको थिएँ। यहाँ मैले सुरु गरेको हुँ।’ 

उनको फर्ममा भारतको कोलकताबाट ल्याइएको अफ्रिकन मेरीगोल्ड जातको सयपत्री फूल रोपिएको छ। घोराही बजार नजिकै फूलखेती गरेकाले बजारको लागि कुनै पनि समस्या नभएको रोका बताउँछन्। उनको फर्ममा दैनिकजसो फूलको अर्डर आउने गरेको छ। उनले उत्पादन गरेको फूल घोराही, तुलसीपुर, लमही, भालुवाङका बजारमा बिक्री हुँदै आएको छ। काठमाडौबाट माग भए पनि पठाउन नसकेको उनले बताए। उनले एउटा मालालाई १०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। गत वर्ष फूल खेतीबाट सबै खर्च कटाएर एक लाख रुपैयाँ बचाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.