|

नेपालगन्ज : युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढामाथि भएको खुकुरी प्रहारका मुख्य अभियुक्त लक्ष्मण मल्ललाई इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
खुकुरी प्रहार लगत्तै फरार रहेका मल्ललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो। पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले खुकुरी प्रहार प्रकरणको ‘कारागार कनेक्सन’ बारे अनुसन्धान भैरहेको बताए। उनले  बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने योजना नेपालगन्ज कारागारभित्र बनेको सुचना प्रहरीलाई प्राप्त भएको बताए। 

मल्लसँगै प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, भाग्न प्रयोग भएको मोटरसाइकल र कार समेत सार्वजनिक गरेको छ।  मल्ललाई आइतबार जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख राईले बताए।  
‘यो घटनाको बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ, अनुसन्धान पछि को–को तानिन्छन्? यसको कारण अनुसन्धानपछि सार्वजनिक गरिने छ,’ राईले भने। यसअघि प्रहरीले घटनामा संलग्न भएको आशंकामा  सोधपुछका लागि  २५ जनालाई नियन्त्रणममा लिएको थियो।  अहिले मल्लसहित ११ जना प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहालपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

घटनामा संलग्‍न भएको आशंकामा पक्राउ परेका तरुण दल बाँके क्षेत्र नम्बर १ का सभापति दिग्विजय राणा, युवा संघ बाँकेका भेरी अञ्चल सदस्य ज्ञान थापालगायत १० जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको  उनले बताए। उनले केही दिनमै घटनाको वास्तविकता सार्वजनिक हुने जानकारी दिए। 

डिएसपी काफ्लेले खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिबाट धेरै कुरा खुल्दै गएको र घटनाको कनेक्सन कारागारमा हुन सक्ने सम्भावना रहेको बताए। काफ्लेले अनुसन्धान पारदर्शी तरिकाले भैरहेको भन्दै कसैले अनावश्यक शंका नगर्न सुझाव दिए। 

राणाको संलग्नता देखिएर नै नियन्त्रणमा लिएको भएपनि अहिले अनुसन्धान प्रक्रियामै रहेकाले सबै भन्न नमिल्ने बताए। ‘समय आएपछि सबै कुरा भन्दै जाउँला,’ उनले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.