चालकसहित चारजना पक्राउ

|

बैतडी : सडक निर्माणमा विवाद हुँदा बैतडीमा डोजर चालकले विरोधमा उत्रिएका स्थनीयमाथि डोजर चलाएका थिए। विरोधमा उत्रिएका स्थानीयमाथि चालकले डोजर चलाउँदा आठजना घाइते भएका छन्। जसमा एकजनाको अवस्था गम्भीर छ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। 

डोजरको ‘थुतुनो’ले हान्दा गम्भीर घाइते हुनेमा स्थानीय ३५ वर्षीया गौरी जोशी रहेकी छन्। उनको बैतडीमा उपचार हुन नसक्दा कोहलपुर रेफर गरिएको छ। 

घाइतेहरुमा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी रहेका छन्। गौरा डोजरले हान्दा घाइते भएकी हुन्। 

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुरा नमिल्दा झडप पनि भएको थियो। सडक लैजान नदिने र सडक खन्नुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।  

सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण गर्न खोज्ने पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए। 

‘सडक निर्माण हुने ठाउँमा देवताको गुठी थियो। यो बिषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि अर्को पक्षले जबरजस्ती गरेको हो’, उनले भने। तर निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन्। 

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका बिषयमा पहिलादेखि विवाद थियो। एक्कासि आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए। जबरजस्ती सडक बनाउन थालिएपछि विरोधमा उत्रिएकी गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको बताइएको छ।

तर सडक निर्माणमा जुटेको पक्षले भने सडक खन्दा एक्कासि डोजरमा ढुंगामुढा गरेपछि झडपको स्थिति आएको जनाएको छ। सडक निर्माण गरिरहेको डोजरमा एक्कासि ढुंगामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए। 

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेको थियो गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ। 

स्थानीयले ढुंगामुढा गर्दा डोजरको सिसा फुटेको प्रहरीले जनाएको छ। ग्वाल्लेकमा निर्माण भइरहेको सडकबारे दुवै पक्षबीच पहिलादेखि विवाद थियो। 
आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।

सडक निर्माणबारे भएको विवादबारे दुवै पक्षसँग छलफल गरेर टुंगो गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। 

डोजर चालकसहित ४ पक्राउ 

सडक निर्माणबारे गाउँलेबीच विवाद हुँदा डोजरले महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन्। चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका साथै अन्य ३ जनालाई पनि पक्राउ गरि अनुसन्धान थालिएको छ। झडप गर्ने दुवै पक्षकासहित अन्य ३ जना पनि पक्राउ परेका छन्। 

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो। झडपमा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो। जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.