|

दमक : लिम्बू समुदायको सांस्कृतिक नृत्य लोप हुने अवस्थामा पुगेपछि झापामा यसलाई नयाँ पुस्तालाई सिकाउन थालिएको छ।

आफ्नो समुदायको मौलिक संस्कृति नै संकटमा परेपछि किरात याक्थुङ्ग चुम्लुङ्ग दमकले नयाँ पुस्तालाई सिकाउन थालेको हो। स्थानीय किरात भवनमा दैनिक २ घण्टा आफ्नो सांस्कृतिक नृत्य सिक्न लिम्बू मात्र नभई अन्य समुदायका युवकयुवती आउने गरेका छन्।

दमक १ की निकल राई तिनै सिक्ने मध्येकी हुन्। उनले सांस्कृतिक नाचले जाति, समुदायको सीमा नकोरिने भएकाले आफू लिम्बूको केलाङ नाच सिक्न आएकी बताएकी छन्। राई र लिम्बूका कतिपय आफ्ना मौलिक नाच मिल्दाजुल्दा भएकाले पनि साथीहरूसँग मिलेर सिक्न आएको उनको भनाइ छ।

केलाङ नाच सिकाउने प्रशिक्षण कार्यक्रमका संयोजक चन्द्रबहादुर कन्दङ्गवाका अनुसार लिम्बू जातिको परम्परागत केलाङ नाचको संरक्षण गर्न प्रशिक्षण राखिएको हो। भावी पुस्तामा पनि आफ्नो सांस्कृतिक कलाका बारेमा जानकारीसहित व्यवहारमा प्रयोग गराउन हेतुले प्रशिक्षण कार्यक्रम राखिएको उनले बताए।

निःशुल्क केलाङ प्रशिक्षणमा लिम्बूसँगै गैर-लिम्बू युवापुस्ताको पनि आर्कषण रहेको संयोजक कन्दङ्गवा बताँउछन्। १५ दिने सो प्रशिक्षणमा बालकुमार लाओतीले सांस्कृतिक नृत्य सिकाइरहेका छन्।  प्रशिक्षणमा ९० जना सहभागिमध्ये आधा बढी युवती छन्।

के हो, केलाङ्ग?

प्रशिक्षक लाओतीका अनुसार लिम्बू समाजमा केलाङ्ग विभिन्न नामले चिनिन्छ। विशेषगरी केसामीको स्मृतिमा बनाइएको के अर्थात ढोलबाट शुरुवात भएको नाच हुनाले यसलाई केलाङ नाच अर्थात् ढोल नाच पनि भनिन्छ।

यसरी सुरुवात भएको केलाङ नाच आज लिम्बू संस्कृतिको एउटा महत्वपूर्ण र प्रमुख नाचको रूपमा नाचिँदै आएको उनको जोड छ। काठको ढोलमा छालाले च्याब्रुङको कवर लगाइन्छ। च्याब्रुङ हात र एउटा लठ्ठीमा घङ्टी जोडेर बनाइएको अम्लारीफुङ भन्ने सामग्रीले बजाइन्छ। विभिन्न तालमा च्याब्रुङ बजाइन्छ। तीनदेखि चार मिनेटको एकपल्टको प्रस्तुति हुने उनले बताए। च्याब्रुङ एउटा बनाउन १० देखि १५ हजार रुपैयाँ, एकजना केटाको कपडा जुटाउन १० हजार र केटीको कपडाका लागि २५ देखि ३० हजार खर्च हुने बताइन्छ।

जीवतन्तु, चराचुरुङ्गी हिँडेको नाचेको लगायतका ताल निकाल्ने गरिन्छ। च्याब्रुङ नाचको कथा निक्कै लामो रहेको संस्कृतिकर्मी राजेन्द्र जवेगुको धारणा छ। जवेगुका अनुसार परापूर्वकालमा घरलाई धमेरावट जोगाउनका लागि च्याब्रुङ बचाएर नाँच्न थालेको मुन्धुममा उल्लेख छ।

बढ्दैछ चासो 

लिम्बू जातिको यस संस्कृतिमूलक नाच युवापुस्ता माँझ आदानप्रदान गर्न उद्देश्यले जातीय संस्था चुम्लुङले बेलाबेलामा यस किसिमको प्रशिक्षण सञ्चालन गरिआएको चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताए। विभिन्न अवसरमा नाचिने यो नाच समग्रमा लिम्बूसँगै पूर्वका आदिवासी जनजातिहरूको महत्वपूर्ण मौलिक संस्कृतिको रूपमा रहेको उनको भनाइ छ।

मंसिरे पूर्णिमाका दिन पर्ने लिम्बू जातिका मुख्य चाड चासोक तङ्गनाममा केलाङको विशेष प्रस्तुति रहिआएको छ। त्यसदिन चुम्लुङले दमकमा वडास्तरको प्रतियोगिता नै आयोजना गरेको अध्यक्ष चेम्जोङले बताए। संस्कृति संरक्षण गर्न मुख्य उद्देश्यले यस किसिमको प्रतियोगिता गर्न लागिएको र यसले भावी पुस्तामा नै सकरात्मक सन्देश पुर्‍याउने उनको भनाइ छ।

लिम्बूका विवाह, घरपैंचोलगायतका मौलिक तथा सांस्कृतिक कार्यहरूमा पनि केलाङ हराउँदै गएपछि केलाङ नाच टोली उत्पादन गर्न पनि यस प्रशिक्षण उपयोगी भएको चुम्लुङकी प्रदेश समिति सदस्य तथा दमककी महिला नेतृ इक्सा सम्बाहाम्फेले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.