ब्लग

बाध्यताले विदेशिएकाहरुलाई खोक्रो राष्ट्रवादी नभनौं
SHARES

पुस २७, २०७३

    अस्थिर राजनीतिक अवस्थाका मुलुकभित्र सुन्दर भविष्य नदेखेर विदेशिएको सन्दर्भ जोडेर पत्रकार बोमलाल गिरीले केही समय पहिले लेखेको ब्लगमा आएका प्रतिक्रियाले ढिलै भएपनि केही लेख्न मन लाग्यो। विदेशिनु कसैको रहर होइन। भलै युरोप, अमेरिका, अष्ट्रेलिया लगायत सम्पन्न मुलुक नै किन नहोस्।

    आफ्नो घर, परिवार, आफन्त अनि मातृभूमि छोडेर विदेशिनेहरु आत्मैदेखि खुशी हुने सायदै होलान्। समुद्रको किनार तथा गगनचुम्बी भवनका अगाडि बसेर फेसबुकमा तस्बिर अपलोड गरेकै आधारमा कसैको सन्तुष्टीको आधार मापन गरिनु किमार्थ सत्य हुन सक्दैन। बाहिर मुस्कान देखिए पनि मनभित्र अशान्ति र वेदनाका अग्ला पहाड हुन सक्छ।

    ठूलो संर्घष गरेर प्राप्त गरेको मान, प्रतिष्ठा, पहिचान, स्वाभिमान, छोडेर बिरानो देशमा आत्मसम्मान गिराएर श्रम मजदुरका रुपमा कठिन र जोखिमपूर्ण काम गर्ने रहर कसको होला र? किञ्चित हुँदैन। देशमै केही गर्छु भनेर कोशिस गर्दा पनि परिस्थिति अनुकुल नबनेपछि र बन्ने संकेत नदेखेर ब्यतिगत समस्याको निराकरण स्वरुप कुनै पत्रकार विदेशियो भन्दैमा देशको माया नभएको, खोक्रो राष्ट्रवादी, कपूत लगायत अनेकौं उपमा दिएर समाजले गलत नजरले हेर्न, अपराधी करार गर्न मिल्छ? आफ्नो भविष्य केही सहज र सुरक्षित बनाउने आशामा सम्भावानाको खोजी गर्दै विदेशिनु अपराध हो?

    यदि त्यसो हो भने आज देश बाहिर रहेका ५० लाख भन्दा बढी नेपाली युवा देशको माया नभएका खोक्रा राष्ट्रवादी हुन्? उनीहरुलाई समाज अनि देशको माया छैन? राजनीतिक स्थायित्व भएर देश एउटा सम्भावनाको दिशामा अघि बढेको हुन्थ्यो भने कम्तीमा ज्ञान, सीप र शिक्षा हासिल गरेकाहरु उच्चशिक्षाका सर्टिफिकेट दराजमा थन्क्याएर खाडी मुलुकमा ४५/५० डिग्री तापक्रममा जोखिमपूर्ण काम गर्न जाने थिएनन् होला।

    देशमै आफ्नो योग्यता र क्षमता अनुसारको पेशा व्यवसाय गरेर परिवारसँगै सुखसयलपूर्ण जीवनयापन गर्ने थिए। इतिहास हेर्ने हो भने २००७ सालदेखिका हरेक राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहदै आएको छ। देशलाई निकास दिलाएर विकासको मार्गमा डोर्‍याउने आशामा पत्रकारिताको क्षेत्रबाट हाम्रो पुस्ताले पनि सक्दो कोशिस नगरेको होइन।

    पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रहरीको लाठी, पानीको फोहरा अनि तत्कालिन शाही सेनाको धम्कीका बाबजुद परिवर्तनको पक्षमा, गणतन्त्रको पक्षमा, जनताको खोसिएको सूचनाको हक स्थापित गराउन निरन्तर कोशिस गरेको सर्वविदितै छ। मुलुकमा इतिहासमै पहिलो पटक संविधानसभाको निर्वाचन भयो। संविधान पनि जारी भयो। तर पनि नेताहरुको सोँच, चिन्तन अनि व्यवहारमा सुधार आएन।

    देश र जनताको चहना र भावानालाई शिरोधार्य गर्दै मिलेर अघि बढ्ने प्रतिवद्धता बिर्सेर उनीहरु फेरिपनि उही राजनीतिक खिचातानी अनि शक्ति र सत्ताको दरुपयोग तर्फको बाटोमै अघि बढिरहेका छन्। यदि देशमै केही सम्भावना हुन्थ्यो भने राजनीतिक दलका नेता तथा राज्यका उच्च—पदस्थ व्यक्तिहरुले आफ्ना छोराछोरीलाई देशमै केही गर्न प्रेरित गर्ने थिए होला। जनताको रगत पसिनाबाट संकलित राज्यको ढुकुटी लुटेर लाखौँ खर्चेर युरोप, अमेरिका, अष्ट्रेलिया लगायत सम्पन्न मुलुकमा भविष्य खोज्न पठाउने थिएनन् होला। हाल नेपालमा राजनीतिक नेतृत्वमा रहेका एकाध बाहेक अधिकांशका छोराछोरी सम्पन्न मुलुकहरुमा भविष्य खोजिरहेका छन्।

    स्मरण रहोस्, यही नेतृत्व हो, जो देशका सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने अग्रसरता होइन खाडीका मुलुकहरुमा खेदेर रेमिटेन्सको भरमा देश चलाउनमा गर्व महसुस गर्छ। यस्तो स्थितिमा एउटा पत्रकारले आफ्नो पीडा, असन्तोष अनि आक्रोश ब्यक्त गरेको आधारमा उसलाई देशको माया नभएको, देशको बेइज्जत गर्ने कपूतको संज्ञा दिन कुन नैतिकताले दिन्छ?

    छोटो आफ्नै सन्दर्भ जोड्न चाहेँ। म विदेशीएको करिब ३ वर्ष पुग्यो। नेपालमै सुन्दर भविष्य बनाउने अभिलाशामा पत्रकारिता र समाजशास्त्र गरी २ वटा विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरें। केही क्याम्पसहरुमा प्राध्यापनसँगै ठूलो संघर्ष पश्चात नेपालका स्थापित मानिने मिडियामा प्रमुख पदमा रहेर काम गर्ने अवसर पनि पाएँ। अरुका नजरमा म ठूलो, प्रतिष्ठित मानिस कहलिन्थेँ। नाम अनि दाम राम्रै कमाएको ठान्थे।

    तर महंगीले आक्रान्त काठमाडौंको ठाउँमा मेरो कमाईले केबल आफ्नो जीविकोपार्जन पनि कठिन हुन्थ्यो। त्यसमाथि समयमा पारिश्रमिक नपाउने समस्या। विश्वास गर्नुस्, विहान सबेरै उठेर रिपोर्टिङमा खटिएर लखतरान भएर राति अबेर कोठामा फर्किदा ग्यास किन्ने पैसा नभएर कयौँ रात भोकै सुतेको छु। कोठा भाडा समयमा तिर्न नसकेर कयौँपटक घरबेटीसँग भागेर हिँडेको छु।

    तर सधै त्यसैगरी चल्ने स्थिति थिएन म आफू मात्र पालिएर हुने थिएन। म पत्रकार मात्र थिइन। मेरो पनि परिवारप्रतिको दायित्व र जिम्मेवारीहरु थिए। यतिसम्म कि परिवारका कुनै सदस्य गम्भीर बिरामी परे उपचार खर्च जुटाउन, आफ्ना छोराछोरीलाई उचित शिक्षा—दिक्षा दिलाउन असमर्थ हुने अवस्था थियो। अरुलाई कर्तव्य, जिम्मेवारी अनि नैतिकताको पाठ सिकाउने म आफैँ गैरजिम्मेवार भएर लामो समय रहनसक्ने स्थिति बनेन र नचाहदा नचाहदै पनि विदेशिन बाध्य बनेँ।

    हामी त केवल प्रतिनिधि पात्र हौ। देश र समाजप्रतिको दायित्वबोध भनौँ वा पेशाप्रतिको नशा अनेकौँ समस्याका बाबजुद पनि करिब एक दशक बिताएर कुनै सम्भावना नदेखेर पत्रकारितामा पिएडि गर्ने सपना बोकी युरोप भासिएँ। आर्थिक पाटोबाट हेर्दा अहिले जीविकोपार्जन सहज भएपनि म विदेशको जीवनबाट सन्तुष्ट छैन।

    राज्यको चौथौ अंग पत्रकारितामा एक दशक विताएको मैले विदेशमा सुरुवाती ६ महिना रेष्टुरेन्टमा भाँडा माझेँ। घरमा आफूले खाएको एउटा थाल माझ्न अल्छी मान्ने म दिनहुँ आफु भन्दा अग्ला भाँडाका चाङ मस्काएर रातको एक दुई बजे घर फिर्दाको अनुभूति कस्तो हुँदो हो कल्पना गर्नुस्! शारीरिक थकान त विस्तारै समान्य लाग्न थाल्यो तर सानो गल्तीको आधारमा निकृष्ट शब्दहरुको प्रयोग गर्दै मालिकले गर्ने गालीले शारीरिक यातना भन्दा ठूलो पीडानुभुति हुनेरहेछ। आफ्नो इच्छा र चाहना अनि अध्ययनको विषय इतरको यो काम अनि आफ्नो विगत सम्झेर कयौँ पटक एकान्तमा धुरुधुरु रोएको छु।

    पत्रकारहरु नारायण श्रेष्ठ, प्रेम बानियाँ, किरण मरहठ्ठाहरु त्यसै बाहिरिएका होइनन्। त्यसो त दिक्पालदेव पंगेनी, अजित देवकोटा, विष्णु पौडेल, बासुदेव मरहठ्ठा, हिम विष्ट, अनिल थापा, कमल पराजुली लगायत दर्जनौँ पत्रकार अहिले विदेशमै संघर्ष गरिरहेका छन्।

    धेरैले भन्थे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि त्यहाँको धुलो, धुँवा, ट्राफिक जाम र अस्तव्यस्तताले किन आएछु भन्ने हुनेछ। विदेशिएकालाई देशको माया छैन भन्नेहरुलाई के थाहा दुई वर्षमा पहिलो पटक नेपाली भूमिमा पाइला टेक्ने वित्तिकै जमिनमा घुँडा टेकेर धुरुधुरु रोएको छु। सायद त्यही होला मातृभूमिको माया। त्यसैले मेरो अनुरोध, कृपया पत्रकार विदेशिएकै विषयलाई लिएर उसमाथि बिभिन्न आरोप लगाउने काम बन्द गरौँ। देशप्रतिको माया या राष्ट्रियताको भावना, देशमा रहँदा भन्दा परदेशमा पुगेपछि झनै प्रगाढ हुने रहेछ।

दिनेश पोखरेल

नेपालमा लामो समय पत्रकारिता गरेका पोखरेल हाल युरोपमा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]