|

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ।

२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए।

त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले आलमलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो। आयोगको प्रतिवेदन बुझेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आलमलाई राज्यमन्त्रीबाट हटाएका थिए।

त्यसबेला उनी राज्यमन्त्री पदबाट मात्र हटे, घटनामा संलग्न भएबापत् उनीमाथि थप कारबाहीको प्रक्रिया भने अघि बढेन । आयोगले दिएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेन । त्यस्तै घटनाबाट उन्मुक्ति पाउँदै आएका आलमले २०६४ सालको चुनावअघि अर्को झन् ठूलो ‘अपराध’ गरे।

२० वर्षअघिको त्यो घटना

२०५६ चैत १७ गते। रौतहटको जिल्ला विकास समितिमा आएको, तत्कालीन वनराज्यमन्त्री आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे।

त्यसका लागि उनीहरूले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त सरकारी गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतबाट प्राप्त जाँचबुझ प्रतिवेदनको ठहर छ, ‘सरकारी गाडी र सवारीचालक नै प्रयोग गरेर अपहरण गरेको देखिन्छ।’ जाँचबुझ आयोगले औंल्याएका तथ्य प्रमाणका रूपमा ग्रहण गर्न मिल्ने भनी सर्वोच्च अदालतबाट नजिर बनेको छ।

एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ। व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ।

कौशलले घटना विवरणसहित त्यही दिन बेलुकी प्रहरीमा उजुरी दिन्छन्, जसमा आलमका मान्छेहरूले जबर्जस्ती कागज गराएको व्यहोरा उल्लेख छ अनि त्यही दिन उनको शरीर परीक्षण र घाउ जाँचसमेत हुन्छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

घटनालगत्तै तत्कालीन विपक्षी दल एमालेका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका थिए । तीन दिन संसद् नै अवरुद्ध भएपछि विपक्षी दलको समेत सल्लाहमा सरकारले पराजुलीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्‍यो।

‘वन तथा भूसंरक्षण राज्यमन्त्री मोहम्मद आफताव आलमको रौटहटस्थित घरमा भएको आगलागी र लुटपिट तथा जिविस रौतहटका सदस्य जयप्रकाश कौशलको अपहरणसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोग’ नाम दिइएको उक्त आयोगले घटनामा वनराज्यमन्त्री संलग्न रहेको प्रतिवेदन दियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले आलमलाई पदबाट हटाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.