|

डडेल्धुरा : जिल्लाको अजयमेरु गाउँपालिका १ पाली गाउँका शेरबहादुर दमाई, जो विगत २० वर्षदेखि आफ्नौ गाउँमा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्। शुरुवातदेखि बालीघरे प्रथामा सिलाइको काम गर्दै आइरहेका शेरबहादुर विगत पाँच वर्षदेखि नगद ज्यालामा काम गरिरहेका छन्।

‘विगतमा ६ महिनामा २० किलो जति धान। मकै पाउँथ्यौं। आजभोलि एक महिनामा सातदेखि नौ हजारसम्म कमाउँछु’ उनले भने, ‘अहिले बल्ल सीप सिकेको जस्तो हुँदै गएको छ।’ 

शेरबहादुर मात्र होइन जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ४ खलंगाका ५६ वर्षीय रामबहादुर दमाइको पनि दैनिकी केही वर्षयता फेरिएको छ। चुहिने जस्ताको पातावाला घरकोमुनि दिनभर काम गरी साँझ लुगा कपडा रिथी (गैरदलित वा कपडा सिलाउने) हरूको घर लग्ने गर्थें। 

करिव १५ वर्षदेखि सिलाइ व्यवसाय गर्दै आइरहेका रामबहादुरले पछिल्ला ५ वर्षयता व्यवसायलाई नयाँ सिराबाट अगाडि बढाएका छन्। १५ वर्षको अवधिमा १० वर्षसम्म बालीघरे प्रथामै सिलाइको काम गरेका दमाई पछिल्लो पाँच वर्षदेखि भने ज्यालामा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्। 

कसैको घरमा गरेर दुई हात जोडनु परेको छैन

‘१० वर्षसम्म कपडा सिलाएँ। महिनामा १५/२० किलो मकैको लागि सबैका रिथीका आँगन–आँगनमा गएर मागेर खाए ‘खालो’। छोरा–छोरा पढाउन सकिँदैन थियो। अहिले नगद पैसा लिएर काम गर्छु। हजुर राम्रो भा' छ’ विगत सुनाउँदै रामबहादुरले भने,‘अहिले कसैको घरमा गरेर दुई हात जोडनु परेको छैन। छोरा छोरीलाई पनि विद्यालय बढाउने बल आयो।’

यी मात्रै नभइ डडेल्धुराको जिल्ला सदरमुकामदेखि ग्रामीण क्षेत्रमा पनि सिलाइको काम गर्नेहरू बालीघरे प्रथा छोडेर नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्।सामाजिक परिर्वतनका साथै ग्रामीण क्षेत्रमा अन्नवालीको उत्पादनमा कमी आएकाले कपडा सिलाउनेले पनि नगद रुपैयाँ दिन चाहेकाले डडेल्धुराबाट बालीघरे प्रथा हट्दै गएको व्यवसाय प्रकाश जैरुको बुझाइ छ। उनले भने, ‘समाज रातदिन परिर्वतन भइरहेको छ। हामी व्यवसायी बन्न पनि समयको माग हो।’ 

सिलाइको मात्रै नभइ आरनको काम गर्नेहरू पनि आजभोलि नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्। बालीघरे प्रथमा काम गर्दा अन्नवाली पाकुञ्जेलसम्म दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारिश्रमिकवापत बालीघरे प्रथा मै चित्त बुझाउनु परिररहेका थियो। सिलाइ तथा कृषि औजार (कोटो कोदालो, हँसिया) को काम गरेवाफत एक वर्षमा दुई पटक अन्नबाली लिने गरेका थिए। 

बालीघरे प्रथाको साटो नगद रुपैयाँ लिएर सिलाइ एवं आरन पेशा गर्दा आफूहरूको जीवनस्तरमा सुधार आउनुका साथै दासत्वको जीवनबाट मुक्त भएको डडेल्धुराको सदमुकाम अमरगढी ५ मा आरन व्यवसाय गर्दै आएका अजयमेरु गाउँपालिका २ का नारायण टमटाको भनाइ छ।

‘परम्परागत सोचबाट हामी केही हदसम्म टाढा पुगेका छौं' उनले सुनाए। अहिले अधिकांश दलित समुदायका नागरिक ज्यालादारी रुपमा कृषि सामग्री तथा त्रिशुललगायतका अन्य ऐतिहासिक कलात्मक मूर्तिबाट राम्रै आम्दानी गरी रहेका छन्।

सीप अर्को पीडामा हस्तान्त‍रण नहुने चिन्ता

यो पेशामा युवापिँढीले भने चासो नदिएको अधिकांशको भनाइ छ। यो सीप अर्को पिँढीमा हस्तातरण नहुने हो भने सीप नै हराउने डर कायम छ। सदरमुकाम मै आरन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी उदयसिंह लुहारले जीवन धान्नका लागि आरन व्यवसाय निकै महत्वपूर्ण भएको बताए।

‘७० वर्षको उमेर भइसक्यो। विगत २५ वर्षदेखि आरन पेसा गर्दै आएको छु’ उनले भने, ‘फलामबाट विभिन्न वस्तु निर्माण गर्न नेपाली युवा पिँढीले सिक्न नसक्दा आरन व्यवसाय दिनप्रतिदिन धरासायी बन्दै छ।’

जिल्ला सदरमुकाम क्षेत्रमा अहिले ज्यालामा कृषिमा उपयोगी सामग्रीका धार साध्ने लगायतका विभिन्न खाले मूर्ति बनाउने आरन पेशामा ४/५ व्यवसायी संलग्न छन्। पहिले सदुरपश्चिमका विभिन्न ग्रामीण क्षेत्रमा रहेका आरन व्यवसाय बालीघरे प्रथाबाट जीविकोपार्जन गर्ने गरेका थिए। जसमा अन्न भित्र्याउने बेला, नयाँ वर्ष र चाडवाडका समयमा गरी बढीमा ३ पटक अन्न संकलन गरी घर-परिवारको दैनिकी चलाउने प्रचलन थियो।

अहिले यो पेशा दलित परिवारमा मात्र सीमित रहेन व्यवसायीरुप लिएपछि गैरदलितले पनि सिलाइ-कटाइ तथा फलामका भाँडाकुँडा बनाउन समेत सिकेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केशव भण्डारीले बताए। 

‘यो पेशा बाली घरेबाट व्यवसायी रुप लिन हाम्रो कार्यालयबाट दिइने विभिन्न समयका सिलाइ-कटाइ तालिम, व्यवसायी बन्नुपर्छ भने जनचेतनाले अहिले यो पेशा दलित समुदायमा मात्र रहेन्’ प्रमुख भण्डारीले भने, ‘समाजमा रहेका कुप्रथालाई निरुत्साहित गर्नका लागि विभिन्न जनचेतना मुलुक काम विभिन्न संघ संस्थाले गर्दै आइरहेकाले पनि बालीघरे प्रथा हट्दै जानुमा महत्वपूर्ण भूमिका खेलेको छ।’

यन्त्र उपकरण खरिद गर्ने नसकेर उनी व्यवसायी बन्न समय लागेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए। ‘दर्ता गरेर व्यवसाय गर्ने कम भएपनि ज्याला लिएर काम गर्ने बढेका छन्। उनले भने, ‘एक पटक छिमेकी मुलुक भारतमा केही आम्दानी गरे भए पनि उपकारण खरिद गरेका छन्। यन्त्र उपकारण वा मेशिनले बालीघरे प्रथा हटाउन सजिलो भएको हो।’

के हो बालीघरे प्रथा?

काम गरेवापत दलित समुदायले ज्यालाका रुपमा नगद नभइ बाली लिने चल्नलाई बालीघरे प्रथा भनिन्छ। वर्षको दुईपटक बाली रोप्नेदेखि भित्र्याउने र हिउँदेबाली लगाउनदेखि भित्र्याउने सम्मकाम गरेर लगाएको अन्नबाली एक दुई ‘सुपा’ पाउने गरेका थिए दलित समुदायले। 

सदियौंदेखि समाजमा कुसंस्कारका रुपमा रहेको बालीघरे प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हट्दै गइरहेको छ। मानिसमा जनचेतनाको विकास हुनुका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा पनि कमी आउन थालेपछि डडेल्धुरामा बाली प्रथा हट्दै गएको हो।

बालीघरे प्रथा हट्न थालेपछि लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर काम गरिरहेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.