|

बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना बनाएमात्र दीर्घकालीन प्रभाव पार्ने बताएका छन्। खजुरा गाउँपालिकाको बृहद खजुरा सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनताको भावना नबुझेर योजना बनाइए जनता एकातिर योजना अर्कोतिर हुने धारणा राखे।

उनले हरेक ठाउँको विशेषता र पहिचान फरक हुने भएकोले सम्बन्धित ठाउँको पहिचान बनाउन त्यस ठाउँको विशेषता चिन्न सक्नुपर्ने बताए। खजुराको फरक पहिचान र विशेषता के भन्ने सम्मेलनले खोज्नुपर्ने उनको भनाई छ । 'खजुरालाई चिनाउन यसको विशेषता पहिचान गर्न अनिवार्य छ,’ उनले भने।

सम्बन्धित ठाउँको विकास त्यस ठाउँका जनताले मात्र गर्न सक्ने धारणा राख्दै मुख्यमन्त्री पोख्रेलले विकासमा सक्रिय भूमिका निभाउन सुझाव दिए। उनले भने, 'राज्यले बाटो देखाउने र योजना सम्पन्न गर्न बजेट विनियोजन गरिदिने हो। योजना कार्यान्वयन र सफल बनाउने दायित्व स्थानीयको हो।

उनले दीर्घकालीन प्रभाव पार्ने विकासका योजना बनाउन उनको सुझाव थियो। उद्यमले मात्र समाज र व्यक्ति अगाडि बढ्न सक्ने जिकिर गर्दै उनले शिक्षा, उद्योग, कृषि जस्ता योजना बनाउँदा त्यसको क्षेत्र र स्थानीयको मागलाई मध्यनजर गर्न सुझाव दिए । '५० वर्ष पछिसम्म प्रभाव पार्नेगरि योजना बनाउँदा दीर्घकालीन हुन्छ र लगानीले प्रतिफल पाउन सक्छ,’ मुख्यमन्त्री पोखरेलले भने।

सम्मेलन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, प्रदेश-५ का सभा सदस्य बाबुराम गौतम, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा लगायतले सम्मेलन सफलताको शुभकामना दिए। सम्मेलन विहीवार सकिने खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.