सरकारको साथ पाउने सुस्ताबासीको आशा

|

नवलपरासी : सधैँ आश्वासन दिएर समस्या बुझ्न नआउने नेताहरुका कारण सुस्ताबासी निराश थिए । मंगलबार भने त्यहाँ फरक माहोल थियो, सुस्ताबासी पनि खुसी थिए।

उनीहरु नारायणी किनारमा हातमा फूलमाला लिएर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पर्खिरहेका थिए। नारायणीमा डुङ्गा चढेर मन्त्री पुनसहितको टोली सुस्ता भूमिमा पाइला टेक्दा सुस्ताबासीले दिल खोलेर स्वागत गरे। मन्त्रीलाई माला लगाइदिँदै सुस्ता बचाऊ अभियानकी लैला बेगमले भनिन्, 'यसपाली चाहिँ मन्त्रीज्यूले ढाँट्नुभएन, साँच्चिकै आउनुभयो, हामी निकै खुसी छौँ।'

मन्त्री पुनलाई सुस्ताका महिलाहरुले गीत गाएर स्वागत गरिरहेका थिए। ऊर्जामन्त्री पुन भेटघाटका लागि मात्रै नभइ पहिलो पटक सुस्तामा नेपाल सरकारको बृहत् योजनाको शिलान्यास गर्न पुगेका थिए। अध्याँरोमा बस्‍न बाध्य सुस्ताबासीको अनुहारमा खुसी दिनेगरी पुनले सुस्ता सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास गरेपछि उनीहरुले सरकारको उपस्थितिको महसुस गरे।

सौर्य मिनिग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ छ। जसमा वैकल्पिक सौर्य ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड ८८ लाख ५५ हजार ३ सय ६१, संघीय मामिला मन्त्रालयको तराई-मधेस समृद्धि कार्यक्रम अन्तर्गत एक करोड ७५ लाख र गाउँपालिकाको १७ लाख ३६ हजार ९ सय ७ रुपैयाँ लगानी छ। 

सौर्य मिनिग्रिड निर्माणको जिम्मा टपसन इनर्जी प्रालिले पाएको छ। कम्पनीले २०७७ असार ४ गते भित्र काम सक्नुपर्ने शर्त छ।

ग्रिड निर्माण भएपछि एक सय किलोवाट विद्युत उत्पादन हुनेछ। जसले २ सय ६६ घरधुरीलाई पुग्ने छ। ग्रिड निर्माणका लागि मंगलबार नै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सुस्ता गाउँपालिका र निर्माण कम्पनीबीच मन्त्री पुनको रोहवरमा सम्झौतामा भएको छ।

आयोजनामार्फत उत्पादित बिजुलीले विद्युत प्राधिकरणबाट वितरित विजुली जस्तै सबै काम गर्न सकिने सौर्य ऊर्जाविज्ञ खेमराज भण्डारीले बताए। राष्ट्रिय प्रशारणको विद्युत पुग्दा पनि सौर्य ऊर्जामा जडान गरी वितरण गर्न सकिने छ।

शिलान्यासपछि बोल्दै मन्त्री पुनले अब सुस्ताबासीहरु ढुक्क भएर निदाउन सक्ने बताए। उनले सुस्तामा सिँचाइको पनि समस्या रहेको आफूले सुस्तामै आएर थाहा पाएको भन्दै नागरिकलाई कृषिमार्फत् समृद्ध बनाउन सोलारबाटै चल्ने गरी बोरिङ्गको तत्काल ब्यवस्था गर्ने आश्वासन दिएका थिए।  

मन्त्री पुनले बिजुलीका लागि अब व्यवस्था भइसकेको बताउँदै सिँचाइ, शिक्षा, नागकिता, सडक पूर्वाधार लगात पनि छिट्टै सरकारले व्यवस्था गर्ने बताए।

नारायणी नदी नियन्त्रणका लागि सरकारले तत्कालै बाँकी तटबन्ध निर्माण गर्ने बताउँदै उनले डुबानको समस्या अब नहुने आश्वासन दिए। सुस्ताबासी ढुक्कसँग निदाउन सक्ने गरि व्यवस्था गरिने प्रतिवद्धता उनले जनाए।

सुस्तामा देखिएको नागरिकता र घरबासको समस्यालाई छिट्टै सम्बोधन गरिने मन्त्री पुनको भनाइ छ। विगतमा नागरिकता टोली आउँदा छुटेको नागरिकता वितरण छिट्टै थालिने जानकारी दिँदै उनले सीमारक्षकहरु नागरिकताविहीन हुने अवस्था नरहने बताए।

यहाँको समस्याबारे आगामी मन्त्रिपरिषदको बैठकमा छलफल गर्दै प्रधानमन्त्रीसँग आफूले सुस्ताको समस्याबारे  रिर्पोटिङ्ग गर्ने बताउँदा सुस्ताबासीले खुसीले ताली बजाएका थिए ।

पहिलोपटक बाहालबाला मन्त्री सुस्ताभूमिमा आएर योजना शिलन्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारीले अब सुस्ता विकासको बाटोमा अगाडि बढेको बताएका थिए ।

सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफूले सुस्तालाई गाँउपालिकाका हरेक विकासका कार्यक्रमसँग प्रत्यक्ष जोड्न खोजेको बताए । सुस्तामा विद्युतीकरणको सुरुवातले विकासको सुरुवात भएको भन्दै अब हरेक कुरामा आफूले विशेष पहल गरेर सुस्तालाई समृद्ध  बनाउने उनले उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.