|

झापा : जिल्लाको अर्जुनधारा नगरपालिका ७ र ८ मा रहेको शनिश्चरे खुदुनाबारी सडकको शनिश्चरे-नारायणचोक खण्डकमा  स्थानीयले अनिश्चतकालीन यातायात बन्द गरेका छन्। ठेकदार कम्पनीले समयमा सडक निर्माणको काम नगरको भन्दै स्थानीयले यातायातका साधन अनिश्चितकालका लागि रुपमा चल्न नदिने भन्दै सडक बन्द गरेका हुन्।

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडकमा गुडेका यातायातका साधनले फाल्ने धुँवा र उडेको धुलोका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले सडकमा यातायातका साधन चल्न दिएका छैनन्।

विर्तामोडबाट शनिश्चरे बजार हुँदै खुदुनावारी इलाम जाने मुख्य बाटोमा पिच भत्काइ धुँलाको कारण सडक आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वस्थ्यमा समस्या आएको हुँदा स्थानीयले बाटो बन्द गर्न बाध्य भएको स्थानीय युवा सुरेश गिरीले बताए। जबसम्म स्थानीय सरकारले बाटो पिच गर्न ठेकेदार कम्पनीलाई सडकमा ल्याउन सक्दैन तबसम्म बाटो बन्द गरिने उनको भनाइ छ।

सडकमा पुरानो कालो पत्रे भत्काएपछि पछिल्लो समय धुलोका कारण घर तथा बाली नालीमा समेत असर परेको छ।

जिल्ला प्रविधिक कार्यालय झापाले २०७५ मा टेण्डर आव्हान गरी ठेक्का लगाएको यो सडक खण्ड ठेक्का लागेको १५ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले सडक भत्काउने भन्दा अरु केही काम नगरेको स्थानीयको आरोप छ।

पूर्वाधार विकास कार्यालय झापाका कार्यालय प्रमुख रमेश श्रेष्ठले ८ करोड ९६ लाखमा लामा कन्ट्रक्सनले १५ महिना अघि ठेक्का लिएको यो सडक खण्डमा केही काम भएको भए पनि चाडबाडको कारण देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको बताए। उनले तिहारपछि जुनसुकै हालतमा ठेकेदार कम्पनीलाई सडक निर्माणको काममा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

समय मै काम सक्नेः ठेकेदार कम्पनी

शनिश्चरे खुदुनाबारी सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीले बताएको छ। लामा कन्ट्रक्सनले निर्माण गर्दै गरेको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गlरने ठेकेदार कम्पनीका प्रमुख फुर्तेम्वा लामाले बताएका हुन्। समयमा काम नभएको भन्दै सडकमा स्थानीयले सवारी साधन चल्न नदिएपछि उनले यस्तो बताएका  हुन्।

आफूले सुरुमा जिल्ला प्रविधिक कार्यालयमार्फत ठेक्का पारेको भए पनि पुनःसंरचनाको कारण केही महिना काममा बाधा भएको र निर्माण सामग्री अभाव कारण समयमा काम गर्न नसकेको उनको भनाई छ।

कम्पनीले हालसम्म सडकको किनारामा नाला खन्ने र अन्य काम सकिएको बताएको छ। हालसम्म शनिश्चरे-खुदुनावारी सडक खण्डमा कालोपत्रेकालागि ३५ प्रतिशत निर्माण सम्पन्न गरिसकेको छ। लामाले आगामी कातिक २० गतेदेखि सडक निर्माणको काम संचालन गर्ने बताएका छन्।

पन्छिए जनप्रतिनिधि

स्थानीय तहलाई सडक कालोपत्रे गर्नका पहल गर्नका लागि दवाब दिन भनेर बिहीबार विहान ४ वजेदेखि शनिश्चरे-खुदुनावारी सडक  स्थानीयले अवरुद्ध गरेपछि स्थानीय तहका जनप्रतिनिधि पन्छिएका छन्। जनताले आफ्नो घर अगाडि भएको सडक कालोपत्रेको लागि पहल गर्नलाई दवावस्वरुप सडक बन्द गरेपछि ठेकेदार कम्पनीलाई देखाउदै उनीहरू पन्छिएका हुन्।

वडा नं. ७ र ८ मा रहेको बन्द सडक खुलाउनका लागि के गर्नु भएका छ भन्ने प्रश्नमा अर्जुनधारा नगरपालिका ८ का वडा अध्यक्ष गोपिचन्द्र गौतमले यो विषयमा आफूलाई केही थाहा नभएको बताए। त्यस्तै गरी वडा नं. ७ का वडा अध्यक्ष नवराम ढुंगानाले आफूहरूले सवारी साधन चलाउनका लागि पहल गरे पनि सडक निर्माण कै लागि केही गर्न  नसकिने बताए। उनले ठकेदार कम्पनीलाई छिटो काम गर्नकालागि अनुरोध गर्न भन्दा अरु केही गर्न नसक्ने बताए।

यस विषयमा अर्जुनधारा नगरपालिका नगरप्रमुख हरिकुमार रानामगरले पूर्वाधार विकास कार्यालयअन्तर्गतको ठेक्का भएका कारण आफूले सडक निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गरेको बताए। तर आफूले भने यो सडकको विषयमा केही गर्न नसक्ने उनको भनाई छ।

झापाको विर्तामोड-शनिश्चरे-खुदुनाबारी सडकमा कालोपत्रे  नभएपछि सडक आसपासमा भएका स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ। सडकका धुलोका कारण आफूहरू समस्यामा परेका कारण बाटोमा यातयातका साधन चल्नका लागि बन्द गर्नु पर्ने अवस्था भएको स्थानीय मुना निरौलाले बताइन्। यदि समयमा सडकको काम हुँदैन भने अनिश्चितकालीन रुपमा सडक बन्द गर्ने स्थानीयको चेतावनी रहेको छ।

गत असोज २३ गते बिर्तामोड शनिश्चरे सडकखण्डमा समेत स्थानीयले धुलो र धुँवाधुलोका कारण आफ्नो स्वास्थ्यमा असर गर्नुका साथै खेतीपाती र घरको रुप समेत अर्कै भएको भन्दै सडक अवरुद्ध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.