राप्रपाको चियापान

|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राष्ट्रहरुमा विभाजित नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको भूमिका नबिर्सेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तिको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको एकीकरण गर्ने पृथ्वीनारायणको भूमिकालाई सरकारले नबिर्सेको जिकिर गरे।

'राज्यहरुको एकीकरण गर्ने पृथ्वीनारायणको भूमिका हामीले बिर्सेका छैनौँ', प्रधानमन्त्रीले भने।

सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक बिदा नदिएको भन्दै सार्वजनिक आलोचना भैरहेका बेला प्रधानमन्त्रीले नेपालको इतिहासको राम्रो अध्ययन गरेर केमा बिदा दिने र केमा नदिने निर्णय गरिने बताए।

बुधबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाहरुको पुनरावलोकन गर्ने निर्णय गरेको थियो। 'सार्वजनिक बिदाका बारेमा राज्यको स्पष्ट नीति, नियम र मान्यता बन्न सकेको छैन', प्रधानमन्त्रीले भने, 'मैले बिदा पुनरावलोकन गर्ने प्रस्ताव क्याबिनेटमा पेश गरेको छु। बदलिएको सन्दर्भमा केमा बिदा दिने र केमा नदिने एकचोटी पनरावलोकन गरिन्छ।' नेपालको इतिहासको राम्रो अध्ययन गरेर सबैको भावना समेटेर समुचित प्रतिवेदन आउने अपेक्षा आफूले गरेको प्रधानमन्त्रीले सुनाए।

पृथ्वी जयन्तिका अवसरमा हरेक वर्ष कार्यक्रम गरेकोमा उनले राप्रपालाई धन्यवाद दिए। 'हरेक वर्ष राप्रपाले कार्यक्रम गरेको छ। यसले राजनीतिक मूल्य स्थापित गरेको छ', प्रधानमन्त्रीले भने।  

पृथ्वीनारायण नायकः ओली

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक भएको बताए।

'उनी नेपाल एकीकरणका नायक हुन्', ओलीले भने, 'आफ्नो स्वार्थअनुकूल नभइ स्वतन्त्र हिसाबले बुझेमात्र नेपालको पुनर्एकीकरण हुन्छ।'

अघिल्लो वर्ष माओवादीको व्यवधानका कारण सरकारले पृथ्वी जयन्तिमा बिदा दिन नसकेको ओलीले आरोप लगाए।

चियापना कार्यक्रममा करिब २० मिनेट बसेका ओली बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड आइपुगेका थिए। प्रधानमन्त्री पनि करिब १५ मिनेट चियापान कार्यक्रममा बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.