सत्ता र शक्तिका आडमा डोजर चलाएको कांग्रेसको आरोप

|

बैतडी : सडक निर्माणका क्रममा डोजरले महिलामाथि हमला गरेको बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकको घटनामा थप तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो। 

जिल्ला अदालत बैतडीबाट बिहीबार सातदिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धानका जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। उनीहरूलाई लागेको आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। यसअघि डोजर चालक किशोर बोहरालाई मंगलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।

ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको थियो। डोजरले हुत्याउँदा घाइते भएकी गौरी बाँकेको कोहलपुरमा उपचारमा पछि घर फर्किएकी छन्। 

चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबरजस्ती गर्दा घटना भएको जमिनवाला पक्षले आरोप लगाएको छ। तर निर्माण पक्षले भने जमीनवाला पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ। दुई पक्षबीच झडप हुँदा गौरीसहित ८ जना घाइते भएका थिए। 

घटनाको सत्यतथ्य सार्वजनिक गर्नको लागि जिल्ला प्रसासन कार्यालयले छानबिन टोली समेत गठन गरेको थियो। मंगलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ। समितिले बुधबार स्थलगत अध्ययन समेत गरेको थियो।    

सत्ता र शक्तिका आडमा डोजर काण्ड : कांग्रेस

बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ। कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको दाबी गरेको छ। 

डोजर मालिक आफैँले दबाबमा परेर डोजर चलाउन बाध्य भएको बताएकाले यसबाट उनलाई सत्ताकै मान्छेहरूले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए। उनले भने, 'डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरूको संलग्नता रहेको छ।' ‍ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसले आरोप लगाएको छ।

संयोजक थापाले जमीनवाला मान्छे असोज २७ गते प्रशासनमा आएर 'हाम्रो गाउँमा समस्या छ, मिलाई दिनु' भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाई छ। सडक निर्माणका लागि कुनै बजेट र योजनाबिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको कांग्रेसको छानबिन टोलीले बताएको छ।

यो घटनामा सडक निर्माण पक्षले जबरजस्ती गर्न खोजेको संयोजक थापाले बताए। दुवै पक्षबीच सहमति नभइकन डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ उनले भने, 'स्थलगत रिपोर्टिङ गरेपछि अब स्थानीय प्रशासन, राजनीतिक दल र अन्य सरोकारवालासँग बसेर प्रतिवेदन बनाइने छ।'  

ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि कांग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी संकलन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.