|

  • भबिश्वर पाण्डे

नवलपरासी : हिउँदमा पानी नपर्दा गहुँ बाली राम्रो नहुने भयो भनेर चिन्तित बनेका किसानलाई फौजी किराले गहुँबालीमा आक्रमण गरेपछि थप चिन्तामा पारेको छ।

गहुँ उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गहुँ बालीमा फौजी किराले गहुँका काट्न थालेपछि किसान चिन्तित बनेका हुन्।

'आर्मी वर्म' नामक फौजी किराले विशेष गरि रातिको समयमा गहुँ बाली काटेर नोक्सान पुर्‍याउने गरेको छ। करिब १ देखि २ सेन्टिमिटर लामो फौजी किराले पात काट्ने गरेको छ।

सिचाँइको सुविधा नभएकोले गहुँ बालीका लागि आकाशे पानीको आशमा रहेका किसानलाई फौजी किराको आक्रमणले झन् समस्यामा पारेको छ। बिउ छरेको २० दिनमा सिचाँई गहुँबाली सिचाँई गर्नुपर्ने हुन्छ।

गहुँमा युरीया मल छरिसकेपछि बाली बढ्ने समय रहेको तर यसै बेला किराले पात काट्न थालेको किसानहरुको दुखेसो छ।

नवलपरासीको सदरमुकाम आसपासका क्षेत्रमा समस्या बढि रहेपनि अन्य क्षेत्र पनि यो समस्यावाट अछुतो छैन। फौजी किराले पात काट्न थालेपछि किसान खेतमै फर्किएर जान मन नभएको बताउछन्। यस्तो समस्या आए पछि अहिलेको बर्ष गहुँ उत्पानमा आउने हसले गर्दा खाधान्न अभाव हुने हो कि भन्ने चिन्तामा छन् किसान।

जिल्लाका अधिकांश खेतमा यो समस्या देखिएपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेज नरायण गैरेको नेतृत्व स्थलगत अनुगमन समेत गरिएको छ।

कृषि विकास कार्यालय नवलपरासीको तथ्यांक अनुसार जिल्लाका १८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गँहु खेति गरिएको छ।

गत वर्ष ३५ हजार ९२ मेट्रिक टन गँहु उत्पादन भएको थियो भने यो वर्ष सुरुवाती चरणमा गँहु राम्रो भएकाले उत्पादनमा २० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ। तर, फौजी किराले एक हप्तादेखि गँहु बाली काट्न थालेपछि उत्पादनमा ह्रास आउने बताउन थालिएको छ।

फौजी किरा नियन्त्रणका उपाय

फौजी किरा नियन्त्रणका लागि साइपरमेथ्रिन ५ प्रतिशत र क्लोरोपाइरिफस ५० प्रतिशत झोल विषादी दुई एम. एल. पानीको दरले बेलुकीको समयमा खेतमा छर्नाले सो किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.