|

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसका जिल्लाहरूमा पार्टी कार्यालय खोल्न थालेका छन्। बिहीबार जनकपुरस्थित रामानन्द चोकमा जिल्ला पार्टी कार्यालयको उद्घाटन डा. राउतले गरे।

रामानन्द चौकस्थित आर्या कलेज प्रालि परिसरमै राउतले पार्टी कार्यालय संचालनमा ल्याएका हुन्। कलेजले राउतलाई दुइटा कोठा कार्यालयका लागि उपलब्ध गराएको उक्त पार्टीका एक नेताले बताए। राउतले बुधबार सिरहा सदरमुकाममा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए।

एक महिनाभित्रै मधेसका सबै जिल्लामा पार्टी कार्यालय संचालनमा ल्याउने जनतमत पार्टीका नेताहरूले बताएका छन्। सरकारसँग ११ बुँदै सम्झौता गरेर मूलधारको राजनीतिकमा आएदेखि डा. राउत कुनै गतिविधि गरेका छैनन्। तर, पछिल्लो समय फेरि उनको सक्रियता बढेको छ।

उद्घाटन समारोपछि राउतले केही व्यक्तिलाई पार्टीको सदस्यतासमेत बाँडे। उनले पार्टी निर्वाचन आयोगमा दर्ता भएको र अब सशक्त रूपमा संगठन निर्माणमा जुट्नुपर्ने बताए। ‘जनमत पार्टीले जनताको मत लिएर अगाडि बढ्छ' उनले भने, 'चुनाव चिन्ह स्पिकर पाएका छौँ। यो पनि राम्रै हो। जनताको आवाज बोल्छ।’

लोकप्रियता घट्यो

सरकारसँग सम्झौता गरी स्वतन्त्र मधेसको मुद्दा छाडेपछि राउतको लोकप्रियता मधेसमा घटेको छ। विगतमा राउतको कार्यक्रम भइरहेको थाहा पाउने बित्तिकै मधेसी जनता उर्लिन्थ्यो। तर, अब कार्यक्रममा मधेसी जनता मात्र नभएर सक्रिय सदस्यहरू नै आउन छाडेका छन्।

बिहीबार जनकपुरमा पार्टी कार्यालय उद्घाटन गर्दा राउतलाई आफ्नै समर्थकहरू समेत छाडेको महसुस भयो। बिहान ११ बजेका लागि उद्घाटन कार्यक्रम तय भएको थियो। तर, समर्थकसमेत नआएपछि दिउँसो करिब अढाई बजे राउत कार्यक्रम स्थल पुगेर कार्यालयको उद्घाटन गरे। राउतले सरकारसमक्ष झुकेर स्वतन्त्र मधेसको एजेण्डा त्यागेकै कारण उनको लोकप्रियता घटेको केही कार्यकर्ताले बताए।

पार्टीको केन्द्रीय कमिटीदेखि लिएर तल्लो तहका कार्यकर्ता राउतले सरकारसँग गरेको सम्झौताबाट रुष्ट भएको एक नेताले सुनाए। अध्यक्ष राउतलाई ठूलो धक्का लागेको भन्दै अहिले पार्टीको गतिविधि पनि शून्य हुनुको कारण पनि सरकारसँगको सम्झौता नै भएको उनले तर्क गरे।

उनले स्वयं भने, ‘धेरैले छाडिसके। फेसबुकमा राउतको हरेक गतिविधि अपडेट गर्ने र प्रहरी प्रशासनलाई फिरंगी लेख्नेहरू अहिले डा. राउत नै फिरंगी बनेको कुरा लेख्न थालेका छन्।’

'राउतको गतिविधिले आफू पनि सन्तुष्ट नरहेको तर पनि कहाँ जाउँ भनेर अहिले यतै छु' ती नेताले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.