|

काठमाडौं : अश्लील शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म दुरुपयोग गरेको अभियोगमा भिटेन उर्फ समीर घिसिङ लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

उनी 'हामी यस्तै त हो नी ब्रो' बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेको भन्दै प्रहरीले पक्राउ गरेको छ।

उनको पक्राउपश्चात् सामाजिक सञ्‍जालमा उनको पक्ष र विपक्षमा तर्क वितर्क भइरहेको छ। एकातिर र्‍याप भजन जस्तो नभएको भन्दै भिटेनलाई प्रहरीले समात्नुको कुनै औचित्य नभएको बताएका छन्। यस्तै अर्काथरीले फेरि सामाजिक संस्कारमाथि आँच आएको भन्दै भिटेनलाई कारबाहीको माग गरिरहेका छन्।

केही दिनअघि मात्र गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको थियो। थापाले तिहार विशेष गीतमा सामाजिक संस्‍कार मर्यादाविपरीत शब्द हालेको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो। 

के छ उनको गीतमा?

'थरीथरी चुरोट खान्छु थरीथरी रक्सी

थरीथरी खैरे भेट्छु अन्तर्राष्ट्रिय हप्सी

पुलिसचौकीभित्र गर्छु दारु खाँदै मस्ती

करोडौंको लोन दिएँ सारुखानलाई अस्ति

यत्तिकैमा समाउन आयो हवल्दार

बाल छैन अहिले बाल छैन मलाई खास

चौकी छिर्दा डिएसपीलाई दिएँ अटोग्राफ

त्यस्ता डण्ठेहरूसँग आयो हर्टट्याक'

प्रहरीको पोसाकको दुरुपयोग गर्नु गैरकानुनी मानिन्छ। भिटेनले प्रहरी पोसाकको पनि दुरुपयोग गरेको प्रहरीले जनाएको छ। भिटेनले महिलामाथि पनि प्रहार गरेका छन्। महिलालाई माल भन्नु आपत्तिजनक रहेको कतिपयको ठम्याइ छ।

सामाजिक सञ्‍जालमा कसले के भने?

यतिखेर सामाजिक सञ्‍जाल भिटेनको पक्राउपश्चात निकै तातेको छ। पत्रकार नारायण अमृत लेख्छन्,' र्‍यापमा माधव घिमिरेका अलंकार खोजेर हुँदैन। र्‍याप संगीतको जनरा बुझे मात्र भिटेनलाई बुझ्न सकिन्छ।' उनी थप्छन्, संस्कृतीका ठेकेदारहरूले के बुझ्न जरुरी छ भने र्‍यापरलाई थुनेर समाज स्वच्छ हुँदैन। हाम्रो समाज र सत्ताको खराबी अरू ठाउँमा छ।'

यस्तै, स्तम्भकार तथा लेखक खगेन्द्र संग्रौलाले पनि भिटेनको बचाउ गरेका छन्। उनले भने, हुँदाहुँदा नेकपा डबलको हैकममा अब सुन्दर र कुरूप एवं श्लील र अश्लील कला छुट्याउने,कलाकारलाई पक्रिने र दण्ड दिने पनि पुलिस? पुलिस सरले पशुपति शर्मापछि दुर्गेश थापा र भिटेनलाई सिकार तुल्याए त!' उनी थप्छन्, ओली राज त पुलिस राजको पर्याय पो हो कि! यसै भन्दैछन् त गोकुल धूप!'

संस्कृति भत्काउन नखोजौं : सरकार

चौतर्फि विरोधका बाबजुद सरकारले प्रहरीले भिटेन पक्राउलाई बचाउ गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले  हरेक जनताले सामाजिक मूल्यमान्यताको पालना गर्नुपर्ने बताए।

 ‘सामाजिक सञ्जाल र भाषाबारे नेपाली शब्द कोष हेर्नुहोस्। नेपाली समाज जंगली होइन, जहाँ जे बोले पनि हुने’, उनले भने, ‘गाउँनै नपाउने भनेको छ र?  के तपाईं उनीहरूले गाएका गीत परिवारसँग राखेर सुन्न सक्नुहुन्छ? त्यस्ता गीत सुन्दा–हेर्दा कतै अनुहार लाजले रातै हुन्छ कि? कतै मुख थुन्नुपुर्ने वा हातले छोप्नुपर्ने हुन्छ कि?

 ‘कुनै पनि समाजको मूल्य पद्धति हुन्छ, त्यसलाई भत्काउन नखोजौँ। हामीले उठ् भने उठ बस् भने बस भनेको होइन’, उनले भने, ‘कला, गला, साहित्य या आविष्कारमा योगदान दिने हो भने गर्नुस्। नगर्नु भनेकै कुरा नगरी हुन्न भन्ने हो भने त मान्छे मारेर जलाएको पनि ठीकै छ, मनपरी गरेको पनि ठीकै छ, अर्काका छोरी चेली झम्टेको पनि ठीकै छ भन्नुपर्‍यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.