|

काठमाडौं : बाइसे चौबिसे राज्यलाई एकिकरण गरेर एकिकृत नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती बुधबार विविध कार्यक्रम गरी मनाइएको छ। यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस तथा चियापान कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष दलका शीर्ष नेताहरु भृकुटीमण्डप पुगेका थिए। उनीहरुले कार्यक्रमस्थलमा राखिएको पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै सम्मान गर्दै उनीप्रति सम्मान व्यक्त गरे। 

कसले के भने ?

पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राष्ट्रहरुमा विभाजित नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको भूमिका नबिर्सेको बताए। 'राज्यहरुको एकीकरण गर्ने पृथ्वीनारायणको भूमिका हामीले बिर्सेका छैनौँ',' प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीले नेपालको इतिहासको राम्रो अध्ययन गरेर केमा बिदा दिने र केमा नदिने भन्न‍े विषयमा सरकारले निर्णय गर्ने बताए। 

बुधबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाहरुको पुनरावलोकन गर्ने निर्णय गरेको थियो। 'सार्वजनिक बिदाका बारेमा राज्यको स्पष्ट नीति, नियम र मान्यता बन्न सकेको छैन', प्रधानमन्त्रीले भने, 'मैले बिदा पुनरावलोकन गर्ने प्रस्ताव क्याबिनेटमा पेश गरेको छु। बदलिएको सन्दर्भमा केमा बिदा दिने र केमा नदिने एकचोटी पुनरावलोकन गरिन्छ,' नेपालको इतिहासको राम्रो अध्ययन गरेर सबैको भावना समेटेर समुचित प्रतिवेदन आउने अपेक्षा आफूले गरेको प्रधानमन्त्रीले सुनाए।

पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष कार्यक्रम गरेकोमा उनले राप्रपालाई धन्यवाद दिए। 'हरेक वर्ष राप्रपाले कार्यक्रम गरेको छ। यसले राजनीतिक मूल्य स्थापित गरेको छ', प्रधानमन्त्रीले भने। 

नेपाली कांग्रेसका सभापति एव‌ंम् पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको योगदान नभुल्न आग्रह गरे। 'नेपालको योगदान पृथ्वीनारायण शाहले गर्नुभएको हो, यो वास्तविकता हो। आज एक जुन नेपाल छ त्यो पृथ्वीनारायण शाहले नै रचना गर्नुभएको हो,'उनले भने,'सिङ्गो नेपाल र नेपाली बनाउन उहाँको धेरै ठुलो योगदान छ। इतिहासकारहरुले अलग-अलगरुपमा व्याख्या गर्न सक्छन्। राष्ट्रिय एकिककरणका रुपमा सबै नेपालीहरुले मानेका छन्।'

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक भएको बताए। 'उनी नेपाल एकीकरणका नायक हुन्', ओलीले भने, 'आफ्नो स्वार्थअनुकूल नभइ स्वतन्त्र हिसाबले बुझेमात्र नेपालको पुनर्एकीकरण हुन्छ।' अघिल्लो वर्ष माओवादीको व्यवधानका कारण सरकारले पृथ्वी जयन्तिमा बिदा दिन नसकेको ओलीले आरोप लगाए।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल एकिकरण गर्ने शाहप्रति विवाद नगर्न समेत आग्रह गरे। 'राष्ट्रियता जस्तो विषयलाई विवादको विषय नबनाऔं, नेपाल रहेर हामी छौ नेपाली छौ। नेपाल नरहे हामी कोहीपनि नेपाली रहदैनौं नेपाली नरहे हामी कोहीपनि पार्टी विचार केहीपनि रहदैन। त्यसैले यसलाई साझा बनाऔं,' पूर्वप प्रधानमन्‍त्री भट्टराईले भने,'नेपालको वर्तमान केन्द्रीय राज्य निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहले चार वर्ण ३६ जातको फूलबारी भनेर त्यही दिशामा सङ्केत गर्नुभएको हो। पछिल्लो समयमा सबै जातिले अपनत्व महसुस गर्न नसक्दा थोरै बहस र विवाद भयो।'

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आधुनिक नेपालका निर्माता पृथ्वीनारायणले नै सानो-सानो क्षेत्रमा छरिएर रहेका राजा रजौटाहरुलाई एकतावद्ध बनाएर २५० वर्षदेखि नेपाललाई अगाडि बढाउन महत्वपुर्ण भूमिका खेलेको बताए। उनले नेपालको इतिहास ५ हजार वर्ष पुरानो  भएको बताए। 'यलम्बर, अंशु बर्माको पालादेखि प्राचिन नेपाल, मध्यकालिन नेपाल वा आधुनिक नेपाल यी तिनवटै कालखण्डका जम्मै निर्माताका सन्दर्भमा हामीले सबैको भूमिकालाई नेपाली जनताको माझमा लानुपर्छ,'नेता नेपालले भने,'यसबीचमा सङ्कीर्ण प्रवृत्ति व्याप्त भएर पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्ने, महत्व नदिने, शालिकहरु भत्काउने उहाँलाई नकारात्मक रुपमा प्रस्तुत हुने कार्यहरु पनि भए। यी चिज गलत हुन्।'

उनले यतिबेला नेपाल राष्ट्रलाई कसरी एकतावद्ध बनाउने? नेपालमा छर्न खोजिएको जातीय विषलाई कसरी समाप्त पार्ने हो? सबै जातजातिका नेपालीलाई कसरी एकतावद्ध बनाउने ? वा यसरी आधुनिक तथा विकसित नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने भन्‍नेबारेमा चिन्तन गर्ने समय भएको समेत बताए।

पृथ्वी जयन्तीलाई १५ मिनेट

पृथ्वी जयन्ती मनाउन भृकुटी मण्डप पुगेका प्रधानमन्त्री लगायत शिर्ष दलका नेताहरु कार्यक्रमस्थलमा लामो समय बसेनन्। कार्यक्रमस्थलमा पुगेको केही समयमै उनीहरु त्यहाँबाट बाहिरिए। प्रधानमन्त्री पुष्पकमल दाहाल करिब १५ मिनेट चियापान कार्यक्रममा बसेका थिए। चियापना कार्यक्रममा एमाले अध्यक्ष ओली करिब २० मिनेट बसेका थिए। ओली बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड आइपुगेका थिए। यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवा पनि १५ मिनेटपछि नै बाहिरिए। एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नयाँशक्ति नेपालका संयोजक डा बावुराम भट्टराई पनि १५ देखि २० मिनेटको बीचमा बाहिरिए।

एक्लाएक्लै शीर्ष नेता

कार्यक्रममा शीर्ष नेताहरु लामो समय बसेनन्। कार्यक्रममा पुग्ने बित्तिकै सम्बोधन गरेको केही समयमै उनीहरु बाहिरिए। राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति समशेर जबरा, कार्यकारी अध्यक्ष कमल थापा लगायतका नेताहरुले अतिथिहरुलाई स्वागत गरेका थिए।

तर कार्यक्रममा कुनै नेता पनि एकसाथ देखिएनन्। जसै एउटा नेता बाहिरिन्थे त्यसको केही समयमै अर्को नेता कार्यक्रमस्थलमा प्रवेश गर्थे।

एमाले बरिष्ठ नेता झलनाथ खनाल आएर बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आए। ओली बाहिरिएको केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल आए। प्रधानमन्त्री बाहिरिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, त्यसपछि का‌ंग्रेस सभापति शेरबहादुर देउवा र नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराई कार्यक्रममा आएका थिए। 

अतिथिहरुको व्यवस्थित आगमनका निम्ती आयोगकले स्वयंसेवक परिचालन गरेका थिए। सर्वसाधारण र भिआइपी एरिया समेत छुट्टाइएको थियो।

कमल थापा देखेपछि झुक्किए बावुराम

पृथ्वी जयन्तीलाई सम्बोधन गर्न भृकुटीमण्डप पुगेका नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराई राप्रपा र राप्रपा नेपालका बीच झुक्किए। पृथ्वीनारायण शाहप्रति सद्भाव व्यक्त गर्दै-गर्दा नेता भट्टराईले एकिकरणपछि राप्रपा भइसकेको पार्टीलाई राप्रपा नेपाल सम्बोधन भनेर सम्बोधन गरे। 'नयाँ शक्ति नेपालको तर्फबाट राप्रपा नेपालका साथीहरुलाई। नेपाल त अब भएन संयुक्त भइसक्यो,'भट्टराईले भने,'कमल जीलाई देखेपछि नेपाल याद आयो। राप्रपाका साथीहरुलाई म धन्यवाद र बधाई दिन चाहन्छु। यो दिनको स्मरण हामी सबैलाई गराएर सम्मान व्यक्त गर्ने अवसर दिनुभयो।'

बिदा दिन कलाकारहरुको आग्रह

पृथ्वी जयन्ती मनाउन भृकुटीमण्डप पुगेका सहभागीले सार्वजनिक बिदा नदिएको भन्दै आक्रोश पोखिरहेका थिए। मञ्चमा गएर बोल्न पाएका अगुवा देखि चउरमा रहेका सहभागीले समेत विदा नदिएको भन्दै आक्रोश पोखेका थिए।

कतिले कविताबाट पृथ्वीनारायण शाह राष्ट्रनिर्माता भएको भन्दै उनीप्रति सम्मान व्यक्त गर्न आग्रह गरे। कतिले कानेखुसी समेत गरिरहेका थिए। कार्यक्रममा सहभागी गायिका कोमल ओली, नायिका रेखा थापा, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चरित्र अभिनेत्री बसुन्धरा भुषाल, नेपालकी प्रथम अभिनेत्री भुवन चन्द लगायतका कलाकारहरुले पृथ्वीनारायण शाहको सबैले आत्मसाथ गर्नुपर्ने आग्रह गरे।

कार्यक्रममा बोल्दै बसुन्धराले उनको योगदानलाई नबिर्सन आग्रह गरिन्। उनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरिन्। आकाशले पृथ्वी जयन्तीलाई बिर्सनु भनेको नेपाल र इतिहास बिर्सनु भएको दाबी गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.