|

पर्वत : ‘तिहार’ र ‘झिलिमिली बत्ती’ दीपावलीकै कारण पर्यायवाची जस्तो लाग्छन्। फागु पूर्णिमालाई ‘रङको पर्व’ भनिएजस्तै तिहारलाई ‘झिलिमिली बत्तीको पर्व’ का रूपमा पनि लिने गरिएको छ।

घरहरू सिँगार्नका लागि लहरा झुन्डिएजस्तै बिजुलीको तारमा छतबाट भुइँसम्म झिलिमिली बत्तीहरू नझुन्डिएसम्म तिहारको आएको अनुभूति नै हुँदैन। यस वर्षको तिहार पनि मुखैमा आइपुगेको छ। सानो भए पनि सफा र सुन्दर कुस्मा बजार पनि रङ्गीचङ्गी बत्तीहरूले सिँगारिएको छ।

बजारभित्र सडक कालोपत्रे गर्नका लागि खाल्डाखुल्डी परेको कालोपत्रे भत्काइनु र सडक छेउका नालीहरूको स्तरोन्नति गर्न लागिएका कारण दिउसोमा धूलो र सडकका ढुङ्गाका कारण दिउसोमा कुरूप देखिने बजार रातीमा भने विकसित देशको मुख्य सहर जस्तै देखिएको छ।

घर सजाउन प्रतिस्पर्धा

तिहारमा झिलिमिली बत्ती कसकोमा धेरै बल्ने वा कसको घर आकर्षक देखिने भनेर घरधनीरूको बीचमा प्रतिस्पर्धा हुने गरेको छ। छिमेकीको घरमा तिहारे बत्ती झलमल भएपछि अर्को छिमेकीले एक छाक खाना नखाएर ऋण धन गरेरै भए पनि छिमेकीको घर जत्तिकै आफ्नो घरलाई पनि सजाउने होडबाजी छ।

‘एउटाको घरलाई रङ्गीचङ्गी पारेपछि आडमै रहेको अर्को घरलाई पेच पर्ने रहेछ।’ कुस्माको शिवालय मा.वि.का प्रधानाध्यापक भूपेन्द्र चापागाईँ भन्छन्, ‘आपूmसँग जे छ, जति छ त्यसैले हो घर सजाउने। छिमेकीकोको देखासिकी गरेर ऋणमा गाडिएर घर सजाउन आवश्यक छैन।’

बजारमा घर भएका केही व्यक्तिहरूले पनि छिमेकीको घरमा तिहारे बत्ती जडान गरेर घर सजाएपछि बाध्यताले आप्mनो घरमा पनि बत्ती जडान गरेको सुनाए। ‘यम पञ्चक सुरु भएपछि हो क्यारे खासमा बत्ती बालेर झिलिमिली पार्ने त, मोरे घरमा बत्ती जोडेको एक हप्ता भइसक्यो।’ एक जना ब्यपारीले भने, ‘आडैको घरमा बत्ती जोडेर झलमल चम्किँदा, आप्mनो घर अँध्यारो भएको हेर्न मन नलाग्ने रहेछ।’

गाउँमा मैनबत्तीकै भर

गाउँमा भने विद्युतीय झिलिमिली बत्तीको प्रयोगले त्यति ठाउँ पाइसकेको छैन। खरिद गर्नका लागि महँगो हुने तथा गाउँका होचा घरहरूमा लामा लहरामा मिलाइएका बत्तीको ‘वायरिङ’ गर्न समेत कठिन हुने भएकोले यसको कम प्रयोग भएको हो।

तिहारको बेलामा गाउँघरमा भने पछिल्लो समयमा मैनबत्तीको प्रयोग उच्च हुने गरेको थियो। पहिले पहिले भने धागोबाट कातेर बनाइएका दीपलाई केराको सुत्लामा राखेर यमराजलाई सम्झिँदै ‘जिम फाल्ने’ गरिएको थियो।

पैयुँ गाउँपालिकाका ७८ वर्षीय कृष्णहरी पौडेलले गाउँमा कोही कोही घरमा बजारमा बाल्ने जस्ता बालिने गरिएको भए पनि धेरैको घरमा मैनबत्ती बाल्ने गरेको सुनाए। ‘बजारका जस्ता महँगा बत्ती गाउँमा कहाँबाट मिलाउनु? उ जमानामा केराका सुत्लामा ज्योति बालेर जिम फालियो, अहिले मैनबत्ती बाल्ने चलन आयो।’ उनी भन्छन्, ‘तिहारमा गाउँ भन्दा सहर नै रमाइलो हुँदो रहेछ। यो कुस्मा हेर्दा त कुस्मा नै होइन जस्तो लाग्या छ।’

राम्रै हुन्छ बत्तीको व्‍यापार

सदरमुकाम कुस्मामा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक पसलहरू सञ्चालन गर्दै आएका ब्यपारीहरुले तिहारको बेलामा हरेक वर्ष बत्तीको माग र कारोबार बढ्दै गरेको बताउँछन्।

केही वर्ष पहिलेसम्म बजारका सीमित घरहरूमा मात्र तिहारे बत्ती जडान गरेका इलेक्ट्रिसियन कमल चापागाईँले पछिल्ला केही वर्षहरूमा हरेक वर्ष झिलिमिली बत्ती जडान गरिदिन भन्दै पसलमा आउनेहरूको सङ्ख्या बढ्दै गएको बताए।

‘पहिले बजारका केही घरहरूमा मात्र जोड्न बोलाउँथे, पसलमा बिक्रीका लागि पनि थोरै परिमाणमा राख्ने गरिन्थ्यो।’ उनले भने, ‘अहिले बिस्तारै गाउँतिरका ग्राहकहरूले पनि तिहारे बत्ती चाहियो भन्दै आउनुभएको छ।’ कमलले यस वर्षको तिहारका लागि भनेर पसलमा ल्याएका झन्डै २ लाख भन्दा बढी मूल्यका तिहारे बत्ती बिक्री भइसकेका छन्। अपुग भएकोले फेरि पनि ल्याउनको लागि ‘अर्डर’ गरेको चापागाईँको भनाई छ।

बजारमा रहेका अन्य विद्युतीय पसलहरूले पनि बर्सेनि यस्ता बत्तीहरूको बिक्री बढ्दै गएको बताउँछन्। बजारमा पसल गर्दै आएका इलेक्ट्रिसियनहरू तिहारे बत्ती जडानका लागि घर घरमा पुगेका देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.