सन्दर्भः पृथ्वीजयन्ती

|

काठमाडौं : 'पुस २७ मा पृथ्वीनारायण शाहको खुब चर्चा हुन्छ। केही मानिसले पृथ्वीनारायण शाहको देवत्वकरण गर्छन्, गरिबक्स्यो भन्छन्', कुराकानीको सुरुमै उनले सुनाए, 'केही मान्छेले हाम्रो राज्य हर्दियो, खाइदियो, पृथ्वीनारायण तानाशाह हो भनेर उफ्रेका छन्।'

उसो भए पृथ्वीनारायण शाह को हुन्? उनलाई कसरी सम्झिने? हामी यही प्रश्न लिएर प्राज्ञ प्रा. डा. दिनेशराज पन्त (६७) कहाँ गएका थियौँ। प्रज्ञा प्रतिष्ठानमा दर्शन शास्त्र विभागका प्रमुख समेत रहेका पन्तको धुम्बाराहीस्थित घरको उपल्लो तलामा उनको 'पृथ्वी कक्ष' छ जहाँ उनले पृथ्वीनारायण शाहका बारेमा भेटिएका ऐतिहासिक दस्तावेजहरु संग्रह गरेका छन्। २०६९ कात्तिकमा वाल्मिकी विद्यापीठबाट निवृत्त भएपछि आफ्नो अधिकांश समय पृथ्वी कक्षमै बितेको उनी सुनाउँछन्। 'काम गर्नुपर्छ भन्ने भावना आएको त ५४/५५ सालदेखि नै हो। तर रिटायर्ड भएपछि ७१ भदौसम्म द्रुत गतिमा काम गरेँ।' २०७१ भदौदेखि प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका उनी पृथ्वीनारायणबारे गरिएका अनुसन्धान र मूल कागजात समावेश गरेर पुस्तक प्रकाशित गर्ने अन्तिम तयारीमा छन्।  

प्रा. डा. पन्तसँग विभिन्न टुक्रामा विभाजित त्यतिबेलाको नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहबारे रहेका भ्रम र ऐतिहासिक प्रमाणिकताका बारेमा गरिएको कुराकानीको सारसंक्षेपः



इतिहास शब्दले हामीलाई के भन्छ भने 'इति' यस्तो, 'ह' पक्का, 'आस' थियो। दुर्भाग्य भनौँ हाम्रो देशमा इतिहास विद्यालाई मानिसले त्यसरी हेर्ने काम गरेनन्, आफ्नो अनुकूल व्याख्या गर्ने काम भयो। 

धेरैलाई के भ्रम छ भने पृथ्वीनारायण भन्दा अगाडि नेपाल भनेको काठमाडौं खाल्डोमात्र थियो। स्वयं पृथ्वीनारायण शाहलाई पनि त्यो भ्रम थियो। तर आजभन्दा दुई हजार वर्ष पुरानो लिच्छवीकालको इतिहासले त्यसो भन्दैन। लिच्छवीकालका अभिलेखहरु, चिनियाँ यात्रीहरुको वर्णन, कौटिल्य अर्थशास्त्र आदि संस्कृत वाङ्मयका ग्रन्थहरुबाट के बुझिन्छ भने लिच्छवीकालमा पनि नेपाल भनेको झण्डै झण्डै अहिलेकै जत्रो थियो। पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्म अहिलेकै जत्रो थियो भनेको होइन, कहीँ बढी थियो होला, कहीँ घटी थियो होला। यो खोजीको विषय हो।   

तर लिच्छवीकालभन्दा पछाडि नेपालको त्यो अवस्था रहेन। नेपाल क्रमशः टुक्रिन थाल्यो। विक्रम सम्वतको बाह्रौँ शताब्दीतिर नेपालमा तीनवटा शक्ति खडा भए। एउटा भक्तपुरमा राजधानी भएको नेपाल खाल्डो जसले सम्पूर्ण नेपाल नुवाकोटसम्म राज्य गरेका थियौँ' भनेर गर्व गर्थ्यो। एउटा नेपालको दक्षिण पूर्व भेगमा नान्यदेवले खडा सिम्रौनगढ राज्य र, अर्को नेपालको पश्चिमोत्तर भेगमा सिँजामा नागराजले खडा गरेको राज्य। नागराजले खडा गरेको राज्य त कति बलियो भयो भने यसले गोरखसम्मै कब्जा जमायो। गोरखाभन्दा यता नुवाकोटको बाटो हुँदै नुवाकोट नेपाल खाल्डोकै राजाहरुको अधीनमा थियो। उनीहरु काठमाडौंमा पनि आएर लुटपाट गर्ने, कहिले कर उठाउने गर्थे। तराईमा पनि लुम्बिनीसम्म उनीहरु पुगे। र, अहिलेको चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर कैलाश प्रदेशसम्म यिनीहरुको शक्ति पुग्यो। अहिलेको भारतको उत्तराञ्चल प्रदेशको कुमाउ र गढवालसम्म पनि यिनीहरु शक्तिशाली भएर पुगे। कालान्तरमा ती राज्य पनि टुक्रिए।

जुनबेलामा विक्रम सम्बत १७७९ पुस २७ गते पृथ्वीनारायण शाह गोरखाका राजा नरभुपाल शाहका जेठा छोराको रुपमा जन्मिए, त्यो समयमा ५२ वटा भन्दा बढी राज्य खडा हुन आए। चौबिसे राज्य र बाइसे राज्यले ४६, चौबिसेमा गोरखा पनि पर्थ्यो। नेपाल उपत्यकाको तीनवटा मल्ल राज्यले ४९, मकवानपुर, चौदन्डी र विजयपुर ३ वटा सेन राज्यले बाउन्न। ५२ भन्दा बढी भनेको कारण यो हो।  

विभाजन र गोरखाको विजय

कौटिल्यले पनि भनेका छन्- राजतन्त्र ठीक हो तर राजतन्त्र पनि कुन बेला बेठीक हुन्छ भने यदि वालक राजा भयो, बहुलाहा राजा भयो, मुर्ख राजा भयो, ऐयास राजा भयो। यस्तो बेलामा राज्य नै रहँदैन। त्यतिबेला पनि के भयो भने योग्य राजा आएनन्। जस्तो लिच्छवीकालका राजा मानदेवकै कुरा गरौँ। उनको विक्रम सम्बत ५२२ को चाँगुनारायणको स्तम्भलेखबाट थाहा हुन्छ कि उनका बाबु धर्मदेव अकस्मात मरे। मानदेव साना थिए। पूर्व र पश्चिम सामन्त शासकको कब्जामा थियो। उनीहरुले विद्रोह गरे। उनले मामाको सहयोगले दबाउन सकेको हुनाले त्यो राज्य रह्‍यो। दबाउन नसकेको भए क्रमशः त्यो राज्य सकिन्थ्यो।

गोर्खा त्यतिबेलाका राज्यहरु भन्दा धनजन इत्यादि सबै कुराले कमजोर हो। तर विक्रम सम्वत १६१६ भाद्र २५ गते द्रब्य शाहले गोरखा राज्य स्थापना गरेपछि गोरखालीहरुमा अरुमा भन्दा वैशिष्ठ्य के देखिन आउँछ भने उनीहरुले ठीक मान्छेलाई ठीक ठाउँमा राखे। शासकहरुमा आफ्नो मनगढन्ते कुरा गर्ने प्रवृत्ति हुन्छ तर उनीहरुमा त्यो प्रवृत्ति कम देखियो।  

अर्को कुरा पहिलो बिवाह असफल नभएको भए पृथ्वीनारायण शाहको मनमा पनि एकीकरणको चेतना आउँथ्यो कि आउँदैनथ्यो यसै भन्न सकिन्न। गोर्खालीहरु त गरिब। मकवानपुरका राजाहरु तराई पनि भएकाकाले धनी थिए। सम्बन्ध होला भनेर बिहे गरेका पृथ्वीनारायण शाहलाई ससुराली खलकले पाखे भनेर हेप्दिए। पृथ्वीनारायण शाह परे अलि बिजिगीषु स्वभावका। त्यहाँबाट आउँदा चन्द्रागिरीको बाटो आए। चन्द्रागिरीको बाटो आउँदा काठमाडौं, पाटन, भक्तपुर देखिसकेपछि उनलाई राज्य बनाउने चाहना भयो।

अरु शासकहरुभन्दा फरक उनमा के देखियो भने उनले आफ्ना विजय अभियानमा नीतिलाई भन्दा बढी कुरा गरेकै छैनन्। न बाउको नाम लिन्छन् न स्वास्नीको नाम लिन्छन्। मात्र चाहिने कुरा भन्छन्। उनले १८०१ आश्विन १५ गते नुवाकोट (जुन काठमाडौंको मल्ल राज्य अन्तर्गत थियो) विजय गरेपछि त्यो नेपालको एकीकरण भयो।

यो एकीकरणलाई पनि मैले केही कालयता पुनर्एकीकरण भन्ने गरेको छु। किनभने प्राचीनकालमा पनि त नेपाल एक थियो। उनको पालामा पूर्वपट्टी वर्तमान नेपालको सीमाभन्दा पनि पर टिस्टासम्म नै एकीकरण भयो। तर पश्चिमतिर केही काल लडेर विजय प्राप्त गरे पनि त्यो टिकेन। पृथ्वीनाराण शाहकै मनमा पनि मेरो जेठो छोरा प्रताप सिंह योग्य छ भन्ने थिएन। उनले भनेकै छन्- ‘बुढा मरै, भाषा सरै भनी भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया, तम्रा सन्तानलाई सुनाउनन् र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनन्, यो राजे थामी षानन्।’ उनलाई आफ्नो वंशको पनि माया छ र राज्यको पनि माया छ। भाइहरुले राज्य लिन खोजे, भागबन्डा गर्न खोजे। तर उनले मानेनन्।

पृथ्वीनारायण शाहभन्दा अघि पनि नेपालमा एकीकरण अभियान नभएको होइन। यक्ष मल्लले पनि गर्न खोजे। मुकुन्द सेनले पनि गर्न खोजे। तर उनीहरुको अवधारणामा यो राज्य भनेको हामीले भाइ छोरामा बाँडेर खाने हो भन्ने भयो। त्यसबाट उनी पर रहे।

भन्न त अहिले मान्छेहरुले काँगडासम्म पुगेको भन्छन्। तर काँगडा होइन। काँगडाको मुख्य किल्ला छोडेर हामी चम्भासम्म पुगेर झण्डै झण्डै राबी नदीसम्म पुगेका थियौँ। नेपाल एउटा, कुमाउ, गढवाल, अहिलेको हिमाञ्चल प्रदेश इत्यादि नाघेर चारखण्ड त नेपालले अन्तर्भूत गर्‍यो। काश्मिरमा पनि नेपालको दावी थियो। तर नेपालीहरुको मुर्खता भनुँ, राज्य ठूलो हुँदै गयो, त्यसअनुसार तयारी भएन। विक्रम सम्बत १८७१/७२ को युद्धले नेपालीहरु खुम्चिनुपर्‍यो। 

पृथ्वीनारायणको अर्थ

यदि हामीलाई नेपाल चाहिँदैन भने पृथ्वीनारायण चाहिँदैन। यसका लागि हामीले ऊ बेलाको नेपाल बुझ्नुपर्छ। विक्रम सम्वत १८२५ भनेको त २५० वर्ष अगाडिको कुरा न हो। बयान नै पाइन्छ। काठमाडौंको राजालाई केही गरेर भक्तपुरका राजा वा पाटनका राजासँग रिस उठ्यो भने पाटने भक्तपुरे सतवीज छर्न आएको बेला कुटिन्थे। पाटनको राजालाई रिस उठ्यो भने रातो मच्छिन्द्रनाथको जात्रामा भक्तपुरे र कान्तिपुरे गए भने कुटिन्थे। भक्तपुरको राजालाई रिस उठ्यो भने बिस्केट जात्रा हेर्न जाँदा कुटिन्थे। 

मेरा पिता प्राध्यापक नयराज पन्तको पद्य याद आउँछ-

थोरै विज्ञ र धेर मुर्ख जनता यो लोकमा भैदिँदा

छट्टुका परिपपञ्चबाट पनि त हुन्छन् अनेकौँ कुरा। 

पृथ्वीनारायण शाहको महत्व न उनका वंशले बुझे न त पञ्चायत व्यवस्थाले नै बुझ्यो। पृथ्वीनारायण शाहले राज्य जोड्दिएकै छ, हामीले मोज गरेर शोषण गरेर खानुपर्छ भन्नेमात्र भयो। नत्र उनले त प्रजा मोटा भए दरबार बलियो रहन्छ भनेकै थिए नि। तर यहाँ त प्रजासँग कसरी लुट्ने भन्ने प्रधान भयो।  

पृथ्वीनारायणको नामका चाकडीबाज

गोरखामा गोरखा संग्राहलय छ। त्यसको सुरुको नाम पृथ्वी संग्राहलय थियो। पुरातत्व विभागले २/३ पटक मलाई काम लगायो। साफल्य अमात्य महानिर्देशक थिए। पछि ऋद्धिबाबा प्रधान आइन्। उनी मन्त्री पनि भइन्। अरु पनि आए। मैले द्रब्य शाहदेखि लिएर पृथ्वीनारायण शाहसम्मको मुख्य मुख्य योगदानको साल, सम्वत मितिहरु लेखिदिएँ। द्रब्य शाहदेखि नरभुपाल शाहसम्म राजा लेखेँ। पृथ्वीनारायण शाहलाई श्री ५ भनेँ र, सबैमा द्रब्य शाहले विक्रम सम्वत १६१६ भाद्र २५ गते गोरखा राज्य स्थापना गरे, पृथ्वीनारायण शाहले विक्रम सम्वत १८२५ आश्विन १३ गते काठमाडौं जिते। यस्तै यस्तै लेखेँ।

पछि उनीहरुले ठूला विद्वान मान्छेहरुलाई पठाएछन्। मेरोमात्र विश्वास भएन होला। त्यो करेक्सन के भएर आएछ भने मैले गरेकोमा एक अक्षर पनि अरु करेक्सन भएनछ। तर मैले गरे 'गरे' भनेको ठाउँमा सबैठाउँमा 'गरिबक्स्यो, गरिबक्स्यो' गरेर सिंहमर्मरमा कुदाएछन्। पछि राजतन्त्र ढल्यो, गणतन्त्र आयो। राजतन्त्रबाट लड्डुपेडा खाएर बसेकाहरुलाई रातारात गणतन्त्रवादी हुनुपर्‍यो। उत्तिखेरै शिलापत्र बनाउन सक्ने खर्च त उनीहरुसँग भएन। टाइप गरेर फेरि गरिबक्स्यो भनेको ठाउँमा गरे लेखेछन्। यो पद्दतिले हुँदैन।

यहाँ अहिले सबै त्यस्तो भैरहेको छ। तीनचार वर्ष अगाडि एउटा कार्यक्रममा सत्यमोहन जोशी वरिष्ठ अतिथि र राष्ट्रकवि माधव घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो। म पनि एउटा अतिथि थिएँ। मेरो बोल्ने पालोमा के भनेँ भने 'उहाँलाई वरिष्ठ संस्कृतिविद्, उहाँलाई राष्ट्रकवि, अब अनुकूल मान्छे पर्‍यो भने मलाई पनि वरिष्ठ लाइदेला। म त कनिष्ठ त होइन कसरी वरिष्ठ हुनु। उहाँहरु भनेको राणाकालदेखि गणतन्त्रकाल सम्मको सदाबहार मान्छे। उहाँहरुलाई लामोहोरिया कवि र लालमोहोरिया संस्कृतिविद् भन्नुपर्छ।' सबै हाँसे।

पृथ्वीनारायणले नाक कान काटेकै हुन्

पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक कान काटेकै हो। तर फटाहाहरु र पृथ्वीनारायण शाहको नाममा चाकडी गर्नेहरु के भन्छन् भने उनले काटेकै होइन। तर पृथ्वीनारायण शाहले लुकाएका छैनन्। विक्रम सम्वत १८२२ चैत्र ३ गते कीर्तिपुर विजय भएको सबैले खोजेका थिए। पछि मेरो अनुसन्धानले उनले नाक कान काटेको विक्रम सम्वत १८२२ चैत २७ गते रहेछ भन्ने पत्ता लगायो।

पृथ्वीनारायण शाहका दरबारिया कवि ललिता बल्लभले विक्रम सम्वत १८२७ मा पृथ्वीनारायण शाहको स्तुति काव्य निकाले। इतिहास पनि छ त्यहाँ। त्यहाँ उनले नाक कान काटेको कुरा लेखेका छन्। उनले जयन्त राणाको त छालै काढेका छन्। उनमा क्रुरता देखिन्छ। विक्रम सम्वत १८१४ जेष्ठ १९ गतेको लडाइँमा उनका प्रधानमन्त्री काजी कालु पाण्डेको मृत्यु भयो। कान्छा भाइ सुरप्रताप शाह आँखामा काँड लागेर अन्धो भए। अर्का भाइ दलजित शाहको त्यस्तै भयो। उनलाई क्रोध चल्यो। दरबार खुसी बनाउन पञ्चायत व्यवस्थामा पृथ्वीनारायणले नाक काटेको होइन भन्थे। अब दरबार खुसी हुन्थ्यो वा हुन्नथ्यो त्यो अर्कै कुरा हो। तर उनले त्यो बदमासी नगरेको भए उनी अझ माथि हुन्थे।

निन्दा र तारिफ

पृथ्वीनारायण शाहलाई हामीले निन्दा गरे पनि केही हुँदैन र तारिफ गरे पनि केही हुँदैन। हामीले आफ्नो स्वार्थका लागि यो सबै गरिरहेका छौँ। हामीले हेर्ने भनेको सारमा हो। उनका विषयमा पुस २७ मा मात्र होइन, अरुबेला पनि चिन्तन गराउनु पर्‍यो।

विक्रम सम्वत १८२४ मा कुन तत्वले हामीले जित्यौँ र १८७१/७२ मा कुन तत्वले हार्‍यौँ। पृथ्वीनारायण शाहको परराष्ट्र नीति सफल थियो तर आज किन हामी किन कमजोर हुँदै गयौँ। त्यो कमजोरीका लागि नेतालाई मात्र गाली गरेर हुँदैन। नेताहरुले छट्टु व्यवहार गरेकोमा मेरो कुनै गुनासो छैन किनभने उसले जोसँग पनि भोट माग्नुपर्‍यो। तर विद्वान र पण्डितले त एउटै कुरा भन्नुपर्‍यो नि। हरेक क्षेत्रमा अध्ययनको अभावले यो सबै भैरहेको छ।

उनका दिब्योपदेशका धेरै कुरा समसामयिक परिवर्तन गर्ने हो भने अहिले पनि सटिक छन्। तर त्यसलाई अन्ध श्रद्धा गरेर गरिबक्स्यो खाइबक्स्यो भनेर देवत्वकरण गर्ने होइन। उनी पनि सामान्य मान्छे हुन्। पृथ्वीनारायण शाहले गोरखालाई राजधानी बनाएनन्। गोरखाको राजामात्र हुनुभन्दा उनी ठूलो भूभागको राजा बने। चरित्र हेर्दा उनको मूल लक्ष्य शासन गर्ने थियो। नत्र उनले राज्यहरु बाँडिहाल्थे नि। त्यसो गरेको भाइहरु पनि खुसी हुन्थे। पृथ्वीनारायण शाहको लक्ष्य राम्ररी शासन गर्ने थियो।

एउटा भ्रम अहिले के फैलाइएको छ भने तराईमा अलग राज्य थियो। तर तराईमा राज्य छँदै थिएन। तराई भनेको सेन राज्यको अंग हो। तीनवटा मल्ल राज्य प्रष्ट थिए। तीनवटा सेन राज्य थिए। किराँत, मगर र तामाङले राज्य थियो भनेको त गाउँका मुखियाजस्तो हो। ल, एक मिनेटलाई मानिलिउँ सबैको राज्य थियो रे। सम्पूर्ण संस्कृतिलाई पृथ्वीनारायणले खतम पारिदिए रे। त्यो अवस्थामा नेपाल रहन्थ्यो त? त्यसैले नेपाल चाहिँदैन भने पृथ्वीनारायण शाह पनि चाहिँदैन। नेपाल चाहिन्छ भने पृथ्वीनारायण पनि चाहिन्छ। मूलतत्व यो हो। 

अन्तिममा म के भन्छु भने पृथ्वीनारायण शाहको तत्व बुझ्ने भनेको कुरा उनले गरेका राम्रा, नराम्रा, सुकर्म, कुकर्म सबैको हामीले भार बोक्ने होइन। पृथ्वीनारायण शाहको तत्व पढ्नु भनेको नेपाल निर्माण कसरी भयो भनेर जान्नु हो। त्यो टुक्रेर गएको नेपाललाई कुन तत्वले कुन रसायनले जोड्यो? उनी भन्दा उनका ससुराली मकवानपुरले एकीकरण गर्नुपर्थ्यो। कान्तिपुरका राजाहरु अझ सम्पन्न थिए। तर उनीहरुबाट त्यही काम किन हुन सकेन? त्यो जिजीविषा र त्यो दृष्टि उनीहरुमा भएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.