|

कञ्चनपुर : तिहार आए संगै कञ्चनपुरका बजारमा किनमेल गर्नेहरुको लर्को लागेको छ। तिहारलाई लक्षित गरी बजार क्षेत्रमा भारत बाट झिकाईएका सामानको बिक्रीमा बढोत्तरी भएको छ।

 मिठाई, आतिशवाजीका सामग्री, भाई मसाला कृतिम फूलका माला, बतासा, देवी देवताका तस्वीरहरु, धातुका सामान, फलफुल, तरकारी, मसालाजन्य पदार्थ, तेल, लुगाकपडा, सप्तरंगी टिका, सजावटका सामग्री, पूजा लगायतका सामग्रीको बिक्रीमा दोव्वरले बृद्धि भएको छ।

यहाँका महेन्द्रनगर, दैजी, सुडा, झलारी, बेलौरी, आइविआरडी, चवन्नी लगायतका बजारमा किनमेल गर्ने ग्राहकहरुले भरिभराउन भएको छ।

बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्यामा बृद्धिसँगै चहलपहलमा समेत बृद्धि भएको छ। तिहारलाई मध्यनजगर गरी खोलिएका बजारमा लहरै टाँगिएका सजावटका सामानले समेत बजारको सौन्दर्यतामा बृद्धि भएको छ।

 तिहार अघि बजारमा मुश्किलले एक जना व्यापारीले दैनिक रु पाँच हजार सम्मको समान बिक्री गर्दै आएकोमा अहिले बिक्री ह्वातै बढेर रु २० हजार देखि ५० हजार सम्म पुगेको छ। ठूला व्यापारीहरुले दैनिक रु ७५ हजार देखि रु एक लाख सम्मको सामग्री बिक्री गर्न भ्याएका छन्।

महेन्द्रनगरको मेनवजारमा कपडा पसल सञ्चालन गर्दै आएका लक्ष्मीदत्त पनेरुले दैनिक रु २० हजार बढीका तयारी पोशाक बिक्री हुँदै आएको बताए।

विगतमा मुश्किलले रु पाँच हजार सम्म तयारी पोशाक बिक्री हुदै आएकोमा तिहारमा एक जोर भएपनि नयाँ लुगा लगाउने चलनका कारण व्यापारमा बृद्धि भएको छ उनले भने, “ग्राहको संख्यामा बृद्धि संगै बेफुर्सदीला बनेका छौं।” 

झलारी बजारमा मिठाईको कारोवार गर्दै आएका गोपाल स्वीटहाउसका सञ्चालक गोपाल कश्यपले तिहारलाई लक्षित गरेर रु एक लाख बढी मूल्यको विभिन्न थरिका मिठाई तयार गरी बिक्रीका लागि राखिएको बताउनु भयो। मिठाई प्रति किलो रु तीन सयदेखि रु ५५० प्रति किलोका दरले बिक्री भैरहेको उनले बताए।

माटोका भारतीय पालाको बिक्री बढयो

भारत बाट आयातित माटोका पालको बिक्रीमा बढोत्तरी भएको छ। घरमा दीपावली गर्नका लागि विगतमा मोमवत्तीको अधिक प्रयोग हुदै आएकोमा यस बर्ष देखि स्थानिय बासिन्दाले दीपावलीका लागि पालाको माग गर्न थालेपछि यसको बिक्रीमा बढोत्तरी भएको छ।

भारत बाट मात्रै यस बर्ष महेन्द्रनगर बजारमा मात्रै रु १० लाख बढीका पाला आयात गरिएको व्यापारीहरुको भनाई रहेको छ। विगतका बर्षमा माग नहुदा थोरै मात्र व्यापारीलेले पाला बिक्री गर्दै आएका थिए। हाल परम्परागत रुपमा दीपावली मनाउने चलन बढन थालेपछि पालको माग बढन थालेको स्थानिय व्यापारी मदनदास गुप्ताले बताए।

भाइमसाला, बतासा र मिठाईको कारोवार 

महेन्द्रनगर लगायतका बजारमा भाईमसाला, बतासा र मिठाईको माग समेत बढ्न थालेको छ। विगतमा सस्तो मिठाई मात्रै बढी बिक्री हुदै आएकोमा हाल खाद्य पदार्थ बारे उपभोक्ता जागरुक बन्दै गएकाले महंगो र गुणस्तीय मिठाईको माग अधिक रहेको मिठाई व्यवसायीहरुको भनाई रहेको छ।

गत बर्ष कञ्चनपुरमा झण्डै रु तीन करोडको मिठाई तिहार लगायतका चाडपर्वमा खपत भएकोमा यस बर्ष माग अधिक आउन थालेपछि व्यवसायीहरुले विगतको तुलनामा डेढ गुना बढी मिठाई उत्पादन गरी पसलमा राखेका छन।

भाई मसालमाका रुपमा रहने ओखर , काजु, किसमिस लगायतका सामानको बिक्री समेत विगतकै तुलनामा औषतमा बिक्री भैरहेको छ। बतासा मिठाईको भने माग थोरै रहेको छ। माग अत्यधिक नआउदा भारत बाट ल्याईएको बतासा थन्क्याउनु पर्ने पिर व्यवसायीहरुलाई रहेको छ।

देवी देवताका तस्वीर, सप्तरंगी टीका र प्लाष्टिका माला 

देवी देवताका तस्वीर, सप्तरंगी टिका, प्लाष्टिकका मालाको बिक्रीमा भने गिरावट आएको छ। बजार क्षेत्रमा प्लाष्टिकका मालाको व्यापार औषतमा रहेपनि ग्रामीण क्षेत्रमा भने सयपत्री, मखमली लगायतका फुल प्रयाप्त फुलेकाले प्लाष्टिका मालाको कम मात्रै खपत हुने भएको छ।

 देवी देवताका तस्वीरहरु खरिदमा समेत कमै उपभोक्ताले चासो देखाउने गरेको स्थानिय व्यापारीहरुको भनाई रहेको छ। बजार क्षेत्रमा झण्डै रु एक करोडका प्लाष्टिका माला बिक्रीका लागि व्यापारीहरुले ल्याएको अनुमान गरिएको छ। स्थानिय बासिन्दाले दशैंमै टिका खरिद गर्दा तिहारमा भने थोरै मात्र सप्तरंगी टिकाको व्यापार भैरहेको व्यापारीहरुको भनाई रहेको छ। 

झिलमिली बत्तीको कारोबार ह्वातै बढ्दो

दीपावलीमा घरलाई झिलिमिल पार्नका लागि लगाईने इलेक्ट्रोनिक बत्तिको कारोवार भने ह्वातै बढेको छ। बत्ति र रंगिविरंगि वल्वको निकै माग रहेको छ।

ग्रामीण क्षेत्र देखि शहर बजार, सार्वजिनक स्थल र कार्यालय सजाउनका लागि झिलमिलि बत्तिको प्रयोग गर्ने चलन बढदो रुपमा रहेको छ। चिन र भारत बाट व्यापारीहरुले बिक्रीका लागि ल्याईएका झिलिमिलि बत्तिको कञ्चनपुरमा अधिक प्रयोग हुने गरेको छ।

फलफूल र तरकारीको मूल्य उच्च   

कञ्चनपुरका बजारमा फलफुल र तरकारीको मूल्य भने दोव्वरले बृद्धि भएको छ। काउली, प्याज, टमाटर, आलु, सिमला मिर्च, भिण्डी, हरियो तरकारीको मूल्य बढेर रु एक १० प्रति किलो देखि रु दुई सय प्रति किलो सम्म पुगेको छ। तरकारीको मूल्य बढेपछि विपन्न र मध्मस्तरको आय भएका उपभोक्ता बढी मारमा परेका छन।

 व्यापारीहरुले मनोमानी तरिकाले मूल्य बढाउदा स्थानिय उपभोक्ताले महंगो तिहार बनाउन बाध्य भएका छन। रु ११० प्रति दर्जनका हिशावले बजारमा बिक्री हुने केरा समेत हाल मूल्य बढेर रु १५० देखि रु १७० सम्ममा बिक्री भैरहेको छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूलको मूल्य समेत दशैं पछि बृद्धि भएको छ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.