पर्वत : पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएको पछुतो लागेको छ। थोरै क्षेत्रफलमा पनि धेरै उत्पादन हुने आशामा वर्णशंकर जातको धान लगाएका उनको धानका बालामा कालो पोको नामक ढुसीको प्रकोप फैलिएको छ।
‘धेरै फल्छ भनेर छिमेकीका अरूले पनि पहिलेकै वर्षहरूबाट हाइब्रिड जातको बीउ लगाउँदै आएको हो’ उनले भने, ‘अहिले धानको बालामा कालो पोको मात्र छ।’ कुटवाचौपारीका हरि जस्तै हाइब्रिड जातको धान लगाउँदै आएका जिल्लाका धेरै ठाउँका कृषकहरू निराश बनेका छन्। धान थन्क्याउने बेला हुनै लाग्दा यसको प्रकोप बढेपछि समस्या भएको फलेवास नगरपालिकाका कृषक विष्णुप्रसाद उपाध्यायले बताए।
जिल्लाका विभिन्न स्थानका कृषकहरूले धानमा सङ्क्रमण देखिएको भन्दै जानकारी गराउनुले कालो पोकोको सङ्क्रमण जिल्लाभर नै रहेको बुझिन्छ। कुस्मा नगरपालिकाको कटुवाचौपारी, वितलव, पकुवा, चुवा, आर्थर फलेवास नगरपालिकाको मुडिकुवा, देवीस्थान, शंकरपोखरी जलजला गाउँपालिकाको मल्लाज, खनियाघाट, लेकफाँट मोदी गाउँपालिकाको तिलाहार, डिमूवा, गिजान लगायत अन्य गाउँपालिकाहरूमा पनि कालो पोकोको सङ्क्रमण देखिएको छ।
कृषि प्राविधिकहरूका अनुसार यस वर्ष सबैजसो जातका धानहरूमा कालो पोकोको सङ्क्रमण देखिएको भए पनि यसबाट बढी प्रभावित भएको धानको जात वर्णशंकर हो।
कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले आफूले स्थलगत रूपमा कृषकको खेतमै गएर कालो पोकोको प्रकोपको अवस्था अवलोकन गरेर आएको बताए। ‘कृषकहरूलाई मैले पटक पटक हाइब्रिड जातको पछाडि दगुर्नु राम्रो होइन, यहाँको वातावरणले त्यो जातलाई असर गर्छ भन्दै आएको छु।’ रेग्मी भन्छन्, ‘हाइब्रिडमध्येको वर्णशंकर जातमा सङ्क्रमण बढी देखिएको छ।
पर्वतमा मात्र होइन बागलुङ जिल्लाको पनि अवस्था यस्तै छ।’ हाइब्रिड जातको धानको लागि आवश्यक पर्ने माटोको गुण, तापक्रम र अन्य वातावरण पर्वत जिल्लामा नभएको बताउँदै उनले आधुनिक तरिकाले स्थानीय बीउलाई नै मुख्य बालीका रूपमा लिन सुझाए। हाइब्रिड जातले केही समय राम्रै उत्पादन भएको जस्तो देखिएको भए पनि त्यसका लागि चाहिने वातावरण नमिल्दा कृषकलाई ठुलो मार पर्ने रेग्मीको भनाई छ।
यु.एस ३१२, ए.आर.आई जेड ई ६४४४, राधा डी.वाई लगायतका उन्नत जातहरूमा पनि कालो पोकोको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र कार्यालयले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ। स्थानीय रूपमा पाइने जेठो बुढो, पहेँले, एक्ले, गुडुरा, कनजिरा, विरम्फुले लगायतका जातमा भने रोग नदेखिएको र रोग लागेका धान कार्यालयले सिफारिस नगरेको पनि वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए।
प्राविधिकहरूका अनुसार स्थानीय हावापानी, माटो र तापमान सहन नसक्ने भएकाले उन्नत जातको धानमा यो रोग बढी मात्रामा लाग्ने गरेको छ। रात र दिनको तापक्रममा धेरै बदली हुने, पसाउने बेलामा वर्षा भइरहने र रासायनिक मलको बढी प्रयोग लगायतका कारण यस्तो समस्या देखिने गरेको छ।
कालो पोकोबाट सङ्क्रमित धान र पराल दुवै विषाक्त हुने भएकोले यस्तो धानको चामल खाएमा फुड पोइजन, झाडाबान्ता, पेट दुख्ने समस्या हुने तथा पराल, ढुटो कनिका खुवाएका पशुहरुमा पनि पेट सम्बन्धी समस्या देखिने पशु चिकित्सक विमल पौडेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।