|

ओखलढुंगा : ओखलढुंगामा सयौंको संख्यामा कार्यकर्तासहित राप्रपा संयुक्तको जिल्ला कार्य समिति नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ। त्यसैगरि नेकपाका नेता, कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

दीपावलीको अवसरमा नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिका–७ गाउँ कार्य समितिले आयोजना गरेको चियापान कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरुमा राप्रपा संयुक्त जिल्ला समितिका सभापति नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी, हिरा खतिवडा, जसबहादुर राई र नेकपाका शुक्रराज राई, पासाङ शेर्पा, आङशेरा शेर्पा, फुर्वा शेर्पालगायत रहेका छन्। 

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले फूल, माला र अबिर लगाएर नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए।

राप्रपा संयुक्त र नेकपा छाडेर १ सय ७८ जनाभन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको ओखलढुंगा कांग्रेसले दाबी गरेको छ। 

कांग्रेसको पार्टी संरचना विस्तारका लागि जिम्मेवारी पाएका ओखलढुंगा कांग्रेस जिल्ला कार्य समिति उपसभापति तेजेन्द्र खनाल र क्षेत्रीय सचिव गोपालमान थापाको सक्रियतामा राप्रपा संयुक्त र नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्। 

ठूलो संख्यामा भएको पार्टी प्रवेशलाई ओखलढुंगा कांग्रेसले मुख्य उपलब्धि मानेको छ। पार्टी प्रवेशपश्चात् बोल्दै राप्रपा संयुक्तका पूर्व जिल्ला अध्यक्ष सुवेदीले कांग्रेसले मात्रै आफ्नो भावना बुझ्ने भएकाले पार्टी प्रवेश गरेको बताए। 

उनले नेपालमा लोकतन्त्र जोगाउनुपर्छ र कम्युनिष्टको अधिनायकवाद रोक्नुपर्छ भनेर राप्रपा संयुक्तको जिल्ला कार्य समिति नै कांग्रेसको शरणमा आइपुगेको दाबी गरे।

कांग्रेसका पार्टी सभापति प्रदीपकुमार सुनुवारले पार्टी प्रवेश गर्ने सबै नेता तथा कार्यकर्ताहरुलार्य उचित सम्मान र  भूमिका दिइने बताए। 

उनले कार्यक्रममै राप्रपा संयुक्त त्यागेर प्रवेश गर्ने अध्यक्ष सुवेदी र उपाध्यक्ष राईलाई कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित गरिएको घोषणा समेत गरेका थिए। 

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडा, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य खिलानाथ दाहाल, उपसभापति तेजेन्द्र खनाल, ओखलढुंगा कांग्रेसका प्रवक्ता राजकुमार ढुंगाना, नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष नवीन राईलगायतका नेता कार्यकर्ता सहभागी थिए।

नेकपाका नेता तथा पूर्व सांसद हर्कबोल राईको गाउँ समेत रहेको उक्त कार्यक्रमस्थलमा नेकपाले कार्यक्रम विथोल्न खोजेको भन्दै ओखलढुंगा कांग्रेसले आपत्ति जनाएको छ। 

आफ्ना नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने भएपछि नेकपाका नेता कार्यकर्ताले कार्यक्रम हुने अघिल्लो रातदेखि नै धम्क्याएका र कार्यक्रमबीच नेकपाका कार्यकर्ताले विद्युत् पोल भत्काउने, विद्युत् अवरुद्ध गरेको आरोप कांग्रेसले लगाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.