|

कञ्चनपुर : तिहारका बेला देउसी भैलो खेल्नुको रौनकता नै बेग्लै हुने गरेको छ। तर कञ्चनपुरका शहर बजार र ग्रामीण क्षेत्रमा देउसी भैली खेल्ने समूह घर आँगनमा देखिने गरे पनि गाउने गीतमा भने मौलिकता छैन।

डिजेमा रेकर्ड गरिएका आधुनिक देउसी भैलीका गीत नाच्ने प्रचलन बढन थालेपछि परम्परागत रुपमा लय हालेर गाउने देउसी भैली गीतहरू हराउन थालेका छन्।युवा, युवती र बालबालिकाले रेकर्ड गरेको गीत बजाएर देउसी भैली खेल्ने चलन अपनाउन थालेपछि परम्परागत मौलिक गीतहरू ओझेलमा परेका हुन्।

केही ठाउँमा मात्रै मादल खैचडी बजाउँदै देउसी भैलीका गीतहरू गाएको देखिए पनि त्यो नगन्य रुपमा रहेको छ। बुढापाकले देउसी भैलीका गीत युवालाई नसिकाउँदा समेत मौलिक गीत हराउन थालेको सांस्कृतिका जानकार मानसिंह भण्डारीले बताए। 

'देउसी भैलीमा आजभोलि कहाँबाट बढी पैसा उठन सक्छ। त्यो मात्रै सोचिन्छ' उनले भने, ‘परम्परागत मौलिक आफ्नै पारमा गाइने गीत र लोकबाजाको प्रचलन हराउदै जाँदा भावी पीढीले संस्कृति विर्सने खतरा बढेको छ।’ देउसी भैलीका नाममा भारतीय र अश्लील गीत बजाएर गाउने गरिएकाले पनि संस्कृतिमा प्रभाव पार्दै लगेको छ। 

देउसी भैलीमा संकलित रकम पहिला सामाजिक क्षेत्रमा खर्च गर्ने परिपाटी रहे पनि आज भोलि मासु मदिरा र मोजमस्ती मै पैसा सिध्याइने गरेको छ। जसबाट समाजमा यसको नकारात्मक असर पर्न थालेको सञ्चारकर्मी डिवि कुश्मीले बताए।

 'शिरमा ढाका टोपी, दाउरा सुरुवालमा सजिएर हातमा मादल र खैचडी बजाएर देउसी भैली खेल्नु पहिलाको मज्जा नै बेग्लै थियो' शिवराज भट्टले भने, ‘अहिले त्यो आफ्नै नेपालीपन समेत देखिन छाडेको छ।’ उनका अनुसार देउसी भैली खेलेपछि घरका मुलिलाई आशीर्वाद दिने चलन समेत हटेको छ।

 देउसी भैली गाउँका सबैका घरमा खेलेपछि देउडा, ठाडी भाका, झयाउरे लगायतका सुदूरपश्चिमका चर्चित लोक गीत र नृत्य देखाएर मनोरञ्जन गर्ने कार्य हुन छाडेपछि त्यसको ठाउँमा डिजेमा बजारमा चलनचल्तीका गीत बजार नाच्ने कार्यले गर्दा लोक संस्कृति विकृति भित्रिन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.