|

तनहुँ : तनहुँका युवाहरु फूल खेतीतर्फ आकर्षित भएका छन्। कम लागानीमा छिटो र उत्पादन राम्रो हुनका साथै आम्दानी मनग्य भएपछि युवाहरु आकर्षित भएका हुन्। 

विदेशमा गएर श्रम गरेजस्तै यहाँ पनि गर्न सके आयआर्जन हुन्छ भन्ने कुरा युवाहरुले बुझ्न थालेका छन्। त्यस्तै, भएको अहिले शुक्लागण्डकी नगरपालिका–८ डहरेका युवाहरुमा। वैदेशिक रोजगारी छोडेर अहिले सामूहिक रुपमा कृषि, पशुपालन र फूल खेतीमा लागेका छन्।

वैदेशिक रोजगारीमा सन्तुष्ट हुन नसकेपछि अहिले स्वदेशमै मेहेनतका साथ फूल खेतीमा रमाउन थालेका छन्। करिब ५/१० वर्ष वैदेशिक रोजगारीमा बिताएका उनीहरुले सामूहिक फूल खेती गरेर मनग्य आम्दानी लिन थालेका छन्।

वडाका केशवराज श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, भरतराज सिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ, हेमबहादुर सिंह ठकुरीले करिब तीन रोपनी जमिनमा सयपत्री फूल खेतीबाट राम्रो उत्पादन गरेका छन्। कुनै समय करेसा र आँगनको शोभाका लागि लगाइने फूलबाट आम्दानी हुने देखेर युवाहरु व्यावसायिक खेतीमा लागेको बताउँछन्।

‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौं,’ उनीहरुले भने, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फुलको खपत पनि हुने भएपछि यसमा लागेका हौं, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ।’ 

‘वैदेशिक रोजगारीका लागि गरेको मेहेनत आफ्नै बारीमा फुलेको छ, बजारमा समेत यो फूलको माग छ, यसले स्वदेशमा नै भविष्य रहेको महसुस गराएको छ,’ केशवराज श्रेष्ठले भने। बजारमा विशेष गरी तिहारको बेला विदेशबाट आयात गरिने फूल र मालाले वर्चश्व कायम गरिरहेको समयमा फूलखेतीले देशकै आयमा टेवा पुर्‍याएको छ। विदेशको फूल आयातलाई रोक लगाउन पनि आफ्नै ठाउँमा फूल खेती गरेको उनी बताउँछन्। वडाले चार दिनसम्म दिएको फूल खेतीको तालिमले आफूलाई प्रोत्साहित गरेको केशबराज बताउँछन्। 

दक्षिण कोरियामा करिब पाँच वर्ष बिताएर फर्केका उनी साथीहरुसँग मिलेर गाँउमा केही उदाहरणीय कार्य गर्नुपर्छ भनेर कृषि, पशु र फूल खेतीतर्फ लागेको बताउँछन्। ‘विदेशमा पैसा त हुन्छ तर अर्काको इसारामा काम गर्नुपर्छ,’ उनले भने, ‘आफ्नै ठाँउमा उत्पादनलाई जोड दिएपछि आफ्नै लगानी र ठाँउमा धेरै आनन्द हुने रहेछ।’ 

उनीसँगै फूल खेतीमा निकै उत्साहित भएर लागेका उज्ज्वल श्रेष्ठले विदेशको दुःख सम्झेर स्वदेशमै केहि गर्नुपर्छ भनेर यो खेती गरेको बताउँछन्। तिहारमा फूलेको ढकमक्क फूलले वातावरण नै स्वभायमान बनाएको छ। ती फूलले सबैको मन लोभ्याउनुका साथै युवाको अगुवाइ र भविष्य उज्ज्वल भएको भान हुन्छ।

आधुनिक प्रविधिको प्रयोग गरी गरिएको फूल खेतीले अहिले दैनिकजसो आन्तरिक पर्यटकसमेत आकर्षित गर्ने गरेको कृषक मदन पौडेल बताउँछन्। नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट बर्सेनि आयात गर्नुपर्ने बाध्यता रहेकाले शुक्लागण्डकीलाई आत्मनिर्भर बनाउन फूल खेती गरिएको युवाहरु बताउँछन्।

 

स्वदेशमै आत्मनिर्भर हुन चाहने युवाहरुलाई वडाले सहयोग गरिरहेको र विभिन्न कृषि उपजमा लाग्नेहरुलाई आवश्यक तालिमको व्यवस्था समेत गर्दै आएको शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। ‘समुदायलाई आवश्यक पर्ने खाद्यवस्तु उत्पादन र सम्पूर्णको जीवन निर्वाहमा लाग्न चाहनेहरुका लागि तालिम र लगानी अभाव भएकाले त्यसको व्यवस्थापन वडाले गरेको छ,’ रेग्मीले भने, ‘वडाले चालु आवमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ, यसलाई अनुदानमार्फत व्यवसायीलाई उपलब्ध गराउने छौं।’

फूलको बजार 

फूलको बजार धेरै टाढा नहुँदा अझ सहज भएको छ। शुक्लागण्डकी नगरपालिकाभित्रै ८ नम्बर वडामा उत्पादित फूल खपत हुने गरेको उज्ज्वलले बताए। नगरपालिकाभित्र फूल खपत भएको छ।

नगरपालिकास्थित दुलेगौंडा बजार, खैरेनीटारका साथै भिमाद नगरपालिका र कास्की समेत यसको बजार भएको उनीहरु बताउँछन्। ‘हामीले उत्पादन गरेको फूलभन्दा नगरपालिकालाई बढी फूल आवश्यक हुने रहेछ, थप फुल खेती गर्नुपर्ने रहेछ,’ उनले भने, ‘केही फूल जिल्लाबाहिर पठायौं, फूलको माग बढ्दो छ।’

फूलको मूल्य

पुष्प व्यवसायी युवाहरुले फुलको मूल्य कायम गरेका छन्। प्रति थुँगाको मूल्य तीन रुपैयाँ र  प्रतिमालाको १२० रुपैयाँ कायम गरेको केशवराजले जानकारी दिए। फूलको थुँगा ठूलो भएकाले पनि थोरै फूलले धेरै माला बन्न सक्ने उनीहरु बताउँछन्।

करिव २०/३० थुँगो फूलले एउटा राम्रो माला बन्ने उनीहरु बताउँछन्। धेरै मात्रामा फूलबारीबाटै फूलको थुँगा किनेर लाने गरेको उनी बताउँछन्।

७० हजार रुपैयाँ लगानी

युवाहरुले करिब एक लाख रुपैयाँको लगानीमा फूल खेती थालेका हुन्। छ हजार रुपैयाँमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर खेतीको सुरुवात गरेको उनीहरु बताउँछन्। प्रतिबिरुवा ११ रुपैयाँका दरले तीन हजार ५०० वटा विरुवा खरिद गरेका थिए।

खेतीका लागि बिउ, मल बिरुवा ढुवानी गरी करिब ७० हजार रुपैयाँ लगानी गरिएको उनीहरुले जानकारी दिए। 

फूल बिक्रीबाट मूनाफा 

यस वर्ष फूल बिक्रीबाट करिब एक लाख ५० हजार रुपैयाँ मुनाफा भएको केशवराजले बताए। छोटो समयमा यसको प्रतिफल आउने र धेरै मेहेनत समेत गर्न नपर्ने फूल खेतीले मनग्य आम्दानी गरेको उनको भनाइ छ।

करिव ७० हजार रुपैयाँ लगानी गरेकोमा फूल विक्रीबाट करिब दुई लाख आम्दानी भएको थियो। फूल जिल्लाका साथै नगरपालिकामै खपत भएको केशवराजले बताए।

तर, बिरुवाको अभावले गर्दा पुरै जमिनमा फूल रोप्न नसकेको उनीहरुको गुनासो छ। सात रोपनी जमिन भाडा लिएको भए पनि बिरुवाको अभावले गर्दा तीन रोपनीमा मात्रै फूल खेती गरिएको उनीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.