|

भक्ततपुर : संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले आगामी वर्षदेखि शंखधर साख्वाको शालिकमा गर्ने माल्यापर्ण कार्यक्रममा मन्त्रालयले सहकार्य गर्ने घोषणा गरेका छन्। 

नेपाल सम्वत ११४० न्हुँदँको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान थिमिले मंगलवार शंखधरचोकमा गरेको माल्यापर्ण तथा सम्मान कार्यक्रममा मन्त्री भट्टराईले मध्यपुर थिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधरपार्कमा मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए। 

उनले साँखुदेखी फुलचोकीसम्मको पदमार्गलाई शंखधर साख्वा पदमार्ग नामाकरण गर्ने प्रस्ताव गरे। उनले नेपाल सम्वतको पात्रोअनुसार कार्तिक १३ गते बिदा दिएको बताउँदै नेपाल सम्वतको सरकारी प्रयोगको प्रारम्भ भएको जिकिर गरे।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मुलुकभित्र शंखधर साख्वाको शालिक स्थापना गर्न कुनै संघसंस्थाले माग गरे नगरपालिकाले निःशुल्करुपमा शालिक उपलब्ध गराउने बताए। उनले नगरपालिकाको सूचना नेपालीसँगै नेपाल भाषामासमेत प्रकाशित गर्ने घोषणा गरे।

प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, सांसद महेश बस्नेत, राप्रपाका उपाध्यक्ष टंक ढकालले नेपाल सम्वतका प्रवर्दक शंखधरको योगदानको चर्चा गरेका थिए।

त्यस अवसरमा शंखधर साख्वाको बारेमा अध्ययन अनुसन्धान गरी जनसमक्ष ल्याउन भूमिका खेल्ने प्राध्यापक काशीनाथ टमोट र नेपाल भाषालाई उपत्यकाबाहिर प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने सिन्हः स्वाँ खलः काठमाडौंलाई ताम्रपत्रसहित सम्मान गरियो। कार्यक्रममा शंखधर साख्वा स्मारिका विमोचन गरियो भने महाकाली नाच पनि प्रदर्शन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.