आशीर्वाद हैन पैसाकै लागि आउँदा रहेछन् देउसे

|

पर्वत : ‘हे बाबु के कुरा गर्नु र? छैन बरै त्यो जमानाको जस्तो तिहार।’ पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको भण्डारी थरका ८४ वर्षीय नरबहादुर भण्डारी भन्छन्, ‘हामी बच्चा र युवा हुँदाभन्दा अहिलेको तिहार धेरै फरक भए जस्तो मान्छु के रे।’

नरबहादुर बच्चा हुने बेलामा भैली खेले, चामलको बोरामा भैलीका लागि दिएको चामल, रोटी र केही पैसा पनि सँगाले। त्यो पैसालाई गाउँदेखि विद्यालय सम्म जाने सडक सफा गर्न, खड्कीला   बनाउन र चौतारीमा ‘स्ल्याट’ छाप्नका लागि खर्च गरे।

तर नरबहादुर आजभोलिको संस्कृति देखेर अचम्ममा पर्छन्। आप्mनो घरमा देउसी भैलो खेल्दै आएकाहरूलाई सुझाउँछन्, ‘बाबु हो बलीराजाले पठाएका भैली भनेर सकेको दान दिने हो। यो पैसालाई बनभोज खाएर आफूहरुले रमाइलो गर्न खर्च नगरे जाति हुन्छ।’ दशकौँ पहिले उनी जस्तै उनका साथीहरूले देउसी खेल्दा आएको पैसाले सडक बनाएको उदाहरणको अगाडि आजको पुस्ताले उठाएको पैसाले सामाजिक सेवामा प्रयोग नगर्दा उनीहरू जस्ता धेरैलाई दुःख लाग्ने गरेको छ।

शंकरपोखरीकै पुर्कोटका पूर्णबहादुर दर्जीले पनि बच्चा र युवा हुँदा भैली खेलेर केही पैसा जम्मा गरेका रहेछन्। उनको समूहले त्यो पैसालाई सामाजिक सेवाको लागि खर्च गरेका रहेछन्।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दर्जीले पनि अहिलेका भैलीले पहिलेको तुलनामा धेरै पैसा उठाउने गरेको तर त्यो सबै अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेको भन्दै दुखेसो पोखे।

‘हो हामी सबैले बलीराजाले पठाएको भनेर तिनै राजाको नाममा पैसा सङ्कलन गर्ने हो।’ उनले भने, ‘फलानो मान्छे आएको रहेछ भनेर पैसा दिने होइनन्, बलीराजाको नामले गर्दा दिएका हुन्। अनि त्यही पैसालाई आफ्नो स्वार्थमा खर्च गर्न त भएन नि? हुन त म जान्दिन बाबु, मैले बुझेको यही हो।’

नरबहादुर र पूर्णबहादुरले भनेको कुरालाई आजभोलिका युवाले प्रमाणित गरेकै कारण उनीहरूको यो गुनासो आएको हो। देउसी भैलो खेलेर कमाएको हजारौँ रुपैयाँ युवाहरूले रमाइलोमा खर्च गर्ने प्रवृत्तिले समाजमा राम्रो सन्देश नगएको जनप्रतिनिधि र सामाजिक अगुवाहरू पनि बताउँछन्।

बागलुङको बागलुङ नगरपालिकाा एक जना राजनीतिज्ञ टेक बहादुर रोकायाले आफूले आफ्ना गाउँका युवाहरूलाई भैलीको नाममा पैसाको दुरुपयोग नगर्न र त्यो पैसालाई सामाजिक वा मानव कल्याणको रूपमा खर्च गर्न सुझाउने गरेको बताए।

फलेवास नगरपालिकाकै पूर्व शिक्षक रामकृष्ण रेग्मीले पनि आफू शिक्षण पेसाबाट अवकाश हुनु पूर्व कक्षाकोठामा जाँदा हरेक विद्यार्थीहरूलाई भैली खेलेको पैसा व्यक्तिगत रूपमा खर्च नगर्न भनी सिकाउने गरेको बताए।

‘म उमेरले ५६ वर्षको भएँ, म प्रौढ अवस्थामा हुँदा पनि भैले खेलेर मन्दिर र सत्तल बनाएका थियौँ। गाउँका सबै युवाहरूले पनि त्यो अभियानमा सघाएका थिए।’ उनले भने, ‘युवाहरूले यो गरेनन् भनेर दोष लगाएर मात्रै पनि हुँदैन, केही सुझबुझ भएकाहरूले युवाहरूलाई कुरा बुझाउन सकेमा उनीहरू पनि सामाजिक सेवाको लागि तयार हुन्छन्।’

मनोविज्ञान विषयको अध्ययन गरेका रेग्मीले बच्चा जन्मिएकै बेलामा के गर्ने भनेर निधो नहुने भएकोले समाजले जस्तो वातावरण दिएको हुन्छ त्यही बाटोमा यात्रा गर्ने उनको भनाइ छ।

पाको पुस्तालाई आजभोलिका युवा भैलीले आशीर्वाद दिनको लागि भन्दा पनि पैसा माग्नका लागि खेलेका हुन कि? जस्तो लाग्छ। ‘घरमा भैली आएका थिए। धरामा २ सय जति हुँदो हो, त्यो दिएँ तर बिदा पटक्कै मानेन।’ उनीहरूले सोचेको जति पैसा नदिएसम्म बिदा नै नहुने।’

७३ गोमादवी उपाध्यायले भनिन, ‘भैली भनेको त आशीर्वाद दिन पो आउने हो, की यति पैसा चाहियो भनेर लर्ने हो?’ गोमादेवीको अनुभव अनुसार तिहारमा भैलीले दिएको आशीर्वाद लाग्छ भन्ने ठुलो विश्वास रहेको छ।

त्यही कारण घरमा आएका भैलिनीको मन कुँडाउन हुँदैन भन्ने उनको विचार छ। तर देउसी खेल्नेहरूले ताकेता गरेर पैसा माग्ने प्रवृत्तिले आजभोलिका भैलेनीहरु आशीर्वाद दिन भन्दा पनि पैसा सङ्कलनका लागि खेल्ने गरेको उनलाई लागेको छ।

जिल्लामा हुने साना तथा ठुला कार्यक्रम र फोरमहरूमा पनि यो विषयले चर्चा पाउने गरेको छ। प्रतिनिधि, कार्यालयका कर्मचारी, सामाजिक अगुवा लगायतले पनि युवाहरूको सोचमा केही सुधार हुनुपर्ने सुझाउँदै आएका छन्। तिहारमा उठाएको पैसाले वनभोज खाएकोमा भन्दा पनि उनीहरूको प्रवृत्तिले देशका कर्णधार युवाहरूलाई कुन बाटोमा लिएर जान्छ भन्ने कुरा महत्वपूर्ण रहने धेरैको भनाई छ।

पाका पुस्ताको अनुभव सुन्दै गर्दा सबै युवा पिँढीहरूमा त यो केन्द्रित छैन नै। कतिपय युवाहरूका कारण सबैलाई दोष दिन नमिल्ने पनि पाको पुस्ता नै बताउँछ। तर युवाहरूमा सकारात्मक र सामाजिक सोचको विकास नभएसम्म समुदाय र सिङ्गो देशमा नै समृद्धिको परिकल्पना गर्न नसकिने उनीहरूको विचार छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.