|
तस्विरः योगेश खड्काको सहयोगमा

बागलुङ :  हिमालपारिको जिल्ला मुस्ताङ। मनोरम दृष्यले भरिपूर्ण छ। देश तथा विदेशका पर्यटकको गन्तव्य बनेको मुस्ताङ हेर्दा जति मनोरम छ घुम्दा थकाई उत्तिकै लाग्छ। सा–साना बस्तीहरू।

घाँसादेखि कोरल्ला पुगेको कालीगण्डकी कोरिडोरको आसपासका ससाना व्यापारिक केन्द्र। तिनै व्यापारिक केन्द्रमा रहेका होटल मुस्ताङ घुम्ने पर्यटक बिसाउने थलो हुन्।

गाउँघरदेखि शहर बजारबाट मुस्ताङको प्राकृतिक छटासँग रम्न पुग्नेहरुको बिसाइ फेर्ने ठाउँ मुस्ताङका होटल मात्रै होइन त्यहाँका गाउँमा सञ्चालनमा आएका घरबास (होमस्टे) हुन थालेका छन्। मुस्ताङको सदमुकाम जोमसोम बजारदेखि दुई किलोमिटर पर निलगिरी हिमालको काखमा अवस्थित छ ‘ठिनी गाउँ’। त्यही गाउँमा पर्छ थकाली होम–स्टे।

 हिउँदमा हिउँ वर्षने महिनाबाहेक थकाली होम–स्टेका सञ्चालकहरुलाई भ्याईनभ्याई हुने गरेको छ। मुस्ताङको स्थानीय स्वाद र त्यहीँको संस्कृति हेर्न चाहनेहरु सामुदायीक होम–स्टेमा पुग्ने गरेको मुस्ताङका पत्रकार निरज थकाली बताउँछन्।

चिसोबाट बच्न पराम्परागत मुस्ताङी शैलीमा माटोले छाएका घरका छाना, एकआपसमा जोडिएर बसेका १ सय १० घरधुरी र बस्तीको तलपट्टी बारीमा स्याउको बगान र फापरको खेतले ठिनी पुग्ने पर्यटकलाई मोहित पार्ने गर्दछ।

विशेष गरेर ठिनी वरपरका पर्यटकीय गन्तव्यहरु धुम्बा ताल, हिउँचितुवा गुफा, कुछप तेरेङ्गा गुम्बा र घरपझोङ जस्ता पर्यटकीयस्थलमा पुग्ने पर्यटकहरुको आर्कषणको केन्द्र बन्न ठिनी बन्न थालेको घारपाझोङ गाउँपालिका–५ का वडाध्यक्ष वीरेन्द्र थकाली बताउँछन्। उनका अनुसार, त्यहाँको सामुदायिक घरबासले ठिनीलाई थप चिनाएको छ।

मुस्ताङ घुम्न आउने पर्यटकको रोजाइ

केही वर्ष पहिले नाममा मात्र सीमित रहेको ठिनी अहिले आएर त्यहाँको थकाली समाजले मुस्ताङ घुम्न आउने पर्यटकको लागि रोजाईको केन्द्रको रुपमा विकसित गर्दै लगेका छन्। २०७४ सालमा पाँच परिवारले मात्रै सुरु गरेको सामुदायिक घरबासमा अहिले सदस्य परिवारको संख्या १२ पुगेको छ।

‘होटल छोडर गाउँमा बस्न आउनेहरुको संख्या बढेपछि सदस्य घरको संख्या पनि बढायौं’ सामुदायीक होम–स्टेकी सञ्चालिका मनदेवी थकाली भन्छिन् ‘हामी सबैलाई पाहुनाको स्वागतमा भ्याईनभ्याई छ।’

१२ परिवार अवद्ध रहेको सामुदायीक होम–स्टेमा एकै पटकमा १ सय २० जनासम्म पाहुना राख्न सकिने उनले बताइन्। ‘राम्रोसँग अट्ने त्यही हो दुःखसुख अझै धेरै राख्न सकिन्छ’ थकालीले भनिन् ‘घरको खान र माटोको छानामुनी सुत्ने इच्छाले धेरै आउँछन्।’

 ठिनीमा आउन पर्यटकहरु ठिनीमा रहेका थकाली संग्रहालय र यहाँको स्याउ बगान अवलोकन गर्ने निकैनै उत्साहित हुने गरेको उनले सुनाईन्। ठिनी घुम्न आउने पर्यकहरु एकदिन होम–स्टेमा बसेर आदर र सद्भाव साटासाट गर्दै ठिनीको अर्गानिक स्याउको सुकुटी, स्याउको माडा, फापरको ढिँडो, रोटी, लोकल मुस्ताङे आलुको परिकारको मज्जा लिने गर्दछन्।

असोज कात्तिक र चैत वैशाखको समयमा मुस्ताङमा पर्यटकहरुको अत्याधिक चाप हुने थकालीले बताइन्। ‘वर्षमा चार महिना धेरै आउँछन्’ उनले भनिन ‘अरु महिनामा फाटफुट मुस्ताङ आउनेहरु पनि होम–स्टे आउने गरेका छन्।’ मार्फाको स्याउ बगान, मुक्तिनाथ मन्दिर, उपल्लो मुस्ताङ, लोमन्थाङ र कोरोला नाकासम्म पुग्ने पर्यटकहरु ठिनी पुग्ने गरेका छन्।

घुम्नका लागि मात्रै होइन काम बिषेशले मुस्ताङ पुग्नेहरुले समेत स्थानीय खानाको परिकार र पारिवारिक वातावरणका लागि घरबास रोज्ने गरेको उनको अनुभव छ।

घरबास सञ्चालन र पर्यटकहरुले नै गर्ने प्रचार–प्रसारका कारण पछिल्लो समयमा ठिनी गाउँमा पनि पर्यटकको चाप अत्याधिक बढेको देख्दा उत्साहित भएको घारपझोङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र थकालीले बताए।

‘पहिले–पहिले पर्यटकहरुलाई ठिनी भन्ने कुन ठाउँ हो भन्ने कुनै जानकारी थिएन’ उनले भने– ‘पछिल्लो समयमा ठिनी कहाँ छ भन्‍दै पर्यटकहरु आउने गरेकाले मत दंगै छु।’ स्वदेशी र बिदेशी दुवैको रोजाईमा हाम–स्टे पर्नुले स्थानीय उत्पादन र कला संस्कृतिको प्रबद्र्धनमा मद्धत पुग्ने उनको बुझाई छ।

उनी भन्छन्– ‘यत्तिले मात्र पुग्दैन ठिनीलाई पर्यटनमा अझ विकास गर्नुपर्ने छ, ठिनी लगायत त्यस वरपर रहेको पर्यटकीय गन्तव्यलाई विकास गर्ने हामीले गुरुयोजना अगाडि सारेका छौं।’

 होमस्टेको सफलताले जनप्रतिनिधिलाई पनि हौसाएको छ। उनले धुम्बाताल वरपर बाँधिएको पुरानो तारको जालीलाई विस्थापित गर्ने, नयाँ तारजाली लगाउने, धुम्बा ताललाई आर्कषक बनाउन झिलीमिल बिजुली राख्ने, पर्यटकीय क्षेत्र घारपोझोङसम्म पुग्नको लागि पदमार्ग निर्माण गर्ने र पर्यटकलाई सहज पुर्‍याउन तिलिचो बेसक्यापसम्म पुग्न मोटरबाटाको निर्माण गर्ने लगायतका योजना थकालीले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.