साटिएला त नेपालका नोट?

|

काठमाडौं‌ : भारत सरकारले ५ सय र हजार दरका नोटको प्रतिबन्ध लगाएको ३४ दिनपछि यो नोट साट्ने वा नसाट्ने विषयमा नेपाली पक्षसँग विहीबार (आज) छलफल गर्दैछ।

बुधबार भारत गएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी संयोजकत्वको टोलीले विहीबार भारतीय पक्षसँग यस विषयमा छलफल गर्दैछ। टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सह सचिव, नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख र २ जना विज्ञ सहभागी छन्।

यो छलफल सकारात्मक भएमा नेपालमा रहेका भारतीय नोट साटिनेछ। भारत सरकारले भारतीय जनतालाई पैसा सटही गर्ने जिम्मा २८ डिसेम्बर २०१६ मा सकिएपनि राष्ट्र बैंकका अधिकारीहरु नेपालीसँग भएको पैसा सटही हुनेमा आशावादी छन्। तर बैंकसँग भएको मात्र साटिने वा सर्वसाधारणको पनि साटिने भन्ने टुंगो छैन। सर्वसाधारणसँग भएको पैसा साटिने विषय सरकारी अधिकारीको पहलमा भर पर्ने सरोकारवाला बताउँछन्।

भारु सटहीमा नेपालको चाहना के हो?

भारत सरकारले अनुमति दिएरै नेपालमा चलेका पाँच सय र एक हजार दरका भारु नोट सटही व्यवस्था गर्नुपर्ने नेपाली पक्षको माग छ। यसको लागि राष्ट्र बैंकले एक जना व्यक्तिले २५ हजार भारुसम्म साट्ने प्रस्ताव गर्नेछ।  भारु साट्ने व्यक्तिको बैंक खाता अनिवार्य गरिएको छ। बैंक खाता नहुनेले खाता खोलेपछि मात्र रकम साट्ने व्यवस्था गर्ने नेपाली पक्षले प्रस्ताव गर्नेछ। 

त्यस्तै बैंकमा भएको भारु भने राष्ट्र बैंकले रिजर्ब बैंक अफ इन्डियालाई बुझाउने छ। भारतीय केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त भएका नोट सक्कली भएको प्रमाणित भएपछि भुक्तानी दिने प्रस्ताव गर्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए।

समस्या र चुनौती

नेपालमा पाँच सय र एक हजार दरका कति नोट छन् भन्ने विषयमा यकिन तथ्यांक छैन। नेपाल उद्योग वाणिज्य महासंघले १५ अर्बको हारारहारीमा यस्तो नोट नेपालीसँग भएको अर्थमन्त्री कृष्णबहादुर महरासँगको भेटमा बताएको थियो।

यी नोट प्रतिबन्ध लगाएपछि नेपालमा परेको समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाल, भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकाय र अधिकारीहरुले भारतीय पक्षसँग पटक पटक आग्रह गर्दा ३४ दिन पछिमात्रै औपचारिक वार्तको लागि भारत सरकारले बोलाएको छ।

नेपालस्थित भारतीय दूतावासले नक्कली भारतीय नोट साटिन सक्ने, स्रोत नखुलेको सम्पत्ति पनि बैध बनाउने प्रयास हुन सक्ने जस्ता समस्या देखाएको छ। भारतमा यस्तो नोट सटहीमा प्रतिबन्ध लगाइसकेको अवस्थामा खुल्ला सीमानाको कारण भारतमा अवैध मानिएका पैसा समेत नेपाल आउन सक्ने चिन्ता कायमै छ। 'नेपाल भारतको कनेक्सन छ, भारत रहेको यस्तो पैसा सकेर मात्रै भारत सरकारले नेपाली पक्षलाई बोलाएको छ तर त्यहाँ नसाटिएको रकम यहाँ आउन सक्ने कुरा प्रति दुवै सरकार चनाखो हुन जरुरी छ' नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले थाहाखबरसँग भने।

चनाखो बन्न सरोकारवालाको आग्रह

बिहीबारको छलफलको क्रममा नेपाली पक्षले राष्ट्र बैंकमा रहेको ३ करोड ६० लाख रुपैयाँको विषयमा भारतीय अधिकारीलाई जानकारी गराउने छ। साथै नेपाल भारतको खुल्ला सीमाना र भारत नेपाली कामदारको कारण पनि ठूलो परिणाममा यस्तो पैसा रहेको जानकारी नेपाली पक्षले गराउने भएता पनि यकिन रकम कति छ बताउन सक्ने स्थिति छैन।

तर नेपालीसँग भएको यस्तो नोट साटिनेमा सरोकारवालाहरु आशावादी रहेका छन्। अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार पुण्यप्रसाद रेग्मी नेपालीसँग भएको सबै रकम साटिन सक्पैने बताउँछन्। 'निरन्तर भारतीय अधिकारीहरुसँग सम्पर्क गरिरहेका छौं, सकरात्मक प्रतिक्रिया आएको छ' रेग्मीले थाहाखबरलाई भने।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नेपाली बैंकमा रहेको ३ करोड ६० लाख रुपैयाँ साटिने भएपनि सर्वसाधारणसँग रहेको रकम साट्न सरकारले बल गर्नुपर्ने बताउछन्। 'भारतले आफ्ना नागरिकलाई दिएको समय पनि सकिसकेको छ नेपाली नागरिकसँग भएको पैसा साट्छ वा साट्दैन यस विषयमा राजनीतिक तहबाट पहल गर्नुपर्छ सरकार चनाखो बन्‍नुपर्ने आवश्‍यकता छ' पौडेलले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.