|

रमेश पराजुली-
सिन्धुपाल्चोक :
आधा दर्जनभन्दा बढी ब्रिकेट उद्योग सञ्चालनमा आएपछि सिन्धुपाल्चोकको अत्तरपुर गाविस–८ सिक्रेका बासिन्दाले गाउँमै रोजगारी पाएका छन्। फलामे चुलोमा प्रयोग हुने ब्रिकेट उत्पादनका लागि ८ वटा उद्योग सञ्चालनमा आएपछि ३५ जना स्थानीयलाई गाउँमै राेजगारी मिलेको हो।

‘गत वर्ष भारतले गरेको नाकाबन्दीका बेला ग्यासको चरम अभाव हुँदा यी उद्योगहरुले मनग्य आम्दानी गरे,’ स्थानीय जनक शाक्य भन्छन्– ‘स्थानीय कच्चा पदार्थमा उत्पादन गरिने ब्रिक्रेट उद्योग स्थापना भएसँगै स्थानीयबासीको दैनिकी फेरिएको छ। साथै सामुदायिक वनको आम्दानी समेत बढेको छ ।’

जङ्गलमा त्यसै कुहिएर गएको झारपात संकलन गरी स्थानीयबासीले सामुदायिक वनलाई प्रतिकिलो २५ पैसा राजस्व तिर्ने गरेका छन्। ‘उद्योगले एक दिनमा एक हजार पाँच सयदेखि एक हजार सात सय थान ब्रिकेट उत्पादन गर्ने गरेको छ,’ स्थानीय शशीकुमार शाक्यले भने– ‘एक महिनामा ९ हजार किलो कच्चा पदार्थ प्रयोग हुन्छ।’

ब्रिकेट उत्पादनको मुख्य समय कात्तिकदेखि वैशाखसम्म रहेकाले बाँकी महिना उद्योगहरु बन्द रहन्छन्। यो अवधिमा पहिले नै उत्पादित ब्रिकेट बिक्री हुने गरेको छ। यसका लागि २ लाख ब्रिकेट भण्डारण गरी राखिएको सिक्रे ब्रिकेट उद्योग सञ्चालक समितिका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन्। 

यहाँ उत्पादन भएको ब्रिकेट सिन्धुपाल्चोकका अलावा दोलखा, काठमाडौँ तथा तराईका केही जिल्लामा समेत निर्यात गर्ने गरिएको छ।

विकल्पमा ब्रिकेट    

ब्रिकेट उर्जाको एउटा राम्रो विकल्प हो। नवजात शिशु सेक्न तथा कोठा न्यानो बनाउनमात्र प्रचलनमा रहेको ब्रिकेट आजभोलि घरमात्र होइन होटल, रेस्टुरेन्ट, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूमा समेत प्रयोग हुन थालेको छ। ‘पहिला जाडोयाममा मात्र बिक्री हुन्थ्यो, अहिले बिक्री बढेको छ,’ हिमालयन नेचुरल्स ब्रिकेट उद्योगका प्रबन्ध सञ्चालक सुशील ज्ञवाली भन्छन्– ‘कुनै समयमा एक वर्षभित्र नेचुरल्सले १० लाखवटा ब्रिकेट बिक्री गरेको छ।’
सिन्धुपाल्चोकमा सञ्चालित ८ वटा उद्योगले बर्सेनि एकलाख भन्दा बढी ब्रिकेट उत्पादन गर्ने गरेका छन्। २०६३ सालदेखि ब्रिकेट बनाउन थालेका अत्तरपुर–७ ताम्चेका फत्तेलाल श्रेष्ठ त्यो बेला वार्षिक दुई हजारवटा ब्रिकेट बनाउँदा पनि बजार नपाएको अनुभव सुनाउँछन् । उनकाअनुसार केही वर्षयता बजारको खासै समस्या छैन । यद्यपी अहिले देशका अधिकांश भू–भागमा लोडसेडिङ हटेपछि भने ब्रिकेट बिक्रीमा केही कमी आएको ताम्चे ब्रिकेट उद्योगका सञ्चालक श्रेष्ठको भनाइ छ ।

ग्रीनसिटी, मिलिजुली, हिमाली र जोरगणेश ब्रिकेट उद्योग तथा महिला जागरण समितिलगायतले ब्रिकेट उत्पादन गरी स्थानीय बजारमा बेचिरहेका छन्।
जल तथा ऊर्जा आयोगको सन् २०१० को प्रतिवेदन अनुसार, मुलुकमा ८७ प्रतिशत परम्परागत, १२ प्रतिशत व्यापारिक र १ प्रतिशत नविकरणीय ऊर्जाको प्रयोग हुन्छ।

ब्रिकेटका बहुगुण

धानको भुस, कागज, काठको धूलो, वनमारासहित पातपतिङ्गर तथा खेतीपातीबाट निस्किने अवशेषको प्रयोग गरेर ब्रिकेट बनाइन्छ। झारपात, काठको धूलो तथा पातपतिङ्गर डढाएर बनाइएको ब्रिकेटलाई कार्बनाइज्ड ब्रिकेट भनिन्छ। जुन कालो रङको हुन्छ । धूलो बनाएरमात्र बनाएको ननकार्बनाइज्ड ब्रिकेट खैरो रङको हुन्छ।

घरायसी प्रयोगका लागि कार्बनाइज्ड बिहाईभ (बीचमा प्वाल भएको गोलो) ब्रिकेट प्रयोग भइरहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी उषा पाण्डे बताउँछिन् । उद्योगहरूमा भने कोइलाको रूपमा प्रयोग गर्न सकिने ब्रिकेट (पेलेट) तथा दाउरा आकारका ब्रिकेट प्रचलनमा छ। फर्निचर उद्योगबाट निस्कने ७५ प्रतिशत काठको धूलो खेर गइरहेको छ, त्यसलाई ब्रिकेट बनाउन उपयोग गर्न सकिन्छ,’ पाण्डे भन्छिन् । ब्रिकेट प्रयोगले दाउराबाट भन्दा कम कार्बन उत्सर्जन हुन्छ। वातावरण संरक्षण हुन्छ। 

हिमालयन नेचुरल्सका सञ्चालक बालकृष्ण न्यौपाने काठमाडौंमा मात्र होटलमा ९३ टन, रेस्टुरेन्टमा ८ सय ५३ टन र सुनचाँदी उद्योग लगायतका उद्योगमा ९० टन कोइला प्रयोग भइरहेको र यसलाई प्यालेट ब्रिकेटले विस्थापित गर्न सकिने सम्भावना औँल्याउँछन्। 

तन्दुरी रेस्टुरेन्टमा एक सिलिन्डर ग्यासको साटो कोइला प्रयोग गर्ने हो भने सात सय रुपैयाँ सस्तो पर्ने न्यौपाने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.