कुनै हालतमा विमानस्थल बनाउनै पर्ने अडान

|

बारा : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अझै सजिलो नभएको बताएका छन्।

बाराको जीतपुसिमरा-१६ पिलुवामा स्वर्गीय ईश्वरी बजगाईको १३ औं दिनको पुण्यतीथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले विमानस्थलमा रहेका खतरालाई पन्छाउन स्थानीयबासीको राम्रो सहयोग आवश्यक रहेको बताए।

‘कहिले वातावरणको कुरा उठ्छ। अनि कहिले पैसाको कुरा उठ्ने छ’, पूर्व प्रधानमन्त्री नेपालले भने,‘पैसाको नाममा अहिले विमानस्थल किन चाहियो भन्‍ने कुराले यी खतरा विद्यमान छदैँछन्।’

वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्त लाने षड्यन्त्र भएको उनले बताए। नेता नेपालले भने,'कागजमा निजगढ राखेर विमानस्थल लुम्बिनी र पोखरा जान्छ कि भन्‍ने डर मलाई थियो। अनि यहाँको कुरा यत्तिकै चट् होला कि भन्‍ने कुरा पनि याद थियो।' उनले अहिले पनि मनमा यस्तै डर भएको सुनाए। 

जनचासो बढाउन भेला

विमानस्थललाई गति दिन ता नेपालले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको जानकारी दिए। बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि प्रतिवद्ध रहेको बताएका छन्।

‘सर्लाही जिल्लाका साथीलाई सर्लाहीमै बनाउनुपर्छ भन्‍ने लागेको थियो’, नेता नेपालले भने,‘त्यसका लागि पहल पनि सुरु गरिसक्नुभएको रहेछ। भेलामा  स्वीकार्नु पनि भयो। उहाँहरूले अब दायाँबायाँ नगर्ने प्रतिवद्धता जनाउनु भएको छ।’

निजगढको विकल्प छैन

नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको बताए। ‘सिंगो देशका निमित्त सबैभन्दा अनुकूल छ’, नेता नेपालले भने,'राजधानीको विकल्पमा अर्को कुनै एयरपोर्ट बनाउने हो भने एक घण्टा आइडियल टाइममा पुग्न सकिने ठाउँमा यो विमानस्थल हुनेछ।’

उनले मलेसिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहर भन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडाैंसँगको दूरी अझै घटाउन फास्ट ट्रयाकमा पुल र सुरुङको धेरै भन्दा धेरै प्रयोग गरिने जानकारी दिए।

फास्ट ट्रयाक छिटो बनोस भन्‍ने कुरामा पनि जोड दिनुपर्ने उनले बताए। नेता नेपाल संसदीय समितिको नेतृत्व गरेर त्यसको अनुगमन गर्न आएका थिए।

‘विमानस्थलको विरोध गर्नेलाई पनि लिएर आएको थिएँ’, नेता नेपालले भने,'मसँग हुनेहरू एकसे एक विरोध गर्ने हस्ती थिए। अन्त्यमा सबैले बनाउनुपर्छ भनेर प्रतिवद्धता जनाए।’ 

वन मन्त्रालयमा फाइल अड्कियो

पूर्व प्रधानमन्त्री नेपालले वन मन्त्रालयमा ५ वर्षदेखि रुख कटानको फाइल अड्केको बताए। ‘त्यो फर्केरै आएको छैन। ५ वर्षमा त्यो फाइल विस्तारै हिँडेर गयो कि फर्किने बाटै बिर्सियो कि त्यहीँ छ थन्केको?’, नेता नेपालले प्रश्‍न गरे, 'किन थन्काएका होलान्? रुख काट्नेले पनि ८ लाख काट्ने कुरा भन्छ। मान्छेको सातो लिइहाल्छ। कमसेकम हामी ५० हजार मात्र रुख काट्छौं भनिदिए हुन्थ्यो नि!, एकैचोटी ८ लाख! अनि वनमा माफिया छिरेको शंका भइजान्छ नि? वन सिध्याउनेहरू त्यहाँ लागेछन् कि क्या हो भनेर जनताले पनि प्रश्न उठाउँछन्।’

मन्त्रीको प्रतिवद्ध छन्

विमानस्थल बनाउन नदिन वन र वन्यजन्तुको कुरा उठाउने गरिएको नेता नेपालले बताए। ‘रुख कटानपछि हात्ती हिँड्ने बाटो यतै छ भनेर देखाउन थाले। बुढो सालको ठाउँ देखाउन थाले', उनी भन्छन्।

नेता नेपालले यो विमानस्थल अघि बढाउन आफूले नागरिक उड्यन तथा पर्यटन मन्त्री योगेश भट्टराईसँग कुरा गरेको जानकारी दिए। मन्त्री उत्साहका साथ लागेका बेलामा निराश बनाउने कोशिस भएको उल्लेख गर्दै नेपालले त्यसबाट मन्त्रीको बोली पनि केही दबिएको बताए।

‘फेरि त्यो बोलीलाई ठूलो बनाउन बल गर्नुपर्छ। नभए त उहाँले एक लाख मान्छे जम्मा गर्ने, मंसिरमा महिनाको पहिलो हप्ता शिलान्यास गर्ने कुरा पनि गर्नुभएको हो’ नेता नेपालले भने, 'अहिले पनि उहाँ प्रतिवद्ध हुनुहुन्छ। त्यसो हुनाले यही मौकामा यसलाई अघि बढाउन सबैले जोड गर्नुपर्छ।’ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले गरेको कार्यक्रममा प्रदेश २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य बलवीर चौधरी, ज्वाला साह, दिनेश राई, गोपाल ठाकुर, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासंद सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेल लगायतले बोलेका थिए। 

नेकपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय बजगाईँको पृष्ठभूमिबारे उनका भतिजासमेत रहेका जिल्ला सदस्य केदार बजगाईंले चर्चा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.