घाट खरिदबिक्रीमा समस्या, नदीमा सवारीसाधन प्रवेश रोक

|

भद्रपुर (झापा) : छठ पर्व सुरु भएसँगै नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरको मेची नदी किनारमा तयारी तीव्रता दिइएको छ ।

कात्तिक १६ शनिवार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्वलाई भव्यता दिन मेची नदी किनार सिंगार्न थालिएको हो। भारतको पश्चिम बंगाल तथा बिहार गरी दुईवटा राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वलाई भव्यता दिन दुवै देशका भक्तजनसहित मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिक रूपमा तयारीमा जुटेका छन्।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा दुवै समितिले मेची नदीमा पूजा स्थल (घाट)देखि बिजुली बत्ती जडान, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुक्ति स्थल निर्माणलगायत काम भइरहेको छ। दसैँ सकिएलगत्तै तयारीमा जुटिपरेको आयोजक समितिले बताएको छ।

भद्रपुर वडा नम्बर ५ स्थित मसानघाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवीबस्तीसम्मको करिब दुई किलोमिटर वारिपारि नेपाल र भारतका भक्तजनहरूले करिब पाँच हजारभन्दा बढी पूजा स्थल बनाएर छठ पर्व मनाउँछन्। यहाँ मारवाडी, बंगाली, राजवंशी, पहाडी मुलका मानिसहरुले मेची नदीमा छठ पर्व मनाउने गर्दछन्। मेची पुलमाथि बिजुली बत्ती जडान गर्नुका साथै तीन वटा प्रवेशद्वारमा बिजुलीले झिलिमिली बनाइने मैथिली समाज भद्रपुरका अध्यक्ष रमेश चन्द्र झाले बताए। बिजुली बत्ती जडानका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गरिने उनको भनाइ छ।

पूजा स्थल खरिद बिक्रीले समस्या

पूजा स्थल खरिद बिक्रीले विवाद बल्झिएको भन्दै मैथिली समाजले पहिलो पटक पण्डालसहितको पूजा स्थल निर्माण गरिदिने भएको छ। समाजले मेची पुलको दक्षिण र नदीको पूर्वतर्फ पण्डालसहितको घाट निर्माण गर्दैछ। 

नदीको पश्चिमतर्फ मेची किनारबासीलाई घाट दिने नगरपालिकाले आग्रह बमोजिम छाडिदिएको हो। तर, समाजले पण्डालसहितको घाट बिक्री गर्दा बढी रकम लिएको भन्दै भक्तजनहरूले गुनासो गर्न थालेका छन्। समाजले १० वटा पण्डाल निर्माण गरी २५० परिवारलाई ८०० रुपैयाँको दरले घाट उपलब्ध गराउँदै छ।

युनिक समूहले पाँच फिट घाटको ५०० रुपैयाँ लिने गरेकोमा समाजले ६ फिट घाटको ८०० रुपैयाँ लिँदा समस्या उत्पन्न भएको स्थानीय विक्रम सहनीले बताए। नगरपालिकाले मेची किनारवासीका लागि पश्चिमतर्फको नदी किनार दिन भनिएकोमा केही व्यक्तिले निजी फाइदाका लागि अरूलाई व्यक्तिलाई बिक्री गर्न थालेको गुनासो आउने गरेको उनको भनाइ छ।

सवारी साधन प्रवेशमा रोक 

अघिल्लो वर्ष छठ पर्वको बेलुका ट्रयाक्टरले किचेर मेची नदी किनारमा एक बालिकाको मृत्यु भएको भन्दै प्रहरीले यस वर्ष ठूला सवारीसाधन मेची नदी किनार लैजान रोक लगाउने भएको छ। 

व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाको दृष्टिकोणलाई लक्षित गर्दै प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालयले भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्रयाक्टरसहित टेम्पो, रागाँगाडा, मोटरसाइकल, चार पाङग्रे सवारीसाधनमाथि रोक लगाउने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। मेची नदी किनार पुग्न भद्रपुर नगरपालिका अगाडि, भद्रपुर भन्सार अगाडि र पछाडिको बाटो प्रयोग गर्न सकिने बताइएको छ।

नेपाल र भारत गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको छठमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पर्वका दिन मेची नदीमा २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी १५०, सशस्त्र प्रहरी १०० रुपैयाँ परिचालन हुनेछ। साथै‚ भारतीय क्षेत्रमा एसएसबी र भारतीय प्रहरी समेत परिचालन हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.