चोरीमा भारतीय सवारी प्रयोग

|

भद्रपुर, (झापा) : भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। उनलाई शुक्रबार बिहान पत्रकार सम्मलेनमार्फत जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो।

एकैपटक तीन घरमा चोरी

सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठूलो परिणामको सुनको गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

प्रहरीका अनुसार कमल गाउँपालिका ६ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ वर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ वर्षीया मधु गुप्ताको घरबाट बुधबार दिउँसो कोही नभएको मौका छोपी साहले चोरी गरेका थिए।

एकैपटक तीनवटा घरमा चोरी भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सिसी क्यामेराको फुटेज हेरेर साहको पहिचान गरी बिर्तामोड ५ स्थित एक सैलुनबाट निस्किँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

‘भारतीय नागरिक साह डब्लुबी ७४ एम २७२४ नम्बरको जिपमा एक्लै चढेर नेपाल आएको हो’, डिएसपी श्रेष्ठले भने, ‘काँकडभिट्टा नाकाबाट नेपाल छिरेका साहले बिर्तामोडमा आएर चोरी गरी भारत फर्किने क्रममा पक्राउ पर्‍यो।’, उनको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना,  नेपाली ३८ हजार र भारतीय १३ हजार ७ सय रुपैयाँ बरामद भएको उनले बताए।

झापा र मोरङ जिल्लामा पछिल्लो समयमा चोरीका घटना बढेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। ‘हामीले मोरङ प्रहरीसँग पनि सहकार्य गरिरहेका छौँ, प्रहरी उपरीक्षक मैनालीले भने, मोरङमा चोरी घटनामा यी भारतीय नागरिकको संलग्नता हुन सक्छ।,

बरामद भएको गरगहना र नगदसहित साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ। यसअघि पनि मेचीनगर र भद्रपुर क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी चढेर दिउँसै चोरी तथा डाका घटना झापामा भइसकेको छ।  त्यसैगरी भद्रपुरबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार भद्रपुर ५ स्थित बाङ्गेबजार नजिकैबाट आइतबार लक्ष्मी पूजाको दिन राती सोही ठाउँ बस्ने मिन्टु सरकारको मे ५ प ५८३७ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको बारेमा मोटरसाइकल धनी सरकारले वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी गरेका थिए।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएका प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित भद्रपुर ५ बस्ने २३ वर्षीय शनि यादवलाई बिर्तामोडबाट मङ्गलवार पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

यादवले १० हजारमा उक्त मोटरसाइकल बिर्तामोडको सोनम गिरीको मोटरसाइकल ग्यारेजमा बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

त्यसैगरी भद्रपुर ७ बस्ने सुमन गिरीको हिरो कम्पनीको साइकल चोरी गरेको आरोपमा भद्रपुर ५ बस्ने मोहम्मद ऐनारुल पक्राउ परेको छ। ऐनारुलले साइकल चोरी गरी भद्रपुर ५ बस्ने राधेश्याम कार्कीलाई बिक्री गरेको र बिक्री गरेको साइकल प्रहरीले भद्रपुर बजारबाट फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ।

यता पक्राउ परेका मोटरसाइकल चोर यादवलाई इलाका प्रहरी कार्यालय अनारमनी र साइकल चोरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.