|

काठमाडौं : 'सुनगाभा' फिल्मबाट चर्चामा आएका निर्देशक सुवर्ण थापा हिजोआज काठमाडौंमा छन्। काठमाडौंमै जन्मिएको भएपनि उनी फ्रान्सेली नागरिक भइसके। दुई दशक अघि फ्रान्स गएका उनी त्यहाँ पनि फिल्म निर्माण, निर्देशन र अभिनय क्षेत्रमा निरन्तर लागिरहेका छन्। 

सुवर्ण नेपाली विषयवस्तुमा नै फिल्म बनाउँछन्। यसअघि उनी नेपालमा फिल्म छायांकन गरेर फ्रान्स उड्थे। जसले गर्दा उनको नेपाल बसाई छोटो हुन्थ्यो। तर, यसपटकको भने फरक हुँदैछ।  उनी यसपाली फिल्मका सम्पूर्ण काम नेपालमै सिध्याउने योजना सहित आएका छन्।  

सन् १९९४ देखि रंगमञ्चमा अभिनय सुरु गरेका सुवर्ण पछिल्लो समय फिल्म निर्देशन, निर्माण र अभिनयमा व्यस्त छन्। कलाकारितालाई परिचय र पेशा बताउने सुवर्ण सामाजिक विषयका फिल्मबाट नै बढी परिचित छन्। छोटा फिल्ममार्फत सुवर्णले विश्वका बिभिन्न फिल्म महोत्सवमा पनि सहभागिता जनाएका छन्।

यसपटकको नेपाल बसाईमा सुवर्णको योजना छ - फिल्म निर्माणदेखि रंगमञ्चसम्म काम गर्ने। नयाँ बानेश्वर स्थित थाहाखबरको कार्यालयमा उनले नेपाल बसाइँका योजना र फ्रान्सका अनुभव सुनाए।

नेपाल मेरा लागि ठिक्कको देश

सुवर्ण नेपाललाई आफ्ना लागि 'ठिक्कको देश' मान्छन्। फ्रान्समा पनि कलाकारितामा लागेका उनी त्यहाँ खासै जम्न सकेनन्। सुवर्ण फ्रान्स ठूलो देश र आफ्ना लागि पराईजस्तो ठान्छन्। त्यसैले उनी फ्रान्समा मात्र बसिरहन सकेनन् र नेपालमा नै काम गर्ने गरी फर्किए। 

'मलाई नेपाल तान्ने फ्याक्टर भनेको मेरो नेपालको बुझाइ हो' सुवर्ण भन्छन्, 'मैले के भन्न खोजेको हुँ। के भन्न चाहेको छु भन्ने कुरा मेरो हुर्काइले निर्धारण गर्छ। जुन नेपाली हो।' नेपाली विषयलाई जति राम्रोसँग प्रस्तुत गर्न सकिन्छ त्यति राम्रोसँग अरु देशको विषयलाई कलामार्फत प्रस्तुत गर्न आफू अझै सक्षम नभएको सुवर्णको बुझाइ छ। उनी भन्छन्, 'मैले आफूले वकालत गर्ने र जानेको नेपाली संस्कृति, नेपाली भोगाइ नै हो।' 

सुवर्णलाई फ्रान्समा आफू 'आउट साइडर' हुँ जस्तो अनुभूति पनि हुन्छ। त्यही अनुभूतिले नै सुवर्णलाई नेपाल फर्काउन प्रेरित गरेको रहेछ। उनले फ्रान्स अनुभव सुनाए, 'विदेशी कलाकारहरुलाई फ्रान्सको कला क्षेत्रमा काम गर्न गाह्रो हुन्छ। हाम्रो टोन नै मिल्दैन। हामी जति बसे पनि आउटसाइडर नै हुन्छौं। म त्यहाँ धेरै आउटाइडर भएर बस्न चाहिन।' 

सुवर्णले फ्रान्समै रहेका बेला सन् २०१३ मा निर्देशन गरे 'सुनगाभा'। 'सुनगाभा' विश्वका बिभिन्न फिल्म महोत्सवमा सहभागी हुनुका साथै नेपालबाट ओस्कार अवार्डका लागि छनोट भयो। दुई महिलाको प्रेम कथा रहेको फिल्मले नेपालमा पनि राम्रै चर्चा कमायो। दिया मास्के, निशा अधिकारी र सौगात मल्लको अभिनय रहेको सुनगाभा विशेषतः फरक धारको फिल्मको रुपमा चर्चित भयो।

त्यसपछि उनले फ्रान्स सरकारको आर्थिक सहयोगमा सुवर्णले फ्रान्समा 'छोरा' नामक फिल्म बनाए। अनि नेपाल आएर व्यवसायिक फिल्ममा पनि हात हाले 'फन्को' फिल्म मार्फत। जसबाट उनले सोचेजस्तो व्यवसायिक लाभ नभएपनि सन्तुष्टी पाएको बताउँछन्। सुवर्णले अर्को फिल्म निर्देशन गरे 'बाटोमुनिको फूल २।' २०१६ मा उनका यी २ फिल्मा प्रदर्शनमा आए।

'सुनगाभा' देखि 'बाटोमुनिको फूल २' सम्ममा उनी 'सामाजिक विषयवस्तु बोकेको चलचित्र भएकोले त्यसमा काम गरेको' बताउँछन्। उनी फ्रान्स बसाईका क्रममा 'मलामी' फिल्म पनि बनाए २००७ मा। साहित्यकार सरुभक्तको कथामा आधारित मलामी फ्रान्सको राष्ट्रिय टेलिभिजनबाट प्रसारित भयो। यो फिल्मले बिभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनायो। 

फ्रान्समै कलाकारिता गरेको भए सुवर्णले शून्यबाट सुरु गर्नुपर्थ्यो। 'त्यहाँ मैले शून्यबाट सुरु गर्नुपर्ने थियो' नेपालमा रंगमञ्च भएर फिल्म अभिनय र निर्देशनमा लागिसकेका उनले शून्यबाट सुरु गर्न चाहेनन्। उनी भन्छन्,'फ्रान्स मेरा लागि ठूलो हो कि लाग्यो।'

सुवर्ण फिल्ममा काम गर्न नेपाल फर्किए। उनलाई काम गर्नका लागि नेपाल फर्किन सजिलो थियो। उनी भन्छन्, 'मैले नेपाली कलामा जरा गाडिससकेको थिए। मलाई फर्केर आउन सजिलो भयो।'

फ्रान्सबाट फैलिएको कला र परिवार

सुवर्ण २० वर्ष पहिले १९९६ मा २५ वर्षको उमेरमा फ्रान्स छिरेका थिए। काठमाडौं वानेश्वरका सुवर्णलाई कला क्षेत्रले फ्रान्स पुर्‍याएको थियो। त्यतिबेला काठमाडौंका थिएटरमा काम गरिरहेका उनी थप अध्ययनका लागि कलाको 'हब' मानिने फ्रान्स पुगे।  

नेपालमा अभिनय अंकुरण भएको सुवर्णमा फ्रान्समा त्यसले हुर्कने वातावरण पायो। ''मैले ग्राजुएसन गरे र नेशनल कलेजहरुमा कम्पिटिसन पनि गरे' उनले भने, 'लोकल र नेशनल थिएटरमा पनि काम गरे।'

फ्रान्समा सुवर्णको अभिनयमा मात्र वृद्धि भएन, उनको घरजम पनि भयो। उनले फ्रान्सेली नागरिकसँग विवाह गरे। उनीहरुका १४ वर्षकी छोरी र १२ वर्षका छोरा छन्। उनीहरुका छोराछोरी त्यहाँको समाज, भाषा, भेषसँग घुलमिल भइसकेका छन्। छोराछोरीलाई नेपाल ल्याउनेबारे भने केही असजिलो भएको उनले बताए।

'छोराछोरीको एक किसिमको साथी सर्कल भइसक्यो। उनीहरु फ्रेन्चमा नै बोल्ने र पढ्ने गर्छन्। अंग्रेजी पनि बोल्दैनन्।'  त्यसैले सुवर्ण वर्षमा फ्रान्स नेपाल ओहोर दोहोर गरिरहन्छन्।

काठमाडौंको कमाइमा फ्रान्समा परिवारलाई पैसा

विदेशमा रोजगारी गर्न गएका धेरै नेपालीले त्यहाँ कमाएको रकम स्वदेशमा रहेका परिवारलाई पठाउने गर्छन्। सुवर्णले भने नेपालमा कमाई गरेको रकमले फ्रान्समा परिवार पालिरहेका छन्। 'यसो भन्दा धेरैलाई अचम्म लाग्ने गरेको छ' आफूलाई लिएर आश्चर्य मान्ने वास्तविकताबारे बताए।

'नेपालीहरु विदेशमा आर्थिक आयआर्जन गरेर नेपालमा परिवार पाल्छन्। तर मेरो केशमा फरक भइरहेको छ' उनले भने, 'मेरो परिवार फ्रान्समै छ। म यहाँ आउँछु। यहाँ कमाइ गर्छु र फ्रान्समा बसेको परिवार पाल्छु।'

नेपालमा कमाइ गरेर फ्रान्स पैसा पठाउन सुवर्ण विनिमयदर हेर्ने गर्छन्। विगत ३ वर्षदेखि सुवर्णको पत्रिकामा छापिने नेपाली रुपैयाँको युरो दर निरन्तर हेर्छन्।

अबका प्रोजेक्ट

सुवर्णले अभिनय गरेको फिल्म 'गुडबाई काठमाडौं' सन् २०१७ मा प्रदर्शनमा आउँदैछ। २०१० मा छायांकन भएको 'गुडबाई काठमाडौं'मा अभिनय गरेपनि सुवर्ण भने काठमाडौंमै लामो समय बस्ने गरी आएका छन्।

उनी नेपाली नेपालकै कथावस्तु र यहाँकै चरित्रहरुलाई चित्रण गर्ने फिल्ममा काम गरिरहेको बताउँछन्। त्यसमा फ्रान्समा सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने उनको योजना छ। उनी फ्रान्स सरकारको सहयोगमा पनि फिल्म बनाइरहेका छन्। यसअघि ३ वटा फिल्म 'मलामी', 'छोरा' र 'सुनगाभा' फ्रान्स सरकारको आर्थिक सहयोगमा बनाएका सुवर्ण व्यवसायिक फिल्ममा पनि काम गर्ने योजना सहित काठमाडौंमा छन्।

अहिले गरिरहेको फिल्मबारे सुवर्णले भने, 'महिलाको जीवनमाथि 'द सेक्रेट अफ राधा' फिल्म बनाइरहेको छु।' यसमा उनी २० वर्षमा फ्रान्समा सिकेको अभिनय, निर्देशकीय कला र टेक्निकल सीपको सदुपयोग गर्ने बताउँछन्।

सुवर्णको अर्को योजना छ रंगमञ्चमा अभिनय गर्ने। अभिनय यात्राको सुरुवातमा अनुप बराल लगायत रंगकर्मीसँग बिभिन्न नाटकमा अभिनय गरेका उनी अनुपलाई गुरु र सहकर्मी दुबै मान्छन्, र फेरि रंगमञ्चमा आउने योजनामा छन्।  

पहिला पहिला नेपालमा फिल्म बनाएर फ्रान्स लैजाने सुवर्ण यसपाली बढी नै समय नेपाल बस्ने तयारीका साथ आएका छन्। उनी भन्छन्, 'नेपाली कलाकारसँग नै काम गर्नुछ भने उता बसेर त काम हुँदैन नि! माछा मार्न त खोलामै जानुपर्‍यो नि हैन!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.