चिकित्सक अभाव मुख्‍य समस्या

|

सोलुखुम्बु : जिल्लाको माप्यदूधकोशी गाउँपालिका-७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कंदै गरेको अवस्थामा भेटिइन्। गाउँको स्वास्थ्य चौकीमा उपचार सम्‍भव नभएपछि डेढ दिनको यत्रापछि जिल्ला अस्पताल फाप्लु पुगे पनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनुपरेको उनले गुनासो गरिन्।

पछिल्लो समय हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र जिल्ला अस्पताल फाप्लुमा चिकित्सक नहुँदा समस्या भएको छ। स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो। यसमा नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को ३ समेत आकर्षित हुन्छ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ। सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार अधिकार किटान गरेको छ। तर, यहाँ जिल्ला अस्पतालमा आउँदासमेत सहज सेवा नपाएको स्थानीय नागरिकको गुनासो छ। 

गाउँगाउँको स्वास्थ्य चौकीबाट रिफर हुने अधिकांश बिरामीको आशा र भरोसाको केन्द्र जिल्ला अस्पतालमै चिकित्सक नहुँदा यहाँका नागरिक बाह्य जिल्ला जान बाध्य छन्। उपचारको लागि अस्पताल पुगे पनि सामान्य उपचारसमेत नहुने भएपछि ओखलढुंगाको मिसन अस्पताल या काठमाडौं जानुपर्ने बाध्यता रहेको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाकी जन्ता राईले बताइन्।

विगतको दिनमा गर्भवती महिलाको अप्रेसनसमेत जिल्ला अस्पतालमै हुन्थ्यो भने अहिले मिसन अस्पतालको विकल्प छैन। जुन अस्पताल सबैभन्दा नजिक हो तर सदरमुकामबाटै जिपमार्फत ३ घण्टा हिँड्नुपर्छ ता कि जिल्ला सदरमुकाम आईपुग्नै गाउँबाट एक दिन पुरै जिपको यात्रा गर्नुपर्छ। 

कुनै समय ११ औँ तहको विशेषज्ञ डक्टरसहित ३५ जना स्वास्थ्यकर्मीले काम गरेको सोही अस्पतालमा अहिले ९औँ तहको चिकित्सकसहित १८ जनाको दर्वन्दि कायम गरिएको छ। देश संघीय संरचनामा गएसंगै जिल्ला अस्पतालको जिम्मेवा समेत प्रदेश सरकार मातहतमा गयो। त्यसैको फलस्वरुप यहाँको दर्वन्दि समेत कटौती भएको छ।

पाँचजनाका ठाउँमा एकजना मात्र कार्यरत

कुनै समय करारकासहित पाँचजना डाक्टरले सेवा दिएको जिल्ला अस्पताल फाप्लुमा अहिले एकजना मात्रै मेडिकल अधिकृत डाक्टर रमिन महर्जन कार्यरत छन्। उनको समेत समायोजनमा ललितपुर दरबन्दी कायम भइसकेको छ।

अहिले जिल्ला अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी सह्मालेका डक्टर महर्जनले समेत बरबुजारत लिने कर्मचारी नभएकै कारण बाध्यता बस्नुपरेको बताउँछन्।

कसैको रोजामा परेन फाप्लु

समायोजनको क्रममा जिल्ला अस्पताल फाप्लुका लागि कसैले पनि रोजेका छैनन्। जसले गर्दा पनि यहाँ समस्या थपिएको डाक्टर मर्जनको भनाइ छ। दक्ष जनशक्ति थप गर्नुपर्नेमा ११ औँ तहबाट नवौँ तहमा झारेर कसरी सेवा पुग्यो? यहाँका स्थानीयको प्रश्न यहि छ। वाकुँका रत्नबहादुर राईले गाउँगाउँमा सिंहदरबार भने पनि सेवा सुविधा कटौती भएको गुनासो गरे।

सेवा होइन सास्ती
१८ जनाको दरबन्दीमा पनि अहिले १० जना मात्र कार्यरत हुँदा यहाँका नागरिकले सेवा होइन सास्ती खेप्नु र अन्यत्र जानुको बिकल्प छैन। एक जना मेडिकल असिस्टेन्ट, २ जना स्टाफ नर्स, दुईजना ल्याब असिस्टेण्ट, एक जना अहेव, एकजना डार्क असिस्टेण्ट र ३ जना कार्यालय सहयोगी कार्यरत छन्। भने मेडिकल अफिसर, १ जना स्टाफ नर्स, २ जना अहेव, २ जना एएनएम (अनमी) र प्रशासन तर्फको कर्मचारी रिक्त रहेको छ।

गाउँगाउँमा सिंहदरबारको नारासहित कर्मचारी समायोजन गरियो तर ती कर्मचारी कता छन् अत्तोपत्तो छैन। सरकार समायोजन गर्ने अनी कर्मचारी सुगम र पायक पर्ने ठाउँमा रोजेर जाने हुँदा विकट गाउँका नागरिक भने स्वास्थ्य सेवानै नपाउने अवस्थामा पुगीसकेको छ। यस विषयमा प्रदेश मन्त्रालयमा बारम्बार प्रस्ताव राखेको भएपनि सुनुवाइ नभएको अस्पतालका निमित्त प्रमुख डक्टर रमिन महर्जनको भनाइ छ।

सांसदकै कुरा सुनुवा हुँदैन

प्रदेश-१ का स्वास्थ्य मन्त्रालयका सचिव वीरबहादुर राईलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन। यता, सोलुखुम्बु जिल्ला प्रदेशसभा (ख) का सांसद एवम् नेकपा प्रदेश-१ का ससंदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जिल्लाको स्वास्थ्य अवस्थाबारे संघीय सरकारलाईसमेत बारम्बार जानकारी गराएको भए पनि बेवास्ता गरेको बताए।

स्वास्थ्य मन्त्रालयको लापरबाहीको सिकार जिल्ला अस्पताल फाप्लु बन्न पुगेको उनको भनाइ छ। आफूले बारम्बार आवाज उठाउँदासमेत सुनुवाइ नभएको गुनासो गर्दै सांसद राजभण्डारीले सर्वसाधारणको समस्यालाई सरकारले नबुझेको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.