|

धुलिखेल ; मुख्य सडकबाट करिब १ घण्टा उकालो चढेपछि पुगिने काभ्रेपलाञ्चोक जिल्लाको ज्याम्दी गाविस–८, स्थित श्री गणेश प्राथमिक विद्यालय धैरेनीका विद्यार्थीहरु पुसको मध्य जाडोमा पनि न्यानो लुगा लगाउन पाएको थिएनन्। भूकम्पको कारण विद्यालय भत्किएपछि टहरामा पढ्न बाध्य विद्यार्थीहरु न्यानो लुगाको अभावमा सकस भोग्‍न विवश छन्।

यसरी सकसपूर्ण अवस्थामा टहराको भवनमा पढ्न बाध्य उनीहरुलाई सहारा नेपालको पहलमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कानुनी परामर्श मञ्च काभ्रेको सहयोगमा पोशाक वितरण गरियो। विद्यालयका कक्षा १ देखि ५ सम्मका ६० जना विद्यार्थीलाई  पोशाक वितरण गरिएको हो।

सहारा नेपालकी अध्यक्ष कल्पना श्रेष्ठ र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाका सचिव ईश्वर कुमार श्रेष्ठले संयुक्त रुपमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए। मुख्य सडकबाट नजिक भएर पनि आर्थिक रुपले विपन्न तामाङ समुदायका बालबालिकाहरुलाई पोशाक वितरण गर्न पाउँदा खुशी लागेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाका सचिव ईश्वर कुमार श्रेष्ठले बताए।

‘त्यहाँका बालबालिका जाडोमा टहराको भवनमा पढ्न बाध्य छन् भन्‍ने सुनेपछि केही गरौं भन्ने भावना आयो र सहारा नेपालसँग समन्वय गरेर पोशाक वितरण गरेका हौं,’ श्रेष्ठले भने। 

आफ्नो विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेकोमा खुशी व्यक्त गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक काजीमान तामाङले सहयोगी संस्थालाई धन्यवाद दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.