नेपालगन्ज : बागेश्वरी मन्दिरमा आश्रय लिएर बसेका असहाय र जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) प्रदान गरिएको छ। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि २ जोन ६४ मा आवद्ध ४ वटा क्लबले बिहीबार बागेश्वरी मन्दिरमा रहेका असहाय र जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेका हुन्।
लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मोत्सवको अवसरमा लायन्स क्लव इन्टरनेशलन जोन ६४ ले बागेश्वरी मन्दीरमा आश्रय लिएर बसेका असहाय र जेष्ठ नागरिकलाई कम्वल र दिवा भोजन गराएको हो।
बागेश्वरी मन्दिरमा रहेका ८० जना असहाय र जेष्ठ नागरिकलाई कम्बल प्रदान गरिनुका साथै खाना खुवाइएको लायन्स क्लब अफ इन्टरनेशनल जोन ६४ का जोन चियर पर्सन लायन्स विवेक श्रेष्ठले जानकारी दिए।
नेपालगन्जमा बढेको चिसोका कारण मन्दिर परिसरमा बस्दै आएका असहाय र जेष्ठ नागरिकलाई जिउन समस्या भएकोले राहतका लागि उनीहरुलाई कम्बल प्रदान गरिएको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ का सेन्टिनियल सेलिब्रेसन कोर्डिनेटर सेम शाक्यले बताए।
असहाय र जेष्ठ नागरिकलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ का पूर्व गर्भनर मधुसुदन शर्मा रिजाल, ज्ञानेन्द्र श्रेष्ठ लगायतले कम्बल वितरण गरी भोजन गराएका थिए।
लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मोत्सव साताव्यापी रुपमा मनाइरहेको लायन्स क्लबले भोली अन्तिम दिन नेपालगन्जमा सांस्कृतिक कार्यक्रम, बेलुन उडाउने, साइकल र्याली लगायतका कार्यक्रम गर्ने भएको छ।
सांस्कृतिक कार्यक्रममा ज्योति काफ्ले, नेपाली तारा सन्तोष लामा, नृत्याङ्गना उरुषा पाण्डेले आ–आफ्नो प्रस्तुती देखाउने साँस्कृतिक कार्यक्रमका संयोजक भरत महतोले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।