|

दिपक शर्मा-
सल्यान :
सल्यानको पर्यटकीय स्थल कुपिण्डे दह अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। मौसम अनुसार रंग बदल्ने यस दहको अवलोकन साथै दहसँगै मन्दिरमा दर्शनका लागि पर्यटकहरु यहाँ आउने गरेका छन्।

विगत तीन वर्षयता आन्तरिक एवम् बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको कुपिण्डे दह संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कँवर बताउँछन्। कुवँरका अनुसार यो वर्षमात्र २५ हजारभन्दा बढी पर्यटक कुपिण्डे दह आइपुगेका छन्। सल्यान–खलङ्गा–वालुवासंग्रही सडकको ट्रयाक खोल्ने कार्य पूरा भएपछि पर्यटकको संख्यामा वृद्धि भएको उनको बुझाइ छ।

अग्ला पहाड र हरियाली जंगलले घेरिएको कुपिण्डे दहको दृष्य मनै लोभ्याउने खालको छ। आकाश झैँ निलो देखिने गरी २३ दशमलव ५३ हेक्टर जमिनमा फैलिएको यो दहको लम्बाई ८ सय ३४ र चौँडाई ५ सय ३८ मिटर रहेको संरक्षण समितिका पूर्वअध्यक्ष दिपक यरीले जानकारी दिए।

भर्खरै विवाह गरेका नवदम्पती तथा सन्तान नभएकाहरु सन्तान प्राप्त हुने मनोकांक्षाले यहाँ आउने गरेको कुपिण्डे–३ निवासी १ सय १० वर्षिय वृद्ध भद्र कँवर बताउँछन्।

मंसिर शुक्ल पूर्णिमा र माघे संक्रान्तिको दिनमा यहा विशेष मेला लाग्ने गरेको छ। वैशाख र जेठको पूर्णिमामा पनि मेला लाग्ने गरेको स्थानीय बताउँछन्। पछिल्लो केही वर्षयता भक्तजनहरुको संख्या निकै बढेको मन्दिरका पूजारी लालबहादुर कँवर बताउँछन्। ‘यो वर्षमात्र ५ देखि ७ हजार भक्तजन मन्दिरको दर्शन गर्न आए होलान्,’ उनले भने।

आजभोलि कुपिण्डे दह पिक्निक स्पटका रुपमा पनि विकास हुन थालेको छ। सल्यान र आसपासका जिल्लाबाट विभिन्न संस्थाका प्रतिनिधि तथा विद्यालयका शिक्षक विद्यार्थीहरु पिकनिका लागि पनि यहाँ आउने गरेका छन्। 

‘म दुई पटक कुपिण्डे दह पुगेँ, जवप्लेसमेन्ट कलेज सल्यान श्रीनगरका प्रबन्धक ठाकुर पाण्डेले भने– ‘त्यहाँबाट चाखुरे, सिस्ने लगायतका हिमश्रृङ्खलाको अवलोकनसमेत गर्न सकिन्छ।’

संरक्षण समितिले अहिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ। डुंगा चलाक सूर्य बुढाथोकी भन्छन्– ‘आजभोलि डुंगा चढ्नैका लागि पनि पर्यटकहरु बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट समेत आउने गरेका छन्।’ आवश्यक पूर्वाधार विकासमा ध्यान दिने हो भने पर्यटकको संख्या अझै बढ्ने उनको दावी छ।

मौसम अनुसारको रंग    

यो दहले वर्षमा तीन रंग बदल्छ। मौसम अनुसार यो कहिले रातो, कहिले निलो तथा कहिले सेतो देखिन्छ। दहमा पानी बाहिरबाट आउने होइन, भित्रैबाट निस्किन्छ । वरिपरी हरियाली जंगल छ।

जंगलमा घोरल, रतुवा, भुँइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ। ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र कुनै पनि वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको कुपिण्डे दह संरक्षण तथा विकास केन्द्रका अध्यक्ष झरेन्द्र कँवर बताउँछन्।

पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे दहको विकासका लागि पर्यटन बोर्डलाई अनुरोध गरेको कुपिण्डे दह गाविसका सचिव केशव बुुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.