|

रौतहट : हिमाल, पहाड तराईवासीबीच सदभाव कायम राख्ने हिन्दूहरूको पवित्र छठ पर्वको सम्पूर्ण तयारी पूरा भएको छ। रौतहटको सदरमुकाम गौर, मध्य भाग गरुडा, उत्तरी भाग चन्द्रनिगाहपुर लगायतका गाउँगाउँमा रहेका ताल तलैया अहिले झकिझकाउ भएका छन्। निष्ठाको पर्वको रुपमा रहेको छठ पर्वमा मधेशी, पहाडी र हिमाली भेगका भक्तजनहरूले श्रदापूर्वक मनाउँदै आएका छन्।

पूजाको सम्पूर्ण तयारी पूरा

रौतहटको चन्द्रनिगाहपुरमा पनि अधिकांश पहाडी समुदायका बासिन्दाहरु हर्षोलासपूर्वक यो पर्व मनाउँदै आएको चन्द्रनिगाहपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए। छठ पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष साहले जानकारी दिए। अहिले चन्द्रनिगाहपुरको चादी नदी र मोथियाहीको पोखरी झकिझकाउ अबस्थामा सिँगारिएका छन्। चोखोनितोको पर्वको रूपमा रहेको छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी व्रत बस्न थाल्छन्।

पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गर्ने प्रचलन रहेको स्थानीय मनोजकुमार साहले जानकारी दिए।

आज तेस्रो दिन

तेस्रो दिन अर्थात आज (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने साहले बताए।

पाँचपटक साष्टाङ्ग दण्डवत

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्।यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरिन्छ।

उदाउँदो सूर्यलाई अर्घ्य

पर्वको चौथो अर्थात भोलि (अन्तिम) दिन पार्वण गरिन्छ। यस दिन बिहान साँझमा व्रत गर्नेहरू पुनः सोही ताल तलैयामा पुगी अघिल्लो दिन गरेको क्रम दोर्होयाई बिहानको सूर्यलाई अर्घ  दिने चलन रहेको छ। त्यसपछि आ आफनो घर आएर प्रसाद बितरण गर्ने चलन रहदै आएको उनले बताए।

छठी माताको पुजा गर्दा  अथवा आरधाना गर्दा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार हुने पनि विश्वास गरिदै आएको छ। साथै छठि माइको आराधानाबाट चर्मरोगसम्बन्धी तथा कुष्ठरोगबाट मुक्ति पाउनेसमेत विश्वास छ।

यसैबिच महान पर्व छठ पूजा को अवसर मा राजदेवी नगरपालिका वडा नंबर ८ बेलबिछवाको छठघाटलाई सरसफाइ गरिएको छ।

राजदेवी नगरपालिका स्थीत प्रहरी चौकी बेलबिछवा को आयोजनामा सामुदायिक, प्रहरी, साझेदारीअन्‍तर्गत राखिएको छठ घाट सरसफाइ कार्यक्रममा प्रहरी चौकी बेलबिछवा, सशस्त्र प्रहरी बल नेपाल बी ओ पी बेलबिछवा, राजदेवी नगरपालिका र स्थानीयद्वारा संयुक्त रूपमा उक्त ठाउँको सरसफाइ भएको हो।

उक्त सरसफाइ कार्यक्रममा  राजदेवी नगरपालिका को नगरप्रमुख धीरेन्द्रकुमार सिंह, राजदेवी नगरपालिका का स्वास्थ्य तथा सरसफाई संयोजक एवं सूचना अधिकारी सचिदानन्‍दकुमार सिंह समेतको सहभागितामा उक्त सरसफाइ भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.