|

कञ्चनपुर : कञ्चनपुरका किसानलाई धान भित्र्याउने चटारो छ। तिहारअघि नै काटेर आँगन र खेतमा थन्क्याइएका धान थ्रेसिङ्ग गर्न र सफा गरी घरमा भित्र्याउनमा किसान व्यस्त छन्।

धेरै किसानले धान काटेर थ्रेसिङ्ग गरी धान सफा गरी माटोका भकारी तथा बोरीहरुमा राख्नमा व्यस्त रहेका छन् भने केही किसान खेतमा काटिएको धान थ्रेसिङ्ग गर्नमा जुटेका छन्। खेतमा धानको बाला राम्रै लागे पनि थ्रेसिङ्ग गर्दा धानका दाना कम भूस बढी आउन थालेको किसान भिमसेन राना बताउँछन्।

धानलाई पानी चाहिएको बेला वर्षा भएन। धान भित्र्याउने बेला भएको वर्षाले भएको उत्पादन पनि घटाएको किसानहरुको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा निकै कमी आउने उनीहरु बताउँछन्।

जिल्लाको दक्षिणि क्षेत्रमा धानको उत्पादन गत वर्षझै औसतमा रहने अनुमान गरिए पनि उत्तरी क्षेत्रका किसानको धान उत्पादनमा भने निकै ह्रास आएको छ। चुरे फेदीका बस्तीका किसान भने धानको उत्पादनमा ह्रास आउँदा चिन्तित भएका छन्। पर्याप्त वर्षा नहुँदा जिल्लाको उत्तरी क्षेत्रमा धानको उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए। 

गत वर्ष धानको उत्पादन प्रतिहेक्टर ३ दशमलब १ मेट्रिक टन रहेकोमा यस वर्ष घटेर ३ मेट्रिक टन पुगेको भट्टले बताए। धानको उत्पादन यकिन गर्नका लागि विवरण संकलनको कार्य भैरहेको उनले बताए। कञ्चनपुरमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। 

सरकारले धानको सर्मथन मूल्य तोके पनि किसानले समर्थन मूल्य भने अहिलेसम्म पाएका छैनन्। किसानबाट व्यापारीहरुले एक हजार ७०० रुपैयाँ प्रतिक्विन्टलका दरले धान खरिद गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल एक हजार ९०० रुपैयाँमा बिक्री भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.