|

मुगु :  छायानाथ रारा नगरपालिका वडा नम्बर १ का ८६ वर्षका दानबहादुर मल्ललाई दशै अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो।  आएको रकमले दशैमा न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने लागेको थियो तर नगरपालिकाले सामाजिक भत्ता तिहार वितिसक्दा पनि नदिए पछि यसपालिको दशै तिहार निकै खल्लो लाग्यो।

८६ वर्षीय मल्ल मात्रै होईनन् छायानाथ रारा नगरपालिका –१ का पाँच वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका बृद्ध बृद्धा, एकल तथा विधवा र असक्त अपागं गरी ३ सय ३७ जनाले समयमा नै सामाजिक सुरक्षा रकम पाउन सकेका  छैनन्।  वडा नम्बर १ मा ६० वर्ष माथिका २२ जना, ७० वर्ष माथिका ६४ जना, विधवा २४ जना अति अशक्त ७ जना, पुर्ण अशक्त १ जना र पाँच वर्ष मुनिका २ सय १९ जना बालबालिका सामाजिक सुरक्षाबाट बञ्चित भएका हुन्।

वडा पालिकामा स्थायी कर्मचारी नरहेको र नगरपालिकामा रहेका स्थायी कर्मचारीले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने प्रावधान रहेकाले समयमा नै रकम वितरण गर्न नसकिएको वडा नम्बर १ का अध्यक्ष लोकबहादुर हितानले बताए।

नगरपालिका भित्र रहेका १४ वटा वडामा जम्मा तिन जना सचिव रहेका र नगरमा कर्मचारी अभाव हुँदा रकम वितरण गर्न नसकिएको नगरपालिकाले  जनाएको छ। १४ वडाका लागि दुई तिन जना सचिवले छोटो अबधीमा १४ वडाका ८७ गाउँ बस्तिमा सामाजिक सुरक्षा रकम वितरण गर्नुपर्ने भएकाले अबको एक हप्ता भित्र रकम वितरण भई सक्ने नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत पशुपति शाहीले बताए। 

नगरका अन्य १३ वटा वडाका सामाजिक सुरक्षा पाउने नागरिकले रकम पाई सकेका छन। स्रोतका अनुसार नगरपालिका भित्रका कर्मचारीले रकम बुझ्न नमाने पछि वडा नम्बर १ का लागि वितरण गर्नुपर्ने रकम १९ लाख २० हजार ४ सय रुपैया कोष तथा लेखा नियन्त्रण कार्यालयमा रोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.