नेपाली क्लबले एएफसीका प्रतियोगिता खेल्न नपाउने

|

काठमाडाै‌ं : एक साताअघि एसियाली फुटबल महासंघ एएफसीबाट आर्थिक कारवाहीमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) हच्किएको छ।

एएफसी कप २०१९ मा भाग लिन क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएको भन्दै एएफसीले यही कात्तिक ७ गते एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना सुनाएको थियो ।

यति ठूलो आर्थिक कारवाहीमा परेपछि हच्किएको एन्फाले यस सिजन एएफसी लाइसेन्सका लागि १४ ’ए’ डिभिजन क्लबले दिएको निवेदन अस्वीकृत गरेको छ।

क्लब लाइसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरू नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाइसेन्सका लागि सिफारिस नगर्ने निर्णय गरेको हो।

ए डिभिजन क्लबहरू मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाईज क्लब, एएफपी क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम एनआरटी र च्यासल युथ क्लबलले यस सिजन एएफसी लाइसेन्सका लागि निवेदन दिएका थिए।

अघिल्लो पटक एन्फाले सिफारिस गरेका ९ क्लबले लाइसेन्स पाएका थिए। मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबले एएफसी क्लब लाइसेन्स पाएका थिए । एएफसीको क्लब लाइसेन्स नपाएपछि अब कुनै पनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउने छैनन्।

एन्फाले आगामी वर्ष राष्ट्रिय लिगपछि एएफसी क्लब लाइसेन्सिङका न्यूनतम् शर्तहरू कार्यान्वयन प्रणाली लागु गर्ने तयारी गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.