|

  • धर्मेन्द्र दाहाल

मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४\०७५ को लागि ६४ करोड १९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार हेटौंडामा भएको २२ औं नगर परिषदमा हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १२ करोड ७२ लाख ७० हजार आन्तरिक आय तथा ४१ करोड ९ लाख ४३ हजार बाह्य आय सहित ६४ करोड १९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। 

विनियोजित बजेट अन्तर्गत गत चालु खर्च १० करोड ३२ लाख ६९ हजार र पुँजीगत एवम् कार्यक्रम खर्च ५३ करोड ८७ लाख रहेको छ।  नगरपालिकाले सुरक्षित शहरी विकास, पूर्वाधार तथा भौतिक निर्माणको कामलाई उच्च प्राथमिकतामा पारेको छ।  

नीति तथा कार्यक्रममा नमुना सडक कार्यक्रम, चक्रपथ निर्माण, आर्थिक प्रशासनिक क्षेत्रतर्फ करको दायरा फराकिलो,लेखा प्रणालिमा परिवर्तन लगायतका विषयले प्राथमिकता पाएका छन्।

हेटौंडालाई मानवताको शहरको रुपमा चित्रण गर्नको लागि विनियोजित बजेटमा मानवियता कोष स्थापना गर्ने कार्यक्रम पनि समावेश छ। नेपालकै सफा तथा हरित नगरीको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकालाई थप स्वस्थ तथा हरियाली बनाउनको लागि उपमहानगरले वातावरण तथा सरसफाई योजना निर्माण गर्दै ‘हाम्रो हेटौंडा, सफा हेटौंडा’ कार्यक्रमको घोषणा गरेको छ।  

विनियोजित बजेटले शिक्षा, खेलकुद, साहित्य, कला, संस्कृति, सुशासनको क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ। परिषदमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले हेटौंडालाई देशकै उत्कृष्ट गन्तव्य बनाउन लागिपरेको बताए। 
हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अनन्त पौडेल, मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी, प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुबेडीसहित मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहको उपस्थिती थियो।  

कार्यक्रममा सञ्चारकर्मीहरु धर्मेन्द्र दाहाल, सुनिल खड्का, कृष्ण सारुमगर, सुरेश श्रेष्ठ तथा पुष्पराज अधिकारीलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो। परिषदकै अवसरमा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, टोल विकास संस्था, हेटौंडा उपमहानगरपालिकाका उत्कृष्ट कर्मचारी,वासुदेव स्मृति शैक्षिक सम्मान समेत वितरण गरियो। 

नगर परिषदमा २५ मिटरको बहस 

हेटौंडा उपमहानगरपालिकको २२ औँ नगरपरिषदमा हाल हेडौंडामा निकै चर्चामा रहेको २५ मिटर सडकक्षेत्रको विषयमा बहस भएको छ। कार्यक्रममा अधिकांश वक्ताहरुले २५ मिटरको विषयलाई उच्च प्राथमिकताका साथ उठाए। कार्यक्रममा संस्कृती,पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले हेटौंडा फराकिलो पर्नुपर्ने भएपनि ध्वस्त बनाउन नहुने बताए।

‘अहिलेको हेटौँडाको सहरलाई केही फराकिलो पार्न सकिन्छ, तर फराकिलो पार्ने नाउँमा हेटौँडा बजार ध्वस्त पार्न सकिन्‍न’ राज्यमन्त्री बाँनियाले भने। मकवानपुर क्षेत्र नम्बर ३ का सांसद् अनन्त पौडेलले सडक फराकिलो पार्ने बाहानामा जनतालाई सुकुम्वासी बनाउन नहुने बताए।

हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर डोरमणी पौडेलले विश्वको कुनैपनि देशको बीच सहरमा हाईवे हुन नसक्ने बताए। उनले  २५ मिटरको अवधारणा गलत भएको बताए। नगरपालिकाका हजाराै ब्यक्ति सुकुम्वासी बन्नेगरि आएको सूचना आफुहरुलाई मान्य नहुने भन्दै उनले राज्यले विकासको नाममा विनास मात्र गर्ने गरेको आरोप लगाए। 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले राज्यले हेटौंडाको अवस्थालाई ध्यान दिएर वाईपास सडकको अवधारणा निर्माण गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.